"/>
विद्यालय शिक्षा

कक्षा ६ देखि १२ सम्म एलजीबीटीआईबारे पढाउनु पर्ने, सानो हुँदा राखेको नामको अर्थ छैन : पन्त

कक्षा ६ देखि १२ सम्म एलजीबीटीआईबारे पढाउनु पर्ने, सानो हुँदा राखेको नामको अर्थ छैन : पन्त

काठमाडौं : विद्यार्थीले कक्षा कोठामा लैङ्गिक तथा यौनिक शिक्षा लिन थालेका छन्। कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई आउँदो शैक्षिक सत्रदेखि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (एलजीबीटीआईक्यु) राखिएको पुस्तक पुर्‍याउने तयारी सरकारको छ।

पाठ्यक्रम विकास केन्द्रले कक्षा ५, ८ र १० को नयाँ पाठ्यक्रम निर्माण गरिसके पनि पुस्तकका रूपमा आउँदो शैक्षिक सत्रदेखि पुग्ने जनाएको छ। ‘कक्षा ४ देखि १२ सम्म महिनावारी शिक्षा पढाउने पाठ्यक्रम निर्माण भइसकेको छ,’केन्द्रकी जेण्डर फोकल पर्सन सुमन सिलवालले भनिन्,‘कक्षा ५, ८ र १० बाहेकका कक्षामा पढाउन थालिसकिएको छ।’

स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला विषयमा लिङ्ग, लैङ्गिकताको विषय राखिएको उनले बताइन। ‘पहिला लिङ्ग भनेर पढाइन्थ्यो,अहिले लैङ्गिकताको बारेमा अध्ययन भइरहेको छ,’सिलवालले पहिचानसँग भनिन्,‘पुस्तकमा यौनिकता शिक्षा पनि राख्नुपर्छ भनेर छलफल भएको छ।’

अब शिक्षकहरूले समलिङ्गी, द्धिलिंगी, ट्रान्सजेण्डर, अन्र्तलिंगी, तेस्रोलिंगी र कोयर व्यक्तिहरूका बारे विद्यार्थीलाई बुझाउनु पर्नेछ। जन्मँदा छोरा या छोरी जन्मेकाहरू नै हुन एलजीबीटीआइक्यू भनेका व्यक्ति। जन्मँदै एलजीबीटीआईक्यू हुने होइनन्। शिक्षकहरूले विद्यार्थीलाई अब लिङ्ग भनेको पुलिङ्ग, स्त्री लिङ्ग र नपुंसक लिङ्ग भनेर पढाउने छैनन्।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूसँग छलफल गरेर पाठ्यक्रममा एलजीबीटीआईक्यूबारे पाठ्यपुस्तकमा राखिएको सिलवालले बताइन।‘अन्य राख्ने भन्ने कुरा आएको थियो।अन्यबाट चिनिएनौ भन्ने आयो यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकबाट,’उनले भनिन्,‘समग्रमा अङ्ग्रेजी टर्मिनोलोजी एलजीबीटीआईक्यू राखिएको छ।’ सामाजिक, विज्ञान विषयमा पनि यो विषयमा अध्ययन हुने गरेको सिलवालले बताइन।

देहान्तरको पत्तो छैन
समलिङ्गीलाई समयौनिक भन्ने कि भनेर पनि छलफल भएको उनले बताइन। कुन भाषा प्रयोग गर्ने भनेर डिस्नेरी नै तयार भएको उनले सुनाइन। स्वास्थ्य तथा शारीरिक शिक्षामा देहान्तर भन्ने शब्द नपरेको प्रस्टोक्ति दिइन।

प्लान नेपाल र केयर नेपालको सहयोग, ग्लोबल एक्सन नेपालको नेतृत्व र राष्ट्रिय महिनावारी सञ्जालको संयोजनमा सार्वजनिक भएको महिनावारी शिक्षामा तेस्रोलिंगीलाई देहान्तर भनेर लेखिएको थियो। सिलवाल त्यो कार्यक्रममा सहभागी भएकी थिइन। पुस्तकमा कमेन्ट गर्दै देहान्तर भन्ने शब्द पहिलो पटक सुनेको द्धिलिंगी महिला सरिता केसीले बताएकी थिइन।

केन्द्रकी जेण्डर फोकल पर्सन सिलवालले छलफल भए पनि देहान्तर भन्ने शब्द स्वास्थ्य तथा शारीरिक शिक्षामा रहेको बताइन। ‘अनेक नामका कुरा आएका थिए,’उनले भनिन्,‘अरू विषयमा परेको भए थाहा भएन,हेल्थमा छैन।’

देहान्तर शब्दका बारेमा राष्ट्रिय महिनावारी सञ्जालका संयोजक गुणराज श्रेष्ठ र ग्लोबल एक्सन नेपालका बिके श्रेष्ठले अनभिज्ञता जनाए। सरोकारवाला समेतलाई सहभागी गराएर सार्वजनिक गरिएको महिनावारी शिक्षा पुस्तकमा ‘देहान्तर’ शब्द छ भन्नेमा दुवै जना जानकार देखिएनन्।

श्रेष्ठले ग्लोबल एक्सनमा तिर सोझ्याए भने बिके श्रेष्ठले प्लान नेपाल र केयर नेपाललाई थाहा हुन सक्ने बताए। ‘सरोकारवालाहरूले दिएको सुझावका आधारमा आएको हुनसक्छ,’उनले भने,‘हामीले लिड मात्रै गरेका हौँ, लेख्ने काम प्लान र केयरका प्रतिनिधिले गरेका हुन्।’

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको विषय अब कक्षा कोठामा, ट्रान्सजेण्डरलाई ‘देहान्तर’ भनेर पढाइने

नाम जे दिए पनि समग्रमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र अङ्ग्रेजीमा एलजीबीटीआईक्यू नै भनेर पुस्तकमा राखिएको केन्द्रकी फोकल पर्सन सिलवालले बताइन। ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको विषय पाठ्यक्रममा राख्नु नराम्रो हो र?’उनले प्रश्न गरिन्।

नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिको पहिचान सहितको अधिकारका लागि संस्थागत लबिङ गरेका सुनिलबाबु पन्त सानो हुँदा राखिदिएको नामको अर्थ नहुने बताउँछन्।
‘त्यतिवेला पनि मैले रोजेर राखेको नाम होइन। दिइएको नाम हो।सानो हुँदा सोच्ने शक्ति थिएन। मलाई त्यही नाम नै किन राखिदिए भनेर अहिले सोच्यो भने नामको अर्थ हुँदैन। अर्को राखिदिएको भए अर्कोले बोलाउँथ्यो,’पहिचानसँगको भिडियो कुराकानीमा पन्तले भनेका थिए,‘अहिले आएर गुरुले दिनु भएको नाम कश्यप हो।’

सोच्ने शक्ति नहुँदा राखिदिएको नामको अर्थ नहुने बताएका भिक्षु कश्यप अहिले भिक्षु छैनन्। पहिलो संविधान सभाका सदस्य पन्त अहिले गुमनाम छन्।

संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिलाई पुरुष र महिला सरह समान अधिकारको व्यवस्था गरिएको छ। संविधान जारी भएको सात वर्षपछि विद्यालयका कक्षा कोठामा लैङ्गिकता र यौनिकताको पनि पढाइ हुन थालेको छ। संविधान जारी भएपछि पन्तले शिक्षक शिक्षिकालाई प्रशिक्षक प्रशिक्षण तालिम पनि सञ्चालन गरेका थिए।

शिक्षा ऐनमा एलजीबीटीआईक्यू

शिक्षा मन्त्रालयले सङ्घीय शिक्षा ऐन र नियमावलीको मस्यौदामा बालबालिका एक आपसमा, शिक्षक र विद्यार्थी, अभिभावक, शिक्षक र विद्यार्थीबिच लिङ्गको आधारमा भेदभाव गर्न नपाइने राखिएको छ। ‘महिला, दलित, जनजाति, अपाङ्ग, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई भेदभाव गर्न पाइने छैन,’मन्त्रालयको प्रारम्भिक बाल शिक्षा तथा पोषण शाखाकी अधिकृत रमा अर्याल पन्थीले पहिचानसँग भनिन्,‘६ थरीका हुन्छन् भन्या छन्,टेक्निकल वर्डहरू नबुझिने, सुन्दा कस्तो लाग्ने,विभिन्न भेराइटी रैछ।’

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको विषयमा पाठ्यक्रममा राख्न, विद्यालयले आचारसंहिता बनाउँदा ध्यान दिन र ऐन नियमावलीमा सम्बोधन गर्न मन्त्रालयले काम गरिरहेको उनले बताइन। ‘२०८० सम्म नयाँ करिकुलम लागू हुन्छ,’उनले भनिन्,‘पाठ्यक्रममा राखिएको छ,सङ्घीय शिक्षा ऐन र नियमावलीको मस्यौदामा पनि राखिएको छ।’

मन्त्रालयले शाखालाई प्रारम्भिक बाल विकास शिक्षाको नीति तर्जुमा तथा कार्यक्रम समन्वय गर्ने, प्रारम्भिक बाल शिक्षासँग सम्बन्धी नीति, नियम, निर्देशनको व्यवस्था गरी कार्यान्वयन गराउने, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूसँग समन्वय गर्ने, बाल शिक्षा अध्यापन गर्ने शिक्षकहरूको सेवा, सर्त सुविधा सम्बन्धी सहित १४ वटा कार्यादेश दिएको छ। कार्यादेश अनुसार नीति बनाउने र लागू गर्ने काम भइरहेको पन्थीले बताइन।

उनका अनुसार देशभरका ३० हजार विद्यालयका ३० लाख विद्यार्थीले दिवा खाजा दिने गरिएको छ। कर्णालीका पाँच जिल्लाका विद्यार्थी दैनिक दिवा खाजामा २० रुपैयाँ र ७२ जिल्लाका विद्यार्थीलाई १५ रुपैयाँका दरले दिवा खाजा कार्यक्रम लागू भएको पन्थीले जानकारी दिइन। दिवा खाजा कक्षा ८ सम्मका विद्यार्थीलाई दिने गरिएको छ। हरेक विद्यालयमा निःशुल्क स्यानेटरी प्याड वितरण भएको उनले जानकारी दिइन।

सम्पादक : स्वास्थ्य तथा शारीरिकलाई स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला सच्याइएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.