नयाँ सरकार

सरकार गठनमा समानुपातिककै भर, प्रत्यक्षमा पुगेन बहुमत

सरकार गठनमा समानुपातिककै भर, प्रत्यक्षमा पुगेन बहुमत

काठमाडौं : प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भएको छ। मङ्सिर ४ मा भएको मतदान बदर गरी १० वटा केन्द्रमा पुन मतदान गराइएको दोलखामा प्रत्यक्षतर्फको गणना सकिएको छ।

५७ निर्वाचन क्षेत्रमा जित हात पारेको नेपाली काँग्रेस संसद्को ठुलो दल बन्ने भएको छ। ४४ क्षेत्रमा जित हात पारेको नेकपा एमाले दोस्रो र १८ क्षेत्रमा जित हात पारेको नेकपा माओवादी केन्द्र तेस्रो दल बन्ने भएको छ।

२०७९ असारमा मात्रै गठन भएको रबी लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी संसद्मा चौथौँ दल बन्दा एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादी राप्रपा भन्दा पनि सानो दल बन्ने भएको छ। प्रत्यक्ष तर्फ भने समाजवादीले आफूलाई चौथो दलको रूपमा उभ्याएको छ।

समाजवादीले १० निर्वाचन क्षेत्रमा जित हात पारेको छ। जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान ७/७ निर्वाचन क्षेत्रमा जित निकालेका छन्।

लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले १/१ निर्वाचन क्षेत्रमा जित निकाल्दा दल विनाका ५ जना स्वतन्त्रले बाजी मारेका छन्।

मतगणना सुरु गर्न नै विवाद भएका स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा काँग्रेसका उपसभापति समेत रहेको धनराज गुरुङ एमालेकी पद्मा अर्याललाई पराजित गरेर निर्वाचित भए। बाजुरामा काँग्रेसका सहमहामन्त्री बद्री पाण्डे एमालेकै कर्ण थापालाई पराजित गरेर निर्वाचित भए।

दोलखामा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका गङ्गा कार्की विजयी भएका छन्। उनले पनि एमालेका बालकृष्ण सिवाकोटीलाई ३१७ मतान्तरले मात्रै पराजित गरेका हुन्। कार्कीले ३६ हजार ७९९ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी सिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गरेका छन्।

सर्वदलीय बैठकमा समानुपातिकको मतपेटिकामा प्रत्यक्षतर्फको गणना गर्ने सहमति भएको छ। समानुपातिक तर्फ पनि दोलखा जिल्लाको मात्रै गणना हुन बाँकी छ।

समानुपातिकमा एमाले पहिलो

निर्वाचन आयोगले समानुपातिक तर्फ १ करोड ४ लाख २० हजार १२५ गणना भइसकेको जनाएको छ। गणनामा पाँच प्रतिशत मत बदर भएको आयोगले जनाएको छ। आयोगले मतगणनाको विवरण मङ्सिर २६ सम्म राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने बताएको छ।

समानुपातिक तर्फको गणनामा २७ लाख ८८ हजार ३५६ मत ल्याएर एमालेले लोकप्रिय मत पाएको छ। काँग्रेसले २६ लाख ६० हजार ४२६ मत पाएको छ। माओवादी केन्द्रले ११ लाख ६२ हजार १२४ पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख २४ हजार ५४३ मत ल्याएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ६३८, जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९४६ र जनमत पार्टीले ३ लाख ९४ हजार ५२३ मत ल्याएर समानुपातिक तर्फको थ्रेस होल्ड कटाएको छ। २ लाख ९४ हजार ३६२ मत पाएर पनि थ्रेस होल्ड कटाउन नसकेको एकीकृत समाजवादी पार्टी राष्ट्रिय पार्टी नबन्ने देखिएको छ।

बहुमत नपुग्ने

२७५ सदस्यीय प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ चुनावी गठबन्धन गरेका काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाले ९० सांसद पाएका छन्।

एमाले, जसपा, राप्रपा र राप्रपा नेपालको गठबन्धनले ५८ सांसद पाएको छ। चुनावी परिणामसँगै जसपाका अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको सहकार्य सकिएको घोषणा गरेका छन्।

जसपा सत्ता गठबन्धनमै फर्कन माओवादी केन्द्रसँगको छलफल जुटिसकेको छ। त्यसो हुँदा एमालेसँग राप्रपाको ७ सिट मात्रै बाँकी रहन्छ। जसपा गठबन्धनमा फर्कँदा पनि प्रत्यक्षतर्फको सङ्ख्या सरकार गठनका लागि पुग्दैन। सरकार गठनका लागि १३८ सांसद आवश्यक पर्छ।

समानुपातिकको नतिजापछि बहुमत पुग्ने भन्दै सरकार गठनमा सत्ता गठबन्धन छलफलमा जुटिसकेको छ। एमाले छलफलका निर्णय कुरेर बसेको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.