अबको संसद्

समानुपातिकको सिट बाँडफाँडसँगै रबीको पार्टीमा भाँडभैलो

समानुपातिकको सिट बाँडफाँडसँगै रबीको पार्टीमा भाँडभैलो

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिकतर्फ निर्वाचित हुने सांसदको नाम छनौट गर्न दलहरू छलफलमा जुटेका छन्।

समानुपातिकमा ३४ सांसद निर्वाचित गर्नुपर्ने एमालेले शुक्रवार दिउँसो १ बजेका लागि बैठक बोलाएको छ। उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगले समानुपातिक सांसदका लागि राजनीतिक दलहरूलाई पत्र पठाएसँगै सचिवालय बैठक बोलाएर समानुपातिक सांसदको निर्णय गर्न लागेको जानकारी दिए।

समानुपातिक सांसदको नाम बुझाउने अन्तिम दिन शनिवार काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। ३२ सिट पाएको काँग्रेसले २९ जना महिला सांसदको नाम पठाउनु पर्ने छ। काँग्रेसबाट प्रत्यक्षमा १ जना मात्रै महिला सिता गुरुङ विजयी भएकी छन्।

काँग्रेसको समानुपातिक तर्फ एक नम्बरमै रहेका नेताहरूलाई सांसद बनाउन सभापति शेरबहादुर देउवालाई सकस परेको छ। महिलाको प्रतिनिधित्व सुनिश्चित गराउनु पर्ने बाध्यात्मक व्यवस्थाले समानुपातिकको बन्दसूचीमा एक नम्बरमै नाम रहेका उम्मेदवार निर्वाचित हुन कठिन भएको छ।

काँग्रेसले शनिवार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बोलाएको बैठकमा समानुपातिक तर्फको नाम, संसदीय दलको नेता चुन्ने तालिका, सरकार गठन लगायतका विषयमा छलफल हुने जनाएको छ।

समानुपातिकतर्फ १४ सिट पाएको माओवादीलाई नाम छनौट गर्न सकस पर्ने देखिएको छ। आकाङ्क्षी धेरै हुँदा माओवादीलाई सांसद चुन्न सकस पर्ने देखिएको हो। समानुपातिकको सांसद बन्ने आकाङ्क्षीहरूको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा घुइँचो नै लाग्न थालेको छ।

रबीको पार्टीमा भाँडभैलो

पहिलो पटक सङ्घीय संसद्मा प्रवेश गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीमा भने भाँडभैलो सुरु भएको छ। समानुपातिकमा १३ सिट पाएको स्वतन्त्र पार्टीमा ‘प्राइमरी इलेक्सन’ बाट चुनिएकाहरू बन्ने कि नेतृत्वको तजबिज चल्ने भन्ने विवाद सतहमा आएको छ।

पार्टीका सुनसरी अध्यक्ष लालविक्रम थापाले समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवार प्राइमरी इलेक्सनबाट चुनिएर आएकाले जस्ताको तस्तै रहनु पर्ने बताएका छन्। पार्टी कार्यालयमै पुगेर उनले पहिलेको लिस्टमा तलमाथि नगर्न दबाब नै दिएका छन्।

काठमाडौँको पार्टी कार्यालयमा विरोध भइरहेको प्रश्न भरतपुर विमानस्थलमा पार्टी सभापति रवि लामिछानेलाई सोध्दा उनले खबरदारी गर्नु स्वाभाविक भएको प्रतिक्रिया दिए। उनले पार्टी भित्रको विवादलाई गज्जब भएको प्रतिक्रिया दिए।

निर्वाचन आयोगले ३ दिनको समय दिएर बन्दसूचीमा रहेका नामहरू मध्येबाट क्लस्टर मिलाएर पार्टीले प्राप्त गरेको सिटमा नाम पठाउन बुधबार पत्र पठाएको छ। समानुपातिक सूचीमा राखेका ११० नाम मध्येबाट ५ क्लस्टरमा नामहरू छुट्टाएर पार्टीको निर्णयसहित निर्वाचन आयोगलाई पठाउनुपर्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

सङ्घीय संसद्मा एक तिहाइ महिला सांसदको प्रतिनिधित्व हुने गरी नाम बुझाउनु पर्ने सहायक प्रवक्ता अर्यालले बताए। दलहरूले समानुपातिक सूचीमा समावेशी सिद्धान्त अनुसार नाम नबुझाएर चलखेल गर्न पाउने सम्भावना नरहेको अर्यालले उल्लेख गरे।

सरकार गठनमा दुई थरी मत

चुनावी परिणामसँगै सरकार गठनमा लागेका सत्ता गठबन्धन दलले बहुमत जुटाउन सकेका छैनन्। सरकार बनाउन आवश्यक पर्ने १३८ सांसद काँग्रेस, माओवादी गठबन्धनसँग अपुग हुने भएको छ। अरू दल थप गरेर बहुमत पुर्‍याउने रस्साकस्सीमा लागेका गठबन्धन दलहरूले नागरिक उन्मुक्ति देखि जनमत पार्टीसम्मका नेतासँग छलफल गरिरहेका छन्।

एमालेले भने पार्टी प्रतिपक्षमा बस्ने बताएको छ। प्रेस चौतारी नेपाल, चितवन शाखाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका हुन्। तत्काल वाम एकता पनि सम्भव नरहेको उपाध्यक्ष पाण्डेको भनाइ छ।

प्रत्यक्ष र समानुपातिक गरेर २० सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले भने सरकारमा जाने नजाने निर्णय गर्न सकेको छैन। स्वतन्त्र पार्टीको सुनसरी २ बाट प्रत्यक्ष चुनाव लडेका लालविक्रम थापाले अहिले पार्टीले पाएको म्यान्डेट प्रतिपक्षमै बस्नका लागि भएको बताए।

स्वतन्त्र पार्टीमा सरकारमा जान हुने र नहुने दुई थरी मतका कारण सभापति रबी लामिछानेलाई निर्णय सुनाउन सकस परेको छ।

लामिछानेले सरकारमा जाने विषयमा पार्टीले परिस्थितिको आकलन गरिरहेको बताए। नागरिकता विवादमा फसेका लामिछानेले आफ्नो नागरिकताको विषयमा अनुसन्धान भए जानकारी गराउन जाने जवाफ पनि दिएका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.