पत्रकार

‘समाचार लेखेकै कारण जब बयान दिन जानु पर्‍यो’

‘समाचार लेखेकै कारण जब बयान दिन जानु पर्‍यो’

काठमाडौं : पञ्चायती व्यवस्थाले लागू गरेको नयाँ शिक्षा योजनामा ‘क्रिटिकल आर्टिकल’ लेख्दा स्पष्टीकरण बुझाउनु पर्‍यो। २०२८ सालमा लागू गरिएको राष्ट्रिय शिक्षा पद्धति योजना नियन्त्रित भएको लेख लेखेकै कारण पत्रकार हरि लम्सालले सूचना विभागलाई स्पष्टीकरण बुझाए। अञ्चलाधीशलाई बयान दिए।

तत्कालीन पञ्चायती शासन व्यवस्थामा सरकारविरुद्ध लेख्न बोल्न प्रतिबन्ध जस्तै थियो। त्यतिवेलाका पत्रकार लम्साल सूचना विभाग स्पष्टीकरण माग्ने र अञ्चलाधीशले बयान लिने गरेको सुनाउँछन्।

स्याङ्जा वलिकोट चिन्नेवासमा जन्मिएका लम्सालका बुबा सरकारी जागिरे थिए। स्वर्गीय वीरेन्द्र वीर विक्रम शाहदेवको क्षेत्रीय भ्रमणमा बुबासँगै हुने हुँदा लम्सालले देशका सबै जिल्ला घुम्ने अवसर पाए। त्यति मात्रै होइन, पञ्चायती शासनविरुद्ध क्रिटिकल आर्टिकल लेखेका कारण अरूले जस्तो उनले जेल पर्नु परेन। अञ्चलाधीश कार्यालयमा बुबा हुँदा लम्सालले लेख्न डराउनु पर्ने थिएन।

काठमाडौँको शान्ति शिक्षा मन्दिरमा १ देखि ४ र दरबार हाइस्कुलमा ६ देखि १० कक्षा अध्ययन गरेका उनले २०३८ सालमा त्रिभुवन विश्वविद्यालयबाट एमए उतीर्ण गरे। उनले २०२६ सालदेखि पत्रकारिता थालेका हुन्। निर्मल साप्ताहिकबाट सुरु उनको पत्रकारिता हाल सञ्चालनमा रहेको राष्ट्रबाणी अनलाइनसम्म निरन्तर छ।

२००६ साल फागुन १५ गते खास उनको जन्म हो। नागरिकतामा जन्मेको मिति माघ २ गते छ। २०१३ सालमा काठमाडौँको क्षेत्रपाटीमा बस्दै आएका लम्सालका बुबा गण्डकी अञ्चलाधीश कार्यालयबाट रिटायर्ड भए।

निर्मल साप्ताहिकबाट पत्रकारिता थालेका लम्साल भने २०२८ देखि २०३० सम्म प्रतिज्ञा साप्ताहिकमा काम गरे। २०३० देखि ०३९ सम्म राष्ट्र ध्वनिको सम्पादक बने। अहिले उनी राष्ट्र वाणी अनलाइनमा सम्पादकीय लेखिरहन्छन्।

क्षेत्रपाटी धोविचौरमा बुबा बालकृष्णले किनेको जग्गा विक्री गरेर लम्साल परिवार अहिले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० आकाशेधारा कपनमा बस्दै आएको छ। उनका श्रीमती दुई छोरा विकास र विशालसँगै दुई छोरी प्रगति र उन्नति छन्।

तत्कालीन पत्रकार सङ्घलाई स्वर्गीय राजा वीरेन्द्रले ललितपुरको पाटनमा डेढ रोपनी जग्गा बक्सेका थिए। जग्गा विक्री गरेर भागबन्डा गर्ने मन्जुरत्न शाक्यको प्रस्ताव लम्सालले अस्वीकार गरे। सङ्घबाट अलग नै भए। अहिलेको पुनरावेदन अदालत भएको ठाउँमा पत्रकार सङ्घले जग्गा पाएको लम्साल सुनाउँछन्।

अनेक यातना सहित व्यवस्था परिवर्तनका लागि कलम चलाएका उनै लम्सालको अवस्था भने कमजोर बन्दै गएको छ। उनी अहिले दम र निमोनियाका बिरामी छन्। पछिल्लो पटक उनको उपचारमा सात लाख रुपैयाँ खर्च भएको श्रीमती मञ्जु लम्साल बताउँछिन्।

२०५८ सालमा नेपाल पत्रकार महासङ्घ काठमाडौं जिल्लाको सभापति बनेका लम्साल दुईचार दिन थुनिएको हिसाब सुनाउन चाहँदैनन्। भन्छन्,‘समाचारमा स्पष्टीकरण र बयान लिए पनि आराम गर्नुहोस् भन्थे,माया गर्थे।’

उनले २०३१ सालमा नेपाली पत्रपत्रिका केही विवेचना प्रकाशित गरे। २०३९ सालमा राष्ट्र ध्वनि शान्ति क्षेत्र विशेषाङ्क निकालेका लम्साल पछिल्लो एक महिनादेखि स्वास्थ्यका कारण सम्पादकीय लेख्न सकिरहेका छैनन्। ‘लेख्ने उत्साह कम भएको छैन,’उनी भन्छन्,‘पहिलेको जस्तो आनन्द भने आउँदैन।’

पत्रकारितामा आनन्द आउने उ बेलाको मज्जा अहिले हराउँदै गएको उनी सुनाउँछन्। २०२८ सालको नयाँ शिक्षा योजनाको लेखले स्पष्टीकरण र बयान दिनु परेको बताउने लम्साल अहिलेको पत्रकारितामा आनन्द देख्दैनन्।

अहिले उनै पत्रकार बिरामी भएर नर्भिक अस्पतालमा उपचार गराइरहेका छन्। ७३ वर्षका लम्सालको स्वास्थ्यमा सुधार आइरहेको छ। तर अस्पतालमा लागेको शुल्क बुझाउन भने कठिन परेको परिवार बताउँछन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.