काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको प्रदर्शनपछि गणतन्त्रवादी नेताहरूलाई तनाव भएको छ। गणतन्त्र फालेर राजतन्त्र ल्याउन भएको प्रदर्शन सत्तारुढ र प्रतिपक्षी दलहरूका लागि पूर्वराजालाई गाली गर्ने मसला पनि बनेको छ।
सार्वभौम संसद् नै तरङ्गित बनेको छ। गणतन्त्रका नाममा देश र जनतालाई धोका दिने नेताहरुविरुद्ध राजावादी दल राप्रपा प्रतिवादमा उत्रिएको छ। राजतन्त्र र गणतन्त्रको दोहोरी चलेको छ। फागुन २५ गतेको प्रदर्शनलाई काउन्टर दिन समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौँमा गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने निर्णय नै गरेको छ।
नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकले चैत १५ गते गणतन्त्रको पक्षमा एवं प्रतिगामी हर्कतहरुविरुद्ध संयुक्त विरोधसभा गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए।
पूर्वराजाको समर्थनमा जनमत बढेपछि गणतन्त्रवादीहरू एकअर्काको कमजोरी खोतल्न थालेका छन्। गणतन्त्र जोगाउने कि फाल्न सहयोग गर्ने दलहरूलाई सोच्न बाध्य बनाएको छ। १० वर्ष सशस्त्र सङ्घर्ष गरेर तीन पटक देशको प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजतन्त्रको सलबलाहट वर्तमान सरकारविरुद्ध आरोप लगाउने गतिलो हतियार बनेको छ।
सरकारका बेथिति र असफलताले जनतामा गणतन्त्रप्रतिको मोह भङ्ग गराउने अवस्था आएको प्रचण्डको तर्क छ। प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै प्रचण्डले सरकारको विश्वसनीयता सकिएको देखेर राजावादीहरू सडकमै ओर्लिएको बताए। वर्तमान सरकारविरुद्धको आक्रोश व्यवस्था परिवर्तनमा देखिएको प्रचण्डले उल्लेख गरे।
सडकबाट नारायणहिटी पसेर श्रीपेच लगाउने पूर्वराजाको तयारीलाई प्रचण्डले लोकतन्त्र भित्रै आफ्नो ठाउँ खोज्न आग्रह पनि गरे।
प्रतिनिधि सभाको बैठकमा प्रतिपक्ष दलहरू सरकारविरुद्ध आक्रामक ढङ्गले प्रस्तुत भएका छन्। सात बुँदे सहमति मार्फत एमाले र काँग्रेस मिलेर बनेको सरकार पूर्ण रूपमा असफल भएको बताउँदै प्रतिपक्ष दलहरूले सरकारको आलोचना गरेका हुन्।
प्रतिपक्षी दलहरू सरकारविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुँदा राजावादी राप्रपाका सांसदहरू भने हौसिएका छन्। सार्वभौम संसदमा राजतन्त्रको बहसले राप्रपा उत्साहित भएको छ।
देशमा राजा ल्याउन आगामी चैत्रमा विशाल कार्यक्रम गर्ने घोषणा गरेको राप्रपाले गणतन्त्रवादी नेताहरूलाई लुक्ने ठाउँ खोजेर बस्न चेतावनी नै दिएको छ। राप्रपाकी सांसद रोशन कार्कीले २५ गतेको प्रदर्शन ट्रायल मात्रै हो भनेकी छन्।
राप्रपाका अर्का सांसद ध्रुवबहादुर प्रधानले भने सदन राजाको नामले तरङ्गित हुनु खुसीको कुरा भएको बताए। उनले राजसंस्थाको उपस्थिति नभएसम्म लम्पसारवादी व्यवहार जारी रहने टिप्पणी गरे।
राप्रपा सांसद प्रधानले संविधान विपरीत राजा भन्ने शब्द प्रयोग गरेर सम्बोधन गरेपछि नेकपा एमालेका सांसद सूर्य थापाले संसदभित्र ‘राजा’ सम्बोधन नगर्न सभामुखबाट रुलिङको माग गरे। उनले राजसंस्था पुनस्र्थापनको माग गर्नेहरूलाई पटमूर्खको संज्ञा समेत दिए।
सत्तारुढ र प्रतिपक्षी दलहरू जन आंकक्षा पुरा गर्ने भन्दा व्यवस्था जोगाउने प्रतिस्पर्धामा उत्रिएका छन्। सत्तारुढ दल एमालेका सांसद महेश बर्तौलाले संग्राहलयमा थन्किएको राजसंस्थालाई फेरि ब्युँताउने दिवा स्वप्न नदेख्ने चेतावनी दिए। नेपाली काँग्रेसका सांसद गगन थापाले कमजोरी स्वीकार गरे। उनले दलहरू सच्चिन तयार हुनु पर्ने बताए।
राजावादीहरू सलबलाएको निहुँ बनाएर दलहरूले अझै पनि देश लुटिरहेको आरोप पनि संसदमा लागेको छ। स्वतन्त्र सांसद अमरेश सिंहले राजावादीको नाम देखाएर देश लुट्न नपाइने बताए।
श्री ५ महाराजाधिराज सम्बोधन गर्नेलाई हटाइयो
सरकारी लेटर प्याडमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजाधिराज’ सम्बोधन गरेका पोर्चुगलका पर्यटन दूत रमेश राज बास्तोलालाई सरकारले हटाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पोर्चुगल पर्यटन दूत बास्तोलालाई हटाएको हो।
यसअघि मन्त्रालयले बास्तोलालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो। बास्तोलाले दिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै दूतबाट हटाएको मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.