चुनाव

धनुषा–२ मा ३ जना पूर्वमन्त्रीको भिडन्त

धनुषा–२ मा ३ जना पूर्वमन्त्रीको भिडन्त

काठमाडौं : दुई चर्चित राजनीतिकर्मी विमलेन्द्र निधि र राजेन्द्र महतोका बीचमा प्रतिस्पर्धा हुने भएपछि २०७४ सालको चुनावमा सबैको चासो बनेको थियो धनुषा क्षेत्र नम्बर ४। तर अहिले धनुषा–४ मा २०७४ सालका न त निधि प्रतिस्पर्धामा छन् न त महतो नै। निधि समानुपातिकतर्फ उम्मेदवार बनेका छन् भने महतो सर्लाही २ मा चुनावी मैदानमा छन्। तर २०७४ सालको चुनावको जस्तै सबैको चासोको केन्द्र यो पटक धनुषा–२ बनेको छ।

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा धनुषाको क्षेत्र नम्बर २ राजनीतिक दलहरू गठबन्धन बेगर नै चुनावी मैदानमा छन्। नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी सत्तारूढ गठबन्धनमा छन्। सरकारमा रहेको जसपा र विपक्षी एमालेबिच चुनावी तालमेल छ। तर, धनुषा २ मा भने तालमेलका कुनै दृश्य देखिएका छैनन्।

चार वटा पार्टीले आ–आफ्ना उम्मेदवार मैदानमा उतारेपछि कसले बाजी मार्ला भन्ने अड्कलबाजी सुरु भएको छ। उम्मेदवारहरूले आफूहरूबिच मित्रवत् प्रतिस्पर्धा हुने बताएका छन्।

अर्कोतर्फ यो क्षेत्रमा ३ जना पूर्वमन्त्रीका बीचमा भिडन्त हुँदै छ। सत्ता गठबन्धनका दुई घटकमध्ये नेपाली काँग्रेसबाट रामकृष्ण यादव र नेकपा एकीकृत समाजवादीबाट रामचन्द्र झा उम्मेदवार छन्। त्यस्तै एमालेका तर्फका उम्मेदवार बनेका उमाशङ्कर अरगरिया पनि पूर्वमन्त्री हुन्। नेपाली काँग्रेसका रामकृष्ण यादव बाहेकका सबै पार्टीका उम्मेदवार विभिन्न दल परित्याग गरेर नयाँ दलबाट उम्मेदवार बनेका हुन्।

एकीकृत समाजवादीबाट उम्मेदवार बनेका रामचन्द्र झा कुनै समय नेकपा एमालेका नेता हुन्। उनी नेकपा माओवादी केन्द्र हुँदै अहिले नेकपा एकीकृत समाजवादीमा छन्। त्यस्तै एमालेबाट उम्मेदवार बनेका उमाशङ्कर अरगरिया गत असोज ८ गते लोकतान्त्रिक समाजवादी पार्टी लोसपा परित्याग गरेर एमालेमा प्रवेश गरेका हुन्।

उनी धनुषा २ बाट एमालेको टिकट पाउने आश्वासनसहित एमालेमा प्रवेश गरेका थिए। त्यस्तै जनता समाजवादी पार्टी (जसपा) ले गङ्गाराम यादवलाई उम्मेदवार बनाएको छ। एमालेले टिकट दिने सर्तमा अरगरियालाई भित्र्याएपछि उनी जसपा प्रवेश गरेका थिए।

रामचन्द्र झा पक्षको दाबी

गत स्थानीय तह निर्वाचनको परिणामले संसदीय निर्वाचनमा प्रभाव नपर्ने नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामचन्द्र पक्षको जिकिर छ। झा पक्षले जितको लागि रामचन्द्र झाको नामै काफी रहेको दाबी गर्ने गरेका छन्। जनताको समर्थन नै आफूहरूको जितको प्रमुख आधार रहेको उनीहरूको भनाइ छ।
एकीकृत समाजवादीका नेताहरूले यस क्षेत्रको विकास निर्माणमा झाको ठुलो योगदान भएकाले धेरै उम्मेदवारका बीचमा निष्कलङ्क, विकास निर्माणमा धेरै काम गरेको र जनताका कुरा राख्दै आएको व्यक्ति भएकाले जित सहज हुने बताउँछन्।

ती कार्यकर्ताले भने, ‘२०४६ सालको आन्दोलनदेखि हरेक लोकतान्त्रिक आन्दोलनमा उहाँले महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ। विकास निर्माणका काममा पनि मन्त्री भएका बखत काम गर्नुभएको छ। त्यसैले जनतामा चिनाइराख्नु पर्दैन।’ २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा विजयी भएका उनी त्यसपछि लगातार दुई पटक पराजित भए। झा दोस्रो संविधान सभा निर्वाचनमा यहाँबाट काँग्रेसका दिनेश प्रसैलासँग पराजित भए।

उमाशङ्कर अरगरिया २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा विजयी भए। उनी पक्षका नेता कार्यकर्ता ५ वर्षको कामको मूल्याङ्कन गरेर जनताले जिताउने दाबी गर्दछन्। उमाशङ्कर निकट नेता कार्यकर्ता ४० वर्षमा नभएको काम उनले यो पाँच वर्षमा गरेको दाबी गर्दछन्। अरगरियाले लोसपा त्यागेर एमालेमा प्रवेश गर्दा एमाले प्रवेशको लहर आएको दाबी गरेका छन्।

अरू दल त्यागेर हजारौँ नेता र कार्यकर्ता एमाले प्रवेश गरेका कारण अरगरियाले चुनाव जित्ने एमाले कार्यकर्ताहरूको दाबी छ। अरगरियाले आफू भ्रष्टाचारविरुद्धको आन्दोलनबाट आएको र त्यो सिलसिला अझै जारी रहेको बताए। धनुषा–२ मा आफ्नो क्रेज र एमालेको सङ्गठन नै जितको आधार भएको उनको भनाई छ।

रामकृष्णको आफ्नै तर्क

काँग्रेस नेता रामकृष्ण यादव धनुषा २ बाट प्रतिनिधिसभा सदस्य हुनेमा आफू ढुक्क रहेको बताउँछन्। अघिल्लोपटक मधेस केन्द्रित दलहरूले पाएको मत र यसपटक सम्पन्न स्थानीय तह निर्वाचनको आँकडामा देखिएको परिवर्तन भएको उनको भनाई छ। मधेस आन्दोलनको रापतापमा भएको अघिल्लो निर्वाचन र अहिलेको परिस्थितिमा धेरै अन्तर आइसकेको उनको भनाइ छ।

रामकृष्णले भने, ‘अघिल्लोपटक मधेस आन्दोलन लगत्तै चुनाव भयो, माहौल फरक थियो। त्यतिबेला चुनाव जितेकाहरू पटक–पटक दल परिवर्तन गरिसकेका छन्। त्यसलाई आधार बनाएर दाबी गर्नु उपयुक्त हुँदैन। हालै सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम हेर्नुपर्ने हुन्छ। स्थानीय तहको मत परिणाम अनुसार पनि काँग्रेसलाई जीत निकाल्न कुनै कठिन छैन।’ रामकृष्णले समेत बलियो सङ्गठन र विगतमा गरेको कामको आधारमा आफू विजयी हुने दाबी गरेका छन्।

जसपाको जिकिर

एमाले परित्याग गरेर हालै जसपा प्रवेश गरेका गङ्गारामले पनि विगतमा गरेको काम र स्वच्छ छविका आधारमा जसपाले जित निकाल्ने जसपा नेताहरूको दाबी छ। जसपा नेताहरूका अनुसार यो क्षेत्रमा लोसपाको उम्मेदवार नभएका कारण लोसपाको मत पनि गङ्गारामलाई आउने छ। माओवादी केन्द्रका उम्मेदवार नभएकाले उनीहरूलाई जाने मत विभाजित हुँदा आफूहरूलाई फाइदा हुने जसपा नेताहरूको भनाइ छ।

जनमत

२०७४ सालको प्रतिनिधिसभा निर्वाचन तत्कालीन सङ्घीय समाजवादी फोरमबाट ३२ हजार ४४ मतका साथ उमाशङ्कर विजयी भएका थिए। त्यतिबेला तत्कालीन राष्ट्रिय जनता पार्टी र सङ्घीय समाजवादी फोरमबिच गठबन्धन थियो। बामगठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका रामचन्द्रले १८ हजार ७१५ मत पाएका थिए। काँग्रेसबाट रामकृष्ण यादव १५ हजार ४४२ मतका साथ पाएर तेस्रो स्थानमा थिए।

गत स्थानीय निर्वाचनको ४४ वटै वडाको मत जोड्दा जसपाभन्दा काँग्रेसको मत झन्डै साढे सात हजारले बढी छ। काँग्रेसले २१ हजार २३२ र जसपाले १३ हजार ८८९ मत पाएका थिए। तेस्रोमा एमालेले ११ हजार ५८३, चौथोमा माओवादी केन्द्रले १० हजार ७९४, पाँचौँमा एकीकृत समाजवादीले ८ हजार ९९७ मत पाएका थिए। सबैभन्दा कम लोसपाले ६ हजार ७१३ मत पाएको थियो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading