निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

संसद्को आयु

निर्वाचन आयोग र सङ्घीय संसद् अलमलमा, सरकार मौन

निर्वाचन आयोग र सङ्घीय संसद् अलमलमा, सरकार मौन

573
SHARES

काठमाडौं : सङ्घीय संसद्को कार्यकाललाई लिएर निर्वाचन आयोग र सङ्घीय संसद् सचिवालय अलमलमा परेका छन्। पहिलो निर्वाचित भएको मितिलाई आधार मान्दा संसद्को कार्यकाल मङ्सिर २१ गतेसम्म रहने भए पनि सांसदको पद कहिले सम्म रहने भन्नेमा आयोग र सचिवालय अलमलमा परेका हुन्।
सरकारले संसद्को कार्यकालबारे केही नेपाल ऐनमा संशोधन गरेर प्रस्ट पार्न खोजे पनि चौतर्फी विरोधपछि फिर्ता लिएको थियो। स्थानीय तहको चुनावलाई नजिर मानेर आयोगले मनोनयनको अघिल्लो दिन सांसदको कार्यकाल सकिने विज्ञप्ति निकालेको छ। त्यही विज्ञप्तिलाई कभरिङ लेटरमा राखेर आयोगले संसद् सचिवालयलाई पठाएको छ।
आयोगले बुझाएको विज्ञप्ति अस्पष्ट भएको भन्दै सचिवालयले अध्ययन गरेर तामेलीमा राखेको छ। संसद्को कार्यकालबारे आयोगले प्रस्ट नभनेको सचिवालय श्रोतले जानकारी दिएको छ।
आयोगको विज्ञप्तिमा समानुपातिक तर्फको या प्रत्यक्ष तर्फको मनोनयन भएपछि भन्ने केही उल्लेख छैन। सचिवालयले भने लोकलाजका कारण समानुपातिक तर्फको मनोनयनको अघिल्लो दिन सांसदहरूलाई बिदाइ गर्ने सोच बनाएको छ।
संसद् अधिवेशन अन्त्य भएको सरकारले जानकारी दिने या निर्वाचन आयोगले भन्नेमा अनविज्ञ रहेको सचिवालयले बताएको छ। निर्वाचन आयोगले पनि अलमलमै पर्ने जवाफ दिएको छ। ठ्याक्कै संसद्को कार्यकाल कहिले सकिने सम्बन्धित निकायले भन्न पर्ने आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले बताए।
‘२०७४ सालको चुनावलाई आधार मानेर संसद्को अवधि सकिने विषयमा सम्बन्धित निकायलाई जानकारी गराइसकेका छौँ,’अर्यालले भने,‘संसद्को अवधि आयोगले निर्णय गर्ने विषय होइन।’ उनले संसद्को अवधिबारे चुनावको मिति तोकिसकेपछि सरकारले विधेयक ल्याएर प्रस्ट पार्न खोजेकोमा असन्तुष्टि जनाइसकेको बताए।
संसद्को अवधि तोकिएको विधेयक फिर्ता लिएपछि सरकार पनि यो विषयमा मौन बसेको छ। सरकारले संसद् सकिने नसकिने या अधिवेशन अन्त्य हुने नहुने विषयमा संसद् सचिवालयलाई पत्र पठाएको छैन। मन्त्रिपरिषद् बैठकमा समेत यो विषयमा छलफल नभएको एक मन्त्रीले जानकारी दिएका छन्।
तर प्रतिपक्षी नेकपा एमालेले भने असोज १ गते नै संसद् स्वतः अन्त्य हुने बताएको छ। विगतको नजिरलाई आधार मान्दा समानुपातिकतर्फको उम्मेदवारको मनोनयन गर्ने अघिल्लो दिन संसद्को कार्यकाल सकिने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए। ‘संविधानमा पाँच वर्षको कार्यकाल भनिएको छ,तर पाँच वर्ष कहिलेलाई मान्ने भन्ने छैन,’उनले भने,‘विगतको अभ्यासलाई हेर्दा असोज १ गते संसद्को कार्यकाल सकिन्छ भन्ने हो।’

समाचार शेयर गर्नुहोस्
573
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.