सुदूरपश्चिमका मुख्यमन्त्रीलाई पदमुक्त गराउने एमालेको दाउ

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई पदमुक्त गराउने एमालेको दाउ

160
SHARES

काठमाडौं : सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीबीच शक्ति सङ्घर्ष चुलिएको छ। चार सदस्यीय रहेको एकीकृत समाजवादीलाई नेकपा एमालेले पार्टी फुटाएको झोक समेत फेरेको छ।

एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका दीर्घ सोडारीलाई एमालेले कोक्रामा राखेर हल्लाइरहेको छ। विश्वासको मत लिन दुई पटक बोलाएको प्रदेश सभा बैठक स्थगित गराउन बाध्य बनाएको एमालेले सोडारीको विकल्प खोजेको छ।

प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरे पनि प्रदेशसभाबाट विश्वासको मत नपाए पदमुक्त हुनुपर्ने अवस्थामा सोडारी पुगेका छन्। सोडारीलाई मुख्यमन्त्रीबाट मुक्त गराएर एमाले आफैँले मुख्यमन्त्री लिने दाउ समेत गरेको छ।

उपचुनावमा बझाङबाट थप एक सिट जितेसँगै एमालेले सोडारीलाई मुख्यमन्त्री स्वीकार गर्न नसकिने जवाफ दिएको छ। एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले मुख्यमन्त्रीमा सोडारी बाहेकका विकल्पमा आफूहरू तयार रहेको प्रतिक्रिया दिएका छन्।

सत्ताधारी दलहरू नै विश्वासको मत नदिने अडानमा रहेपछि मुख्यमन्त्री सोडारीको विश्वासको मत लिने दोस्रो प्रयास पनि असफल भएको छ। एमालेले सोडारीलाई विश्वासको मत दिँदा भएको जनमत समेत बिग्रने बताएको छ।

सोडारी वैशाख ६ गते एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य, स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले जेठ ५ गतेभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था छ।

५३ सदस्यीय प्रदेशसभामा काँग्रेसका १८, नेकपा माओवादी केन्द्रको सभामुख बाहेक १०, नेकपा एमालेका ११, नागरिक उन्मुक्ति पार्टीको सात, नेकपा एकीकृत समाजवादी पार्टीका चार, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन्।

समाचार शेयर गर्नुहोस्
160
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.