कोरोना महामारी

दोस्रो बुस्टर डोज लगाउन सुरु गर्ने तयारी, खोप नलगाउनेलाई जोखिम धेरै

दोस्रो बुस्टर डोज लगाउन सुरु गर्ने तयारी, खोप नलगाउनेलाई जोखिम धेरै

काठमाडौं : सरकारले कोरोनाविरुद्धको खोपको दोस्रो बुस्टर डोज लगाइदिने भएको छ। तेस्रो मात्रा खोप लगाइसकेका नागरिकलाई चौथो डोज लगाउने निर्णय स्वास्थ्य मन्त्रालयको विज्ञ टोलीले गरिसकेको छ।
बुस्टर डोज लगाउनेलाई फाइजर खोप मात्र रहेको मन्त्रालयले जनाएको छ। लक्षित उमेर समूहका ९० प्रतिशतलाई खोप लगाउने लक्ष्य मन्त्रालयले राखेको छ। अहिलेसम्म २५ प्रतिशतले मात्र तेस्रो डोज खोप लगाएका छन्। अब उनीहरूलाई चौथो डोज लगाउने निर्णय मन्त्रालयको विज्ञ टोलीले गरेको हो।
‘नेपालमा अहिले ७७ लाख खोप मौज्दात रहेको छ। अब ७७ लाख डोज फाइजर खोप भित्रन बाँकी रहेको छ,’स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठले भने,‘खोपको मात्रा कम भएकाले दोस्रो बुस्टर डोज पहिले फ्रन्टलाइनबाट लगाउन सुरु हुन सक्छ।’
सरकारले खोप लगाउने व्यक्तिमा कोरोना सङ्क्रमणको जोखिम ८५ प्रतिशत कम हुने दाबी समेत गरेको छ। खोप नलगाउने, खोपको नक्कली कार्ड बनाउनेहरूमा कोरोना सङ्क्रमण उच्च हुने श्रेष्ठले बताए।
उनका अनुसार खोप लगाएको नक्कली कार्ड बनाएका व्यक्तिको कोरोनाका कारण मृत्यु भएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा काठमाडौँले कोभिड १९ प्रतिकार्यमा रेडक्रस समीक्षात्मक तथा भाविकार्य योजना सम्बन्धी बैठकमा श्रेष्ठले वैदेशिक रोजगारीमा जानेहरूले नक्कली खोप कार्ड बनाएको पाइएको बताए।
‘सरकारले दिएको खोप नलगाउने केही एलिट समूह पनि देखिएका छन्।उनीहरू निजी अस्पतालका फ्रिजमा राखेको खोप लगाइरहेका छन्,’उनले भने,‘डोमेस्टिक फ्रिजमा राखेको खोप नलगाउन हामीले अनुरोध गरिरहेका छौँ।’
भिडभाड हुने ठाउँमा जाँदा मास्क अनिवार्य लगाउन उनले आग्रह गरे। मास्क बिना भिडभाड हुन कार्यक्रममा जान नहुने उनको सुझाव थियो। खोप लगाउने अभियानमा नयाँ जनप्रतिनिधिलाई दुई दिने तालिम कार्यक्रम गर्न बजेट विनियोजन भएको उनले जानकारी दिए।
‘सुरुमा खोप लगाउन मानेका थिएनन्,खोप लगाउँदा कोही ढल्यो भन्ने चिन्ता थियो,’उनले भने,‘रेडक्रसले खोप लगाउने अभियानमा गरेको सहयोग प्रशंसनीय रहेको छ।’ उनले अहिले नेपालमा भेरोसेल खोपको मात्रा ४० लाख डोज मात्र मौज्दात रहेको बताए।
अब घरघरमै गएर खोप लगाउनु पर्ने बेला आएको उनले सुनाए। भिडभाड हुने ठाउँ नाकाहरूमा, राहदानी वितरण कार्यालय, प्रशासन कार्यालयमा दैनिक खोप लगाउने व्यवस्था गर्नु पर्ने उनले बताए।
जवाफमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा काठमाडौँका सभापति श्यामकाजी डोटेलले काठमाडौँका मुख्य नाका एवं भिडभाड हुने ठाउँहरूमा रेडक्रसकर्मीहरू खोप लगाउने अभियानमा निरन्तर खटिएका जानकारी दिए।
काठमाडौं महानगरपालिकाका वडा नम्बर ११ का अध्यक्ष हिरालाल तुण्डकारले रोगले मरिसकेपछि जानकारी दिने काम बन्द गर्न आग्रह गरे। ‘नेपालमा कोरोनाको अध्ययन भएको २० वर्ष भइसकेको रहेछ, पहिलो लकडाउनमा विज्ञहरूले अध्ययन भएको जानकारी दिए,’उनले भने,‘रोगले मरिसकेपछि अध्ययन भएको थाहा पाइयो।’
महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले विपद्मा पनि बाच्नु पर्छ भन्ने अभियानमा रेडक्रस सोसाइटीको सहयोग रहेको बताए। उनले मानवीय सेवाको काममा रेडक्रससँग महानगर सहकार्य गरेर काम गर्न तयार रहेको बताए। उनले फोहोर व्यवस्थापनको काममा रेडक्रसकर्मीहरूले गरेको सहयोग प्रशंसनीय रहेको सुनाए।
चन्द्रागिरि नगरपालिकाकी उपप्रमुख बसन्ती श्रेष्ठले रेडक्रसको पहिलो कार्यक्रममा सहभागी हुन पाएको बताइन। उनले कोरोना महामारी एवं मानवीय सेवामा रेडक्रसले गरेको काम महत्त्वपूर्ण रहेको उल्लेख गरिन्।
रेडक्रसको कार्यक्रममा महानगर प्रमुख बालेन शाह उपस्थित भए पनि मन्तव्य भने व्यक्त गरेनन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.