चुनाव

संसद् छिर्ने विश्वप्रकाशको तेस्रो प्रयास

संसद् छिर्ने विश्वप्रकाशको तेस्रो प्रयास

झापा : नेपाली राजनीतिमा चर्चामा रहेका विश्वप्रकाश शर्मा संसदीय अभ्यासका लागि संसद् छिर्ने तेस्रो परीक्षामा छन्। २०७० र २०७४ का दुई निर्वाचनमा वामपन्थी नेतासँग प्रतिस्पर्धा गरेका शर्मा तेस्रो पटक एमालेका अग्नि खरेलसँग चुनावी प्रतिस्पर्धामा छन्।

उनी यो पटक संसद् छिरेर शासकीय सुधारदेखि प्रशासकीय प्रणाली सुधार गर्ने अठोटका साथ निर्वाचन होमिएका बताउँछन्। दुई पटक चुनावी मैदानमा होमिँदा मत जित्न नसके पनि सामाजिक, मानवीय तथा विकासमा खेलेको भूमिकाका कारण मन जितिरहेका शर्मा युवालाई सकारात्मक सन्देश प्रवाह गर्ने उत्प्रेरकका रूपमा चिनिएका छन्।

वाक क्षमतामा अब्बल रहेका शर्माको अब संसद्मा छिरेर नेपालको प्रशासकीय प्रणालीको सुधार गर्ने लक्ष्य छ। साथै किसान, मजदुरलगायत जनताका दैनिक आवश्यकतासँग जोडिएका आधारभूत कुराहरूको सुनिश्चित गरेर विकास निर्माणका काम गर्ने उनको ध्येय छ। त्यसैका लागि तेस्रो पटक चुनावी मैदानमा छन् शर्मा।

उनले राजनीतिमा परिवर्तन र नेतृत्व पुस्तान्तरण हुनुपर्ने आवाज बुलन्द बनाउँदै आएका छन्। सोही अनुसार भावी प्रधानमन्त्रीका रूपमा शर्माले युवा नेता गगन थापालाई प्रस्ताव गर्ने सार्वजनिक गरिसकेका छन्।

एक लाख २० हजार ३७५ मतदाता रहेको झापा–१ मा स्थानीय चुनावमा एमालेका वडाध्यक्षहरूको ३१ हजार २३२ मत छ भने काँग्रेसका वडाध्यक्षहरूले २४ हजार ५९ मत प्राप्त गरेका छन्।

झापा–१ मा एमाले–राप्रपा गठबन्धनसँग ३७ हजार १५४ मत छ भने सत्ता गठबन्धनसँग २९ हजार ४७८ मत छ। यो क्षेत्रमा उम्मेदवारी दर्तापछि भने राप्रपा विभाजित बनेको छ। प्रदेश सभाको क्षेत्र ‘२’ पाएको राप्रपाबाट सविना बजगाईँ उम्मेदवार बनेकी छन् भने टिकट नपाएपछि राप्रपाका पुराना नेता कल्याण खड्काले राप्रपा नेपालबाट उम्मेदवारी दिएका छन्।

अघिल्लो निर्वाचनमा पनि शर्माले काँग्रेसले स्थानीय चुनावमा प्राप्त गरेको भन्दा लगभग ९ हजार बढी मत ल्याएका थिए। पटक पटक पराजित भए पनि मतदातासँग निरन्तर जोडिरहेका कारण यो पटक समर्थक पार्टी इतरको पनि सहानुभूति मत प्राप्त हुने शर्माको विश्वास छ। २०५६ र २०६४ को चुनावबाहेक क्षेत्र नं. १ एमाले जित्दै आएको क्षेत्र हो। एमाले र माओवादी एक भएपछि २०७४ मा माओवादीका राम कार्की निर्वाचित भएका थिए।

स्थानीय तह निर्वाचनका क्रममा काँग्रेसभित्र मेचीनगर पालिकाको प्रमुखको टिकट वितरणमा देखिएको समस्या नै एमालेले खरेलको जितको आधार ठानेको छ। स्थानीय तहको तिक्तता अन्त्य भैसकेको काँग्रेसको दाबी छ। जनप्रतिनिधि नहुँदै पनि विश्वप्रकाशले गरेको कामको कारण यो पटक मतदाता शर्माप्रति आकर्षित भएको काँग्रेस नेता दिनेश थापा बताउँछन्।

पार्टीभित्रको आन्तरिक कमजोरी खोज्दै उम्मेदवार, नेता र कार्यकर्ताबिच अविश्वास उत्पन्न गराएर फाइदा लिने प्रतिपक्षी एमालेको रणनीति कति सफल हुने हो हेर्नका लागि मतपरिणाम भने कुर्नै पर्ने हुन्छ। झापा क्षेत्र नं.–१ मा शर्मा र खरेलसहित १५ जना चुनावी प्रतिस्पर्धामा छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.