अधिकारकर्मी आनिक राना

‘पहिला समाजसँग लडेँ, अहिले रोगसँग लड्दै छु’

‘पहिला समाजसँग लडेँ, अहिले रोगसँग लड्दै छु’

रुपन्देही : सबेरै उठेपछि भजन सुन्छिन्। नित्यकर्म सकेर चिया–खाजा खाएपछि औषधि सेवन गर्छिन्। एक समय बिहानैबाट दौडधुपमा व्यस्त रहने उनी अहिले रुपन्देहीको तिलोत्तमा–८ स्थित घरमै आराम गरिरहेकी छन्। उनलाई भेट्न केही मानिस आउँछन्। भेटघाटमा दुःखसुखका कुरा गर्दै पीडा भुलाउने कोसिस गरिरहेको उनले बताइन्।
तेस्रोलिंगी अधिकारकर्मी ४१ वर्षीया आनिक रानाको दिनचर्या अहिले फेरिएको छ। सक्रिय जीवनमा ब्रेक लागेको छ। दैनिक थेरापीले घाँटीको बाहिरी भाग जलेको जस्तो देखिन्छ। परिचित व्यक्तिले पनि नचिन्ने गरी दुब्लाएकी छन्। गत जेठमा घाँटीमा दुखाइ बढ्यो। असह्य हुन थालेपछि उनले बुटवलस्थित एक अस्पतालमा जाँच गराइन्। बेलाबेलामा टन्सिलले दुःख दिन्थ्यो। औषधि खाँदै टारिरहेको उनले सुनाइन्। त्यसपटक खपिनसक्नु दुखाई भयो। ‘साह्रै भएपछि म अस्पताल दौडिएँ,’ ह्वाटसअप कुराकानीका क्रममा उनले भनिन्,‘त्यसपटक डाक्टरले सिधै भरतपुर जाने सल्लाह दिनुभयो।’
चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पुगिन्। त्यहाँ घाँटी जचाउँदा क्यान्सर पुष्टि भयो। ‘बुटवलबाट केही नभनी पठाएका थिए,’उनले भनिन्,‘अस्पतालको रिपोर्टले झसंग भएँ,अत्तालिएँ।’ केही दिनसम्म क्यान्सर भएको भनेर स्वीकार्न नसकेको उनले बताइन्। भात खान र पानी पिउनसमेत नसक्ने गरी घाँटीको दुखाइ बढिरहेको उनले बताइन्। सुरुका केही दिन चिच्याएर रुने,अन्धकार मात्र देख्ने बनेको उनले बताइन्। ‘मानसिक रूपमा विक्षिप्तजस्तो भइसकेकी थिएँ,’उनले भनिन्,‘सहनु त थियो नै, रोग पुष्टि भएपछि आराम गरेर नियमित उपचार गर्न डाक्टरले सल्लाह दिनुभयो।’ आर्थिक कठिनाइका कारण साथीभाइ र विभिन्न संघसंस्थाको सहयोगमा रकम जुटाएर उपचार गरिरहेको उनले सुनाइन्।
तेस्रोलिंगी आनिक रानाले बल्ल पाइन पहिचान अनुसारको नागरिकता
‘सन् २००३ मा म तेस्रोलिंगीका रूपमा खुलेपछि परिवारले लत्याए,’पुराना दिन सम्झँदै उनले भनिन्,‘म मरे पनि मलाई आफन्ती भेट्न आउँदैनन् होला।’ आफूले पहिचान सार्वजनिक गरेका बेला मुलुकमा कम मात्र तेस्रोलिंगी खुलेको उनले सुनाइन्। त्यस्तो बेला आफू र आफ्नो समुदायका लागि पहिचान खुलाएर बाहिर आएको उनले बताइन्। ‘त्यसबेला समाजमा हिंड्दा हिंजडा, छक्का भनेर सम्बोधन गर्थे, त्यो कुरा मनमा गडेको थियो,’उनले भनिन्,‘यति साँघुरो समाजमा परिचय फेरेर देखाउने अठोटसाथ खुलेकी थिएँ।’ त्यसपछिका हरेक दिन संघर्षमा बितेको उनले बताइन्। ‘जीवनमा संघर्षको अन्त्य नहुने रहेछ,’ उनले भनिन्,‘अहिले फेरि रोगसित लड्दैछु।’ आफू परिवारविहीन भएकाले रोगसँग लड्ने हौसला घटेको उनले बताइन्। ‘यस्तो बेला परिवारको साथ र माया चाहिने रहेछ,’उनले भनिन्,‘अहिले महसुस भइरहेको छ।’
आनिकलाई अस्पतालदेखि अहिले घरमा हेरचाहमा उनकै समुदायका ‘छोराछोरी’ लागेका छन्। ती ‘छोराछोरी’ जसलाई उनले समुदायमा खुल्न र आफ्नो पहिचान बलियो बनाउन बाटो देखाएकी थिइन्। ती किशोरकिशोरीलाई आफूले छोराछोरी भनेर बोलाउने गरेको उनले बताइन्। ‘एलजीबीटीआईक्यू समुदायका मानिसलाई समाजमा चिनाउने अभियानमा जीवन बित्यो,’उनले भनिन्,‘अहिले पनि त्यो अभियान जारी छ। पहिले फिल्डमा हुन्थेँ। अहिले ओछ्यानमा छु।’
तेस्रोलिंगी आनिकले संचालन गरिन् ‘परिवर्तन’ टेलिभिजन कार्यक्रम
उनी साहसी कदम नेपाल नामक संस्थाकी अध्यक्षसमेत हुन्। संस्थामार्फत हिंसामा परेका महिलाको पक्षमा वकालत गर्दै आएकी छन्। एलजीबीटीआईक्यू समुदायका मानिसको अधिकार, शिक्षा र सामाजिक पहिचानमा चेतना अभिवृद्धि गर्ने कार्य उनले गरिरहेकी छन्। ‘अहिले पनि घरबाटै अनलाइन माध्यमबाट कामलाई निरन्तरता दिएकी छु,’उनले भनिन्,‘काम नगरे उपचार खर्च जुटाउन पनि त मुस्किल छ।’ काम नगरे खर्च नजुट्ने उनले बताइन्। काम गर्दा पीडा भुल्ने गरेको उनले बताइन्। एचआईभी/एड्स रोकथाम तथा मानव अधिकारको क्षेत्रमा पनि उनको सक्रियता उत्तिकै छ। एचआईभी संक्रमितको उपचार तथा काउन्सेलिङमा निरन्तर लागिरहेको उनले बताइन्। एलजीबीटीआईक्यू समुदायका मानिसलाई घर, विद्यालय तथा समाजले हेर्ने दृष्टिकोण परिवर्तन गराई सम्मानका साथ जिउने वातावरण गराउन आफू लागिपरेको उनले बताइन्।
दैलो दैलोबाट हिंसा अन्त्य गर्ने आनिकको प्रतिवद्धता
चितवनमा २१ दिनसम्म किमो चढाएर उपचार गराइन्। अहिले दिनहुँ रेडियसन थेरापी चलिरहेको उनले बताइन्। ‘साहसी कदमकी अध्यक्ष हुँ,’उनले भनिन्,‘त्यसैले साहस बटुलेर रोगविरुद्ध लडिरहेकी छु।’ अरुलाई अन्याय, अत्याचार र कमजोर भावनाबाट बाहिर निकाल्ने प्रयास गरिरहेको उनी सुनाउँछिन्। ‘म नै कमजोर भएँ भने भविष्यका लागि साँचेका सबै काम कसरी गरुँला,’ उनले भनिन्,‘नयाँ सोच तथा अभियानमा लाग्ने योजना बनाइरहेका बेला बिरामी परेपछि त्यसलाई निरन्तरता दिनका लागि समेत निको हुनुपर्ने छ।’ क्यान्सरजस्तो रोगसँग लडिरहेकी आनिकलाई चिकित्सकले रोग सुधार हुने प्रेरणा दिएकाले लामो समयसम्म बाँचेर धेरै काम गर्ने आशा मनमा राखेको उनले बताइन्। उनी बुटवलस्थित बुद्ध सामुदायिक टेलिभिजनमा समेत कार्यक्रम प्रस्तोता थिइन्। त्यसमा उनी सामाजिक व्यक्तिसँग अन्तर्वार्ता लिने गर्थिन्। ‘बोलीका लागि ठीक हुनुपर्ने भयो, घाँटीमा नै क्यान्सर भएपछि बोल्ने अवस्था हराएको छ,’उनले थपिन्,‘बोल्दा इसाराले बोल्छु, झोलिलो सुप, दाल आदि मात्र पिउन सक्छु।’ अन्न मिक्स्चरमा पिसेर खाने गरेको उनले बताइन्।
क्यान्सर पहिलो चरण भएकाले आत्तिहाल्नु नपर्ने भन्दै डाक्टरले हौसला दिएको उनले बताइन्। ‘रोगले डर र चिन्ता त एकदमै दियो,’उनले भनिन्,‘जीवनमा सकारात्मक सोंच र जीवन जिउने चाहना राख्न सके रोगसँग जुधिन्छ भन्ने लागेको छ।’ आनिकले आफूलाई यस्तो रोग लाग्ला भन्ने कल्पना नै नगरेको बेला रोग लागेपछि सबै आधार सकिएजस्तो लाग्ने सुनाइन्। तर, समाजमा आफूले धेरै काम गर्न बाँकी रहेकाले आफू बाँच्नैपर्ने उनको भनाइ छ। ‘धनी भएको भए सबै खोजी खोजी भेट्न आउँथे होला,’ उनले भनिन्,‘म त उपचार खर्चसमेत अरूले दिई बाँचेकी छु।’
सभार : कान्तिपुर दैनिक

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.