अबको संसद्

समानुपातिकको सिट बाँडफाँड, गण्डकीमा माधव नेपालको पार्टी शून्य

समानुपातिकको सिट बाँडफाँड, गण्डकीमा माधव नेपालको पार्टी शून्य

काठमाडौं : निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरूले पाएको मतका आधारमा सिट बाँडफाँड गरेको छ। प्रतिनिधि सभा र प्रदेश सभामा दलहरूले पाएको मतका आधारमा सिट बाँडफाँड गरेर आयोगले पत्र पठाएको छ।

आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) सङ्ख्या निर्धारण गरी सम्बन्धित राजनीतिक दललाई बुधवार पत्र पठाएको जनाएको छ। दलहरूलाई जवाफ पठाउन आयोगले तीन दिनको समय दिएको छ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगमा रहेको समानुपातिक निर्वाचन प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा र सातै वटा प्रदेशसभाका लागि उक्त प्रणालीअन्तर्गत राजनीतिक दलहरूले प्राप्त गरेको मतसङ्ख्या, प्रतिशत र सिट सङ्ख्या निर्धारण गरी कम्तीमा एक तिहाइ महिला प्रतिनिधित्व हुने गरी सिफारिस गर्न पत्र पठाइएको हो।

थ्रेसहोल्ड कटाउने दलले समावेशी समूह मिलाएर बन्दसूचीमा रहेका मध्येबाट नाम सिफारिस गर्नुपर्नेछ। दलहरूबाट नामावली सिफारिस भइसकेपछि आयोगले यही मङ्सिर २६ गतेभित्रमा निर्वाचन परिणामको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने तयारी गरेको छ।

सात दलले मात्रै कटाए ‘थ्रेसहोल्ड’, समाजवादी बनेन राष्ट्रिय दल

प्रतिनिधिसभा तर्फ एमालेले सबैभन्दा बढी ३४, काँग्रेसले ३२, माओवादी केन्द्रले १४, राप्रपाले ७, जसपा र जनमत पार्टीले ५÷५ सिट पाएका छन्। पहिलो पटक चुनावमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट प्राप्त गरेको छ।

प्रदेशमा एमाले पहिलो, काँग्रेस दोस्रो

दुई प्रदेशमा काँग्रेस र एमालेले बराबर सिट पाएका छन्। ७० सिट पाएर एमाले पहिलो बनेको छ भने ६४ सिट पाएर काँग्रेस दोस्रो दल बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशमा उम्मेदवारी नै दिएको थिएन।

एमालेले प्रदेश १ मा १५, मधेसमा ८, बागमतीमा १४, गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ गरेर ७० सिट पाएको छ। मधेस प्रदेशमा पहिलो बनेको काँग्रेसले प्रदेश १ मा १२, मधेसमा ९, बागमतीमा १२, गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ गरेर ६४ सिट पाएको छ।

माओवादी केन्द्रले प्रदेश १ मा ४, मधेसमा ४, बागमतीमा ७, गण्डकीमा ३, लुम्बिनीमा ४, कर्णालीमा ४ र सुदूरपश्चिममा ३ गरी २९ सिट पाएको छ।
राप्रपाले प्रदेश नम्बर १ मा ४, बागमतीमा ६, मधेस, कर्णाली र सुदूरपश्चिममा एक एक तथा गण्डकी र लुम्बिनीमा दुईदुई गरी १७ सिट पाएको छ। नेमकिपाले बागमती प्रदेशमा मात्रै २ सिट पाएको छ।

एकीकृत समाजवादी पार्टी गण्डकी, जसपा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा निल भएको छ। एकीकृत समाजवादीले प्रदेश नम्बर १ मा १, मधेसमा ३, बागमतीमा २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा एकएक गरी ९ सिट पाएको छ। जसपाले प्रदेश १ मा १, मधेसमा सात र लुम्बिनीमा १ गरी ९ सिट पाएको छ।

पहिलो पटक चुनावमा सहभागी जनमत पार्टीले मधेसमा ७ र लुम्बिनीमा २ गरी ९ सिट पाएको छ। लोसपाले मधेसमा २ र लुम्बिनीमा १ गरी ३ सिट पाएको छ। राष्ट्रिय जनमोर्चाले लुम्बिनीमा एक सिट पाएको छ भने हाम्रो नेपाली पार्टीले बागमतीमा एक सिट मात्रै पाएको छ।

समानुपातिकतर्फको मत गणनामा सबैभन्दा बढी मधेस र लुम्बिनी प्रदेशमा १०/१० दलले थ्रेसहोल्ड कटाएका छन्। सबैभन्दा कम गण्डकी प्रदेशमा ४ दलले मात्रै थ्रेस होल्ड कटाएर सिट पाएका छन्। बागमतीमा ७, प्रदेश नम्बर १, सुदूरपश्चिममा ६/६ र कर्णालीमा ५ दलले थ्रेसहोल्ड कटाएका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.