एलबीटी

२५ सदस्यीय परिवारकी दिलवाली

२५ सदस्यीय परिवारकी दिलवाली

मेरो जन्म सुदूरपश्चिम प्रदेशको एक ग्रामीण क्षेत्रमा भएको हो। त्यो ठाउँमा बाटो घाँटोको पनि सुविधा थिएन। अहिले बाटो पुगेको छ। जन्मिदा छोरी भएर जन्मेको थिए। तर हुर्किने क्रममा मेरो शारीरिक परिवर्तन सँगसँगै मानसिक तथा भावनात्मक रूपले पनि अरू भन्दा फरक व्यवहार र सोच विकास हुँदै गयो।
म कालीकाली ढल्ली ढल्ली होची थिए। तर कालीमा दिलवाली पनि त थिए। मेरो परिवार ठुलो परिवार थियो। २५ जना त हाम्रो एकै परिवारमा थियौँ। म तेस्रो सन्तान थिए। करिब ११ वर्षको उमेरमा आफूलाई फरक सोच, व्यवहार र खेल्ने तरिकामा पनि फरक। म जहिले नि केटा साथीहरूसँग फुटबल खेल्ने र सँगै लड्ने गर्थे।
हरेक व्यवहार केटा जस्तो हुन थाल्यो। किशोर अवस्थामा पुगे पछि केटीहरूको लाइन लाग्न थाल्यो। मलाई केटीहरू अजय भनेर बोलाउँथे। मेरो सानैमा एक जना केटीसँग माया बस्यो। करिब ७ वर्ष हामी सँगै भयौ। म उनीबाट धेरै खुसी थिए। उनी पनि हाम्रोमा रमाई रहेकी थिइन। हामी धेरै खुसी थियौ, तर हाम्रो समाजमा यस्तो सम्बन्ध अस्वीकार र एक प्रकारको अपराध जस्तै थियो।
हामी दुबैलाई एक अर्काबाट टाढा बनाउन समाजका मान्छेले हाँसोको पात्र समेत बनाए। जहाँ गयो हाम्रै चर्चा चलिरहेको थियो। घरबाट बाहिर निस्कने वातावरण नै थिएन। त्यसपछि मेरो पार्टनर पनि त्यो समाज र परिवारको दुर्व्यवहारका कारण विवाह गर्न बाध्य भइन।
घरमा बस्ने वातावरण नभएपछि म विस्थापित हुन पुगे। घर छोडेर धनगढी पुगे। एक जना तेस्रोलिंगी महिला स्मृति लामासँग धनगढीमै भेट भयो। उहाँले नै मलाई एलजीबीटीआईको बारेमा जानकारी दिनु भयो। जो घर समाजबाट यौन दुर्व्यवहार, लाञ्छना भेदभावको सिकार भएका छन् त्यस्ताको लागि उहाँले एउटा संस्था स्थापना गर्नुभयो। उहाँकै सहयोगमा मैले पनि संस्था दर्ता गर्न ११ जना एलबीटी साथीहरूलाई भेला गरे, र एउटा समिति गठन गरियो।
तेस्रोलिंगी महिलाको सहयोगमा एउटा विधान बनाई जिल्ला प्रशासन कार्यालयमा दर्ताको लागि पहल भयो। संस्थाको नाम एकता नेपाल राखियो। दर्ताका लागि धेरै झन्झट पाइयो। समिति बनाए पनि एलबीटी साथीहरूले आफ्नो नागरिकताको फोटो कपी दिन मानेनन्। संस्था दर्ता गर्नका लागि एलबीटी साथीहरूले रकम उठाई एकता नेपाल भन्ने संस्था दर्ता गर्न सफल पनि भइयो।
एकता नेपालले हाल सालै एकता बचत समूहको पनि सुरुवात गरेको छ। बचत समूहबाट एक प्रतिशत ब्याजमा ऋण लिएर उपचार, व्यवसाय वा कुनै पनि काम गर्न सकिने भएको छ। धेरै एलबीटीहरुले आफ्नो पहिचानको बारेमा जानकार हुने मौका पनि पाएका छन्।
समाजमा यो समुदायलाई हेर्ने दृष्टिकोण नै अझै सकारात्मक हुन नसकेको अवस्था छ। हरेक ठाउँ, हरेक कुना काप्चामा यो समुदायको व्यक्तिलाई विभेद गर्ने एवं यौन दुर्व्यवहार समेत हुने गरेको पाइन्छ। तर कसैले कुनै प्रकारको एक्सन लिन सक्दैन। धेरै जसो एलबीटी समुदायका व्यक्तिहरूले घरबाट टाढा र कोही कोही घरबाट नै निकालिएका छन्।
कसैले आफ्नो यौनिकताको कारणले शिक्षा, स्वास्थ्य र नागरिकताबाटै वञ्चित हुनु परेको अवस्था छ। यस्ता विभेदलाई कम गर्न सबै एलबीटी समुदाय एकजुट हुन आवश्यक छ। एकता नेपाल सबैको लागि सुख दुख साट्ने थलो बन्यौ। म पनि यो ठाउँमा सहभागी हुने मौका पाए। एकता नेपालले आयोजना गरेको हरेक कार्यक्रममा सहभागी हुन थालेपछि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको आधिकारको बारेमा जानकारी पाए।
म कस्तो व्यक्ति हु भनी आफ्नो पहिचानको बारेमा पनि थाहा पाए। यो समुदायले पनि आफ्नो इच्छा अनुसार बाँच्नु पाउनु पर्छ। यो अभियानको बारेमा जानकार भई आज एलबीटीको आवाज उठाइ रहेको छु। यो कामको लागि न कसैको साथ न सहयोग नै छ। तर पनि आज आफ्नै तरिकाले यो मुद्दा उठाइ रहेको छु। मलाई यो समुदायको आवाज उठाउन आत्मदेखि नै खुसी लाग्छ। आज आफ्नो पहिचान पनि बनाउन सकेको छु। त्यसैले यो एकता नेपाललाई धन्यवाद दिन चाहन्छु।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.