काठमाडौँ : सरकारले विद्यालयको आधारभूत तहका विद्यार्थीलाई महिनावारी शिक्षा दिने तयारी गरेको छ। ४ देखि १२ कक्षासम्मका विद्यार्थीले महिनावारी शिक्षाबारे पढ्नु पर्ने पाठ्यक्रम लागू भने भइसकेको छैन।
कक्षा ८ सम्मको स्वास्थ्य तथा शारीरिक र कक्षा ९ देखि १२ सम्मको सामाजिक अध्ययन शिक्षामा लैङ्गिक पहिचान, महिनावारी सम्बन्धी भ्रम र अन्धविश्वास, सुरक्षित यौन व्यवहार, यौन तथा प्रजनन स्वास्थ्यमा किशोर किशोरीको भूमिकाबारे अध्ययन गराइनेछ।
पाठ्यक्रम विकास केन्द्रले अर्को शैक्षिक सत्रदेखि लागु गर्ने तयारी गरेको नयाँ पाठ्यक्रममा पुरुष, महिला र समयौनिक व्यक्तिबारे अध्यापन हुने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ।
कक्षा ७ को स्वास्थ्य तथा शारीरिक शिक्षामा ‘नेपालमा हाल महिला, पुरुष र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (तेस्रोलिंगी) गरी तीन वर्गको लैङ्गिक पहिचानलाई मान्यता दिइएको’लेखिएको छ।
आफ्नो शारीरिक रूपको आधारमा मात्र सीमित नभई मानसिक र भावनात्मक रूपमा आफूलाई कुन लैङ्गिक वर्गको पहिचान दिने भन्ने महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी कक्षा ४ देखि १२ सम्मको सन्दर्भ सामग्री समेटिएको पुस्तकमा उल्लेख गरिएको छ।
पुस्तकमा पाठ्यक्रम विकास केन्द्रद्वारा प्रकाशित पाठ्यक्रमलाई आधार मानेर महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी सन्दर्भ सामग्री समेटिएको दाबी गरिएको छ।
आधारभूतदेखि माध्यमिक तहसम्म यो विषय अध्ययन गराएपछि विद्यार्थीले लैङ्गिक पहिचान तथा यौनिक अभिमुखीकरणको परिचय दिन सक्ने दाबी पनि गरिएको छ।
लैङ्गिक पहिचान तथा यौनिक अभिमुखीकरणको परिचयमा महिला भएर महिला प्रति नै र पुरुष भएर पुरुषप्रति नै भावनात्मक रूपले आकर्षित हुने र पुरुष पुरुषसँगै महिला महिलासँगै प्रेम तथा यौन सम्बन्ध राख्नेलाई समलिङ्गी भनिने लेखिएको छ।
कुनै पनि व्यक्ति जो महिला तथा पुरुष दुवैप्रति भावनात्मक रूपले आकर्षित हुन्छ र दुबैसँग यौन सम्बन्ध राख्नेलाई दुईलिंगी वा दोहोरो यौनिकता भनेर बुझाइएको छ।
ट्रान्सजेण्डरहरु यस्ता व्यक्ति हुन जो जन्मँदा शारीरिक रूपमा महिला वा पुरुष भए तापनि आफ्नो शारीरिक लिङ्गभन्दा विपरीत व्यवहार गर्ने हुन्छन्। उनीहरूलाई ‘देहान्तर’ भनिने पुस्तकमा लेखिएको छ।
समलिंगी, तेस्रोलिंगी… यसरी बुझौं र बुझाऊँ
देहान्तर भनेर चिनिने व्यक्तिहरू शारीरिक रूपमा महिला भए पुरुष जस्तो व्यवहार गर्ने, पुरुषको जस्तो पहिरन लगाउने, पुरुषको जस्तो शृङ्गार गर्ने गर्छन् भने शारीरिक रूपमा पुरुष भए महिला जस्तो व्यवहार गर्ने र महिलाको पहिरन लगाउने, महिलाको जस्तो शृङ्गार गर्ने गर्छन् भनेर लेखिएको छ।
कक्षा कोठामा शिक्षक शिक्षिकाले ‘विद्यार्थीहरूलाई केटा र केटीको फोटो देखाउँदै, को केटा हो र को केटी हो र किन भन्ने प्रश्न सोध्नुहोस्’ लेखिएको छ।
लैङ्गिक पहिचानको परिभाषा दिई लैङ्गिक पहिचान भनेको आफ्नो शारीरिक आधारमा मात्र सीमित नभई मानसिक र भावनात्मक रूपमा आफूलाई कुन लैङ्गिक वर्गको पहिचान दिने भन्ने कुरा शिक्षक शिक्षिकाले बुझाउनु पर्नेछ।
यस्तै एलजीबीटीआइए सम्बन्धी भिडियो वा एलजीबीटीआइको पुरा रूप बताउँदै यौनिक परिचयका प्रकारका बारेमा कक्षा कोठामा छलफल गर्नुपर्नेछ।
काठमाडौँमा भएको कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायकी समयौनिक महिलाले पाठ्यक्रममा राखिने विषयको व्याख्या (डेफिनेशन) मा काम गर्नुपर्ने माग गरिन। ‘कक्षा ४ को महिनावारीको विषयमा महिला, बालिका, किशोरी र युवती भनेर टुलकिटमा राख्नु भएको रैछ,’समयौनिक महिलाले भनिन्,‘प्रजनन अङ्गहरूको विकास हुँदा पाठेघर छ भने मात्रै त्यो व्यक्ति महिनावारी हुने हो, सबै महिला महिनावारी हुँदैनन्।’
ट्रान्सजेण्डर महिलाहरू कहिले पनि महिनावारी हुँदैनन्। तर, पाठ्यक्रम र टुलकिट बनाउँदा यसमा ख्याल गरेको पाइएन।
‘सेक्सुअल अर्गान चेन्ज गरे पनि ऊ महिनावारी हुन सक्दैन,’समयौनिक ती महिलाले भनिन्,‘ट्रान्सजेण्डर मेन भने पनि उसको सेक्सुअल अर्गान महिलाकै लिएर आएको हुनाले हरेक महिना महिनावारी हुन्छन्।’
शिक्षा मन्त्रालयकी उपसचिव रमा अर्याल पन्थीले महिनावारी भएकै कारण बीचमै पढाई छोड्ने अवस्था अन्त्यका लागि सबै विद्यालयमा निःशुल्क स्यानीटरी प्याड वितरण गर्नु पर्ने बताइन।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.