लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको प्रश्न : खोइ जागिर, खोइ आरक्षणको व्यवस्था?

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको प्रश्न : खोइ जागिर, खोइ आरक्षणको व्यवस्था?

रुपन्देही : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूले व्यावसायिक पेसा अँगाल्ने वातावरण मिलाइदिन स्थानीय तहसँग माग गरेका छन्। आफूसँग भएको कला र सिपको उपयोग हुन सक्ने गरी व्यावसायिक पेसा अँगाल्ने वातावरण बनाउने उनीहरूले माग गरेका हुन्।
एक्लोलाई सहारा दिने वृक्ष समूहले सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिसँग सीमान्तकृत यौन अभिमुखीकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरू–समुदाय सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनीहरूले आफ्नो समुदायलाई पनि आयमूलक कार्यमा जोडेर समाजका अन्य समूह सरहसँगै लैजानु पर्ने बताए।
‘हाम्रो समुदायले आफूसँग भएको ज्ञान, सिप तथा कलाको उपयोग गर्ने गरी व्यावसायिक पेसा अँगाल्ने वातावरण अझै बनेको छैन’,तेस्रोलिंगी महिला रोन मगरले भनिन्, ‘यो समुदायले आफूसँग भएको ज्ञान र कलाको उपयोग गर्नबाट वञ्चित भएकै कारण कतिपय तेस्रोलिंगीले परिवारको गुजारा चलाउन यौन पेसा अँगाल्न बाध्य हुनु परेको छ।’
उनले कसैले पनि चाहेर यौन पेसा अँगाल्न नचाहने सुनाइन। राज्यले समाजका आदिवासी, जनजाति, मधेसी, दलित, महिला, मुस्लिम, पिछडा वर्ग लगायतलाई आय स्तर वृद्धि गर्नका लागि दिएको सुविधा तथा अवसर आफूहरूको समुदायलाई नदिएको उनले गुनासो गरिन्। ‘खोइ हामीलाई जागिर, अध्ययन लगायतका क्षेत्रमा आरक्षणको व्यवस्था खोइ?’ उनले प्रश्न गर्दै भनिन्,‘हामी पनि अन्य व्यक्ति सरह विपरितलिंगी आमा बाबुकै सन्तान हौँ। तेस्रोलिंगी हाम्रो दोष होइन।’
यो समुदायलाई रोजगारीमा कोटा निर्धारण गरी समान अवसर दिइनु पर्ने, सिपमूलक तालिमको व्यवस्था राज्य पक्षबाट गरिनु पर्ने, संविधानमा समलिङ्गी तथा तेस्रोलिंगीको हक अधिकार भए बमोजिम कानुन बनाइ व्यवहारमा लागु गरिनु पर्ने, स्थानीय स्तरमा समलिङ्गी तथा तेस्रोलिंगीलाई पनि प्रतिनिधित्व गराइनु पर्ने, स्थानीय तहमा लैंगिकमैत्री बजेट बनाउँदा यो समुदायलाई पनि छुट्टाउन नहुने, यथाशीघ्र समलिङ्गी विवाहको कानुन बनाउनु पर्ने, स्वास्थ्य संस्थाहरूले विभेदरहित नीतिको अवलम्बन गर्नु पर्ने माग लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूले गरे।

एक्लोलाई सहारा दिने वृक्ष समूहकी कार्यालय प्रमुख मनिला न्यौपानेले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पक्षमा संविधानमा उल्लेख गरिएको व्यवस्था पनि कानुन र व्यवहारमा स्वीकार नगरिएको बताइन्। ‘सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिइसक्दा पनि एघार वर्षसम्म समलिङ्गी विवाहको कानुन बन्न सकेको छैन’, उनले भनिन्, ‘मतदाता नामावलीमा उल्लेख गरिए पनि यस समुदायलाई राजनीतिमा भने समानुपातिक सहभागिता नभई भोटरको रूपमा मात्र प्रयोग गरिएको छ।’
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका प्रमुख इस्तियाक अहमद खानले नगरपालिकाले कुनै जात, धर्म, लिङ्ग र समुदाय विशेषलाई भन्दा आवश्यकताका आधारमा आयमूलक क्षेत्रमा जोड्ने बताए। उनले यो समुदायको वृत्ति विकास र योजनाहरू समावेश गर्न प्राथमिकता दिने जनाए।
उपप्रमुख उमा अधिकारी, वडा नम्बर–१३ वडाध्यक्ष सोमबहादुर गुरुङले नगर र वडाहरूमा हुने तालिममा तेस्रोलिंगी समुदायलाई पनि सहभागी गराउने प्रतिबद्धता जनाए। उनीहरूले हरेक काममा आफूहरूले यो समुदायलाई समेट्ने जनाए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.