चुनाव

उम्मेदवार मनोनयन : कलहले दलहरूभित्र हलचल

उम्मेदवार मनोनयन : कलहले दलहरूभित्र हलचल

काठमाडौं : प्रतिनिधि र प्रदेश सभा सदस्यको पाँच वर्षे कार्यकालका लागि चुनाव लड्ने उम्मेदवारले आइतबार मनोनयन पत्र दर्ता गराउँदै छन्। राजनीतिक दलका दलीय उम्मेदवार र स्वतन्त्र उम्मेदवारले बिहान १० बजेदेखि मनोनयन पत्र दर्ता गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवारका लागि १० हजार र प्रदेश सभा सदस्य उम्मेदवार हुनका लागि पाँच हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गर्नुपर्नेछ। महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारलाई धरौटी रकममा पचास प्रतिशत छुट हुने आयोगले जनाएको छ।
मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयन पत्र दर्ता गराउन सक्नेछन्। उम्मेदवारले नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, प्रस्तावक र समर्थकको मतदाता परिचयपत्रको प्रतिलिपि वा मतदाता नामावलीमा नाम रहेको निस्सा पेस गर्नुपर्नेछ।
उम्मेदवारले आफ्नो चल, अचल सम्पत्ति, बैङ्क तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र, शेयर, ऋणपत्र, कसैलाई ऋण दिएको वा लिएको भए त्यसको समेत सम्पूर्ण विवरण उल्लेख गरी सिलबन्दी रूपमा पेस गरेको सम्पत्ति विवरण बुझाउनु पर्नेछ। सम्पत्ति विवरणसँगै लेखापरीक्षणबाट सरकारी पेस्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको निस्सा पनि उम्मेदवारले पेस गर्नुपर्नेछ।
भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्म कैद वा बिस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाएको व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने आयोगले जनाएको छ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतदान हुने दिन आउन ४३ दिन मात्रै बाँकी छ। समानुपातिकतर्फका ११० र प्रत्यक्षतर्फका १६५ सदस्य गरेर निर्वाचित हुने २७५ सदस्यीय प्रतिनिधि सभाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख चयन गर्नेछ।
निर्वाचन आयोगले समानुपातिक तर्फ प्रतिनिधिसभातर्फ ४८ दलले २ हजार ४ सय ३६ जना उम्मेदवारको बन्द सूची बुझाएको जनाएको छ। प्रदेश तर्फ प्रदेश १ मा ३६ दलले ६६१, मधेस प्रदेशमा ३६ दलले ९४८, बाग्मतीमा ४१ दलले ८२५ तथा गण्डकीमा ३१ दलले ३६९, लुम्बिनीमा ३२ दलले ६५७, कर्णालीमा २८ दलले २२२ र सुदूर पश्चिम प्रदेशमा ३४ दलले ३७६ गरी ६ हजार ४ सय ९३ उम्मेदवारको बन्द सूची आयोगमा बुझाएका छन्।
समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयनसँगै अब निर्वाचन क्षेत्र केन्द्रित चुनावी गतिविधि बढ्नेछन्। पाँच वर्ष सांसद बन्न मतदातालाई आकर्षित गर्ने अभियानमा उम्मेदवारहरू होमिँदै छन्।
निर्वाचन आयोगले स्थानीय तहमा निर्वाचित सदस्यसम्मलाई समेत देशभर चुनाव प्रचार गर्न पाउने व्यवस्था गरेको छ। यो व्यवस्थासँगै प्रधानमन्त्री, मन्त्रीहरू मात्रै नभएर स्थानीय तहका निर्वाचित सदस्यसम्मले सरकारी तथा सार्वजनिक स्रोत साधन प्रयोग नगरी देशव्यापी चुनाव प्रचारमा दौडन पाउने छन्। सरकारी तथा सार्वजनिक स्रोत साधनको प्रयोग गरे नगरेको अनुगमन गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए।
शनिवार पत्रकार सम्मेलन गरेर प्रमुख आयुक्त थपलियाले आचारसंहिताको दफा ५ मा प्रधानमन्त्रीदेखि मन्त्रीहरू र सङ्घीय कार्यपालिकाका सबै सदस्यहरू आफू उम्मेदवार भएको ठाउँ बाहेक अन्यत्र प्रचारप्रसारमा जान नहुने व्यवस्था परिमार्जन गरेको बताए।
आयोगले मतदानको दिन यातायातका साधन चलाउन दिने निर्णय पनि गरेको छ। निर्णय कार्यान्वयन गर्न कार्यदल गठन भएको थपलियाले बताए।
दलहरूमा कलह
राजनीतिक दलहरूमा उम्मेदवार छनौटको कलहले हलचल मच्चाएको छ। पार्टीमा योगदान गरेकालाई दण्डित गर्ने र धनवाद, डनवादलाई टिकट दिन थालेपछि दलहरूभित्र कलह निम्तिएको हो।
पार्टी अध्यक्षमा केपी शर्मा ओलीसँग चुनाव लडेका भीम रावलको टिकट खोसिएको छ। पार्टीको टिकट खोसिए पनि रावलले स्वतन्त्र उम्मेदवार भने दिन पाउनेछन्। उनले उम्मेदवार मनोनयनको दिन नै सबै थाहा हुने जवाफ दिएका छन्।
रावलले टिकट नपाएको असन्तुष्टिले अछामका ३८ जनाले एमाले छोडेको घोषणा गरेका छन्। टिकट पाए पनि इच्छाविपरित उम्मेदवार बनाएको भन्दै एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले चुनाव नलड्ने बताएकी छन्। आफ्नो विकल्प खोज्न ओलीलाई सुझाव दिएको शाक्यले बताइन।
टिकट नपाएपछि घनश्याम भुसालले एमाले छोडेका छन्। उनले १० बुँदेको स्पिरिट अनुसार अघि बढिरहेकाहरूलाई टिकट नदिएर ओलीले कत्लेआम गरेको बताएका छन्।
एमालेभित्र मात्रै होइन काँग्रेस, माओवादी केन्द्रमा पनि उम्मेदवार छनोटमा असन्तुष्टि बढेको छ। काँग्रेसले पार्टीमा आर्थिक रूपमा सहयोग गर्नेहरूलाई टिकट बाँड्न थालेको आरोप लागेको छ।
हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रहेका काँग्रेस संस्थापन इतरका नेता दिलेन्द्र प्रसाद बडूलाई उम्मेदवार बनाउने निर्णय गरेपछि दार्चुलामा खटपट सुरु भएको छ। बडूलाई उम्मेदवार बनाउने निर्णयपछि काँग्रेस दार्चुलाका पूर्व जिल्ला सचिव गौरीशङ्कर गिरीले पार्टी छोडेको घोषणा गरेका छन्।
माओवादी केन्द्रमा पनि त्यस्तै महामारी छ। गठबन्धनबिचको सिटबाँटबाँडले सभामुख समेत रहेका अग्नि प्रसाद सापकोटा तनावमा परेका छन्। निर्वाचनमा जित्ने पक्का नभएपछि सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ मा युवालाई अवसर दिने उद्घोष गर्दै सापकोटाले चुनाव नलड्ने घोषणा गरेका छन्।
प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताको अघिल्लो दिन शनिवार नै सापकोटाले सरकारी निवास समेत छोडेका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन छाडेर गोर्खा जाने भएपछि चितवन क्षेत्र नम्बर ३ मा माओवादीबाट डाक्टर भोजराज अधिकारी उम्मेदवार बन्ने भएका छन्।
उम्मेदवार टुङ्गो लगाए
नेकपा एकीकृत समाजवादीले प्रत्यक्षतर्फका उम्मेदवारको नाम टुङ्गो लगाएको छ। गठबन्धनका तर्फबाट एक सय ६५ निर्वाचन क्षेत्रमध्ये १९ सिट प्राप्त गरेको एकीकृत समाजवादीले सबै उम्मेदवारको नाम टुङ्गो लगाएको महासचिव वेदुराम भुसालले जानकारी दिए।
पार्टी अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नं १ बाट र नेता झलनाथ खनाल इलाम क्षेत्र नं १ बाट उम्मेदवार बन्ने भएका छन्। उपाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे धादिङ क्षेत्र नं १, पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा उदयपुर क्षेत्र नं २ र किसान श्रेष्ठ बारा क्षेत्र नं ४ बाट उम्मेदवारका रूपमा सिफारिस भएका छन्।
जीवनराम श्रेष्ठ काठमाडौँ क्षेत्र नं ८, कृष्णलाल महर्जन ललितपुर क्षेत्र नं २, विरोध खतिवडा मकवानपुर क्षेत्र नं २, श्रीनाथ बराल कास्की क्षेत्र नं २, रामकुमारी झाँक्री गुल्मी क्षेत्र नं २, सोमप्रसाद पाण्डे पाल्पा क्षेत्र नं २, राजु गुरुङ रुपन्देही क्षेत्र नं २, मेटमणि चौधरी दाङ क्षेत्र नं १, प्रकाश ज्वाला सल्यान, धनबहादुर बुढा डोल्पा, अम्बर थापा दैलेख क्षेत्र नं १, भानुभक्त जोशी बझाङ र प्रेमबहादुर आले डोटीबाट उम्मेदवार बन्नेछन्।
गठबन्धन तोडेर एमालेसँग कुम जाडेको जनता समाजवादी पार्टी जसपाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवार टुङ्गो लगाएको जनाएको छ। जसपाले एमालेसँगको तालमेलमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १७ सिट पाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासँग भने एमालेको देशभर तालमेल नहुने भएको छ। राप्रपाले काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एकल उम्मेदवारी दिने घोषणा गरेको छ। राप्रपाले क्षेत्र नम्बर १ बाट विवेकशील साझा छोडेर पार्टी प्रवेश गरेका रवीन्द्र मिश्रलाई उम्मेदवार बनाउने भएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.