चुनाव

सिद्धान्त र बिचारविहीन दलहरू एक अर्काको चिन्हमा भोट माग्न व्यस्त 

सिद्धान्त र बिचारविहीन दलहरू एक अर्काको चिन्हमा भोट माग्न व्यस्त 

काठमाडौं : राजनीतिक दलहरूले सत्तामा पुग्न मतदातालाई भर्‍याङ बनाइरहेका छन्। पाँच वर्ष सत्ताको नेतृत्वमा पुग्न काँग्रेसले माओवादीसहितको गठबन्धन गरेको छ भने एमालेले राप्रपासहित साना दललाई साथमा लिएको छ। 
गठबन्धनका उम्मेदवारको पक्षमा माहौल बनाउन शीर्ष नेताहरूले पार्टीको सिद्धान्त र बिचार बिर्सन आफ्ना कार्यकर्तालाई बाध्य बनाइरहेका छन्। काँग्रेस, एमाले, माओवादी लगायत दल जसरी पनि सत्तामा पुग्न मतदातालाई प्रयोग गर्न प्रतिस्पर्धा गरिरहेका छन्। 
संविधान जारी भएपछिको पहिलो चुनावदेखि सुरु भएको गठबन्धन राजनीति दोस्रो चुनावसम्म कायम छ। गठबन्धनमा नारिने दल र पात्र मात्र फेरिएका छन्। सत्ता प्राप्तिको लक्ष्य लिएर चुनावमा होमिएका दलका शीर्ष नेताहरू अहिले निर्वाचन क्षेत्रमा पुगेर एकअर्काविरुद्ध वाक युद्ध गरिरहेका छन्। 
उनीहरू कसरी हुन्छ आफ्नो राजनीतिक स्वार्थ पुरा गर्न मतदातालाई प्रयोग गर्न कम्मर कसेरै लागेका छन्। सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले मङ्सिर ४ को चुनाव केन्द्रित पहिलो चुनावी सभा गरेर अझै प्रतिगमनको खतरा रहेको बताएका छन्। 
काठमाडौं निर्वाचन क्षेत्र नं २ मा भएको चुनावी सभामा शीर्ष नेताहरूले अबको चुनाव लोकतन्त्र र अधिनायकबादबीचको सङ्घर्ष भएको उल्लेख गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको संसद् विघटनलाई अधिनायकवाद भन्दै आएका गठबन्धनका शीर्ष नेताहरूले अबको चुनावी एजेन्डा एमालेविरुद्ध बनाएका छन्। एमालेसँग एक्लाएक्लै चुनावमा जान नसकेर एउटै जुवामा नारिएका गठबन्धन दलका शीर्ष नेताले बहुमत ल्याएर सरकार बनाउन गठबन्धन गरेको जिकिर परेका छन्। 
नेताहरूले एक दलको बहुमत नआउनुको कारण वर्तमान निर्वाचन प्रणाली भएको तर्क गरेका छन्। काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको निर्वाचन प्रणालीका कारण एक दलको बहुमत नआउने भएपछि गठबन्धन गर्न बाध्य भएको बताए। ‘नेपालमा लडेर ल्याएको यो प्रजातन्त्र जो छ यसलाई स्थायित्व दिन जरुरी छ। प्रतिगमनको खतरा अझै पनि छ,’प्रधानमन्त्री देउवाले भने,‘त्यसैले सबै पार्टी एक हुन जरुरी छ।’
गठबन्धनका उम्मेदवारलाई भोट माग्न घुँडा धसेरै लागेका नेताहरूले गठबन्धनमा गडबड नगर्न नेता कार्यकर्तालाई खबरदारी गरेका छन्। सत्तामै पुग्न राजनीति गरेका नेताहरू ‘मुखमा रामराम बगलीमा छुरा’ भनेजस्तै आर्थिक क्रान्तिको कुरा सुनाइरहेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको क्रान्ति आर्थिक विकासको भएकाले गठबन्धनलाई भोट हालेर जिताउन आग्रह गरे। ‘अबको हाम्रो ऐतिहासिक दायित्व भनेको आर्थिक सम्बृद्धिको नयाँ क्रान्तितिर अगाडि बढ्नु हो,’प्रचण्डले भने,‘त्यसका निम्ति तपाई सचेत मतदाताले एउटा नयाँ रेकर्ड बनाउनु हुनेछ भनेर म विश्वास व्यक्त गर्न चाहन्छु।’ 
राजनीतिमा कोही पनि स्थायी मित्र र स्थायी शत्रु हुँदैनन् भने जस्तै चुनावमा होमिएका दलहरूले चुनावी मौसम सुहाउँदो ज्याकेट लगाएका छन्। विरोधीको सत्तोसराप गरेर नथाक्ने नेताहरू आफ्नो पक्षमा माहौल बनाउन विगत, वर्तमान र भविष्यको सुन्दर सपना सुनाइरहेका छन्। 
जनतालाई भुलभुलैयामा पारेर आफ्नो दुनो सोझ्याउन खप्पिस नेताहरूले विचार र सिद्धान्त बिर्सेर एक अर्काको चुनाव चिन्हमा मतदान गर्न भनिरहेका छन्। एमालेबाट चोइटिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले देशले निरंकुशताको माग नगरेको बताए। ‘देशले लोकतन्त्रको माग गरेको छ, देशले अधिनायकको माग गरेको होइन, निरंकुशताको माग गरेको होइन,सर्वसत्ताको माग गरेको होइन’उनले भने,‘हामी सर्वसत्तावादको विरुद्धमा छौ,लोकतान्त्रिकरणको पक्षमा छौ,जनअधिकारको पक्षमा छौ र हामी देश विकासको पक्षमा रहेका छौ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading