अबको संसद्

समानुपातिकमा पहुँचवालाकै राइँदाइँ, होलीवाइनदेखि नेताका श्रीमतीसम्मलाई अवसर

समानुपातिकमा पहुँचवालाकै राइँदाइँ, होलीवाइनदेखि नेताका श्रीमतीसम्मलाई अवसर

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभामा राजनीतिक दलहरूले समानुपातिकतर्फका सांसदको नाम निर्वाचन आयोगमा बुझाएका छन्।

समानुपातिकमा थ्रेसहोल्ड कटाएका दलहरूले प्रतिनिधिसभा र प्रदेशसभातर्फका समानुपातिक सांसदको नाम बुझाएका हुन्। दलहरूले बुझाएको समानुपातिकमा पहुँचवालाकै राइँदाइँ भएको छ।

सीमान्तकृत वर्गलाई राज्यको नीति निर्माण बनाउने तहमा समेट्न राखेको समानुपातिक व्यवस्थामा पहुँचवालाकै राइँदाइँ भएको हो। प्रत्यक्षमा चुनाव हारेका, सत्ता र शक्तिको वरिपरि रहेका, नेताका आफन्तले समानुपातिकको अवसर पाएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती समानुपातिक सांसद बन्न सफल भएका छन्। अघिल्लो चुनाव हारेका विमलेन्द्र निधी र डाक्टर प्रकाशशरण महत काँग्रेसबाट समानुपातिक सांसद बन्ने भाग्यमानी पुरुष बनेका छन्।

विवादास्पद धार्मिक सम्मेलन गरेर होलीवाइन खुवाएका एकनाथ ढकाल एमालेबाट समानुपातिक सांसद बन्न सफल भएका छन्। पञ्चायतदेखि रजगज गर्दै आएका पशुपति शमशेर राणा र बुद्धिमान तामाङ राप्रपाबाट समानुपातिक सांसद बनेका छन्।

सङ्घीय समाजवादी पार्टीले मधेस प्रदेशमा श्रीमान्को नाम हटाएर पार्टी अध्यक्षकी श्रीमतीलाई प्रदेश सांसद बनाएको भन्दै आफ्नो नाम कायम गर्न कमलेश्वर प्रसाद साहले पत्रकार सम्मेलन गरेर माग गरेका छन्।

एमालेमा होलीवाइनलाई मौका

समानुपातिक तर्फ पहिलो बनेको एमालेले २२ महिला र १२ पुरुष गरी ३४ जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ। होली वाइनले चर्चित परिवार दलका अध्यक्ष एकनाथ ढकाल एमालेको खस आर्यबाट सांसद बनेका छन्। १० भाइ मध्येका एक रघुजी पन्त पनि समानुपातिक सांसद बनेका छन्। प्रत्यक्षमा गोकर्ण विष्ट र योगेश भट्टराई निर्वाचित भइसकेका छन्।

खस आर्यतर्फ पन्त र ढकाल सहित दयालबहादुर शाही, मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दिपा शर्मा र सुनिता बराललाई एमालेले सांसद बनाएको छ।

आदिवासी जनजाति तर्फ रामबहादुर थापा बादलकी पत्नी नैनकला थापा मगर, देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, सूर्य कुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकी मगर, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा एमालेबाट समानुपातिक सांसद बनेका छन्।

एमालेले थारु महिलामा आश्माकुमारी चौधरी, शान्ति चौधरी, दलित तर्फ ईश्वरबहादुर रिजाल विक, प्रभु हजारा दुसाध, चन्द्रबहादुर विश्वकर्मा, रुक्मिणी राना बराइली र हर्कमाया विश्वकर्माको नाम बुझाएको छ।

मधेसीबाट गङ्गाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृतादेवी अग्रहरी, प्रतीक्षा तिवारी मुखिया र मुस्लिम तर्फ सराज अहमद फारुकी समानुपातिक तर्फबाट सांसद बनेका छन्।

एमालेले पार्टी विरोधी गतिविधि गरेको आरोपमा स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु शाहलाई पार्टीबाट निकालेको छ। केन्द्रीय कमिटी सदस्य उपेन्द्र शाह, कुन्दन कुशवाह, रामप्रित राम, बद्री न्यौपाने, रिता शाह, टेक बहादुर बलम्पाकी र गङ्गा चौधरीलाई पनि एमालेले निष्कासन गरेको छ।

काँग्रेस तीन भाग्यमानी पुरुष

काँग्रेसमा समानुपातिक तर्फ २९ जना महिला छनौट हुँदा तीन जना पुरुष भाग्यमानी सांसद बनेका छन्। प्रवक्ता डाक्टर प्रकाशशरण महत, पूर्व उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री जीवन परियार सांसद बनेका छन्।

आदिवासी जनजातिको एक नम्बरमा रहेका पूर्वउपसभापति गोपालमान श्रेष्ठ आउट भएका छन्। काँग्रेसले आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लीलादेवी बोखिम, सिता कुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचनलाई सांसद बनाएको छ।

खस आर्यतर्फ प्रधानमन्त्री देउवा पत्नी आरजु राणा देउवा, गृहमन्त्री पत्नी मञ्जु खाँण, अम्बिका बस्नेत, सरिता प्रसाईँ, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, रमा कोइराला पौडेल, कान्तिका सेजुवाल, मैना रावल कार्की र प्रकाश शरण महत समानुपातिक सांसद बनेका छन्।

मधेसी तर्फ नागिना यादव, मुक्ता कुमारी यादव, चन्दा चौधरी, सङ्गीता मण्डल, निनुकुमारी कर्ण र विमलेन्द्र निधि, दलित तर्फ शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक र जीवन परियार काँग्रेसबाट समानुपातिक सांसद बनेका छन्।

काँग्रेसले थारु तर्फ कल्पना चौधरी, विना कुमारी थनेत र मुस्लिम तर्फ जावेदा खातुन् जागालाई सांसद बनाउन निर्वाचन आयोगमा नाम बुझाएको छ।

माओवादीमा बाबुरामलाई भाग

समानुपातिकतर्फ १४ सिट पाएको माओवादी केन्द्रले डाक्टर बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादीबाट एक जनालाई सांसद बनाएको छ। माओवादीले १२ जना महिला र २ जना पुरुष सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ।

पुरुष तर्फ रणेन्द्र बराली र हितराज पाण्डे समानुपातिक सांसद बन्ने भएका छन्। महिला तर्फ दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्यामु लामा तामाङ, ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी शर्मा, रुपा सोसी चौधरी, सुशीला श्रीपालि ठकुरी, मिना यादव, उमरावती देवी यादव र कल्पना मियाँलाई समानुपातिक सांसद बनाएको छ।

पार्टी प्रवक्तालाई अवसर

पहिलो पटक प्रतिनिधिसभा चुनावमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको १३ सिटमा पार्टी प्रवक्ता मुकुल ढकालले सांसद बन्ने अवसर पाएका छन्। आदिवासी जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ सांसद बनेका छन्।

खस आर्यबाट डा. चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, विनीता कठायतलाई स्वतन्त्र पार्टीले सांसद बनाएको छ। दलितबाट सन्तोष परियार र शिव नेपाली सांसद बन्नेछन्।

मधेसीबाट लक्ष्मी तिवारी र मनिष झा, थारुबाट अशोक चौधरी र मुस्लिमबाट असीम साह सांसद बन्नेछन्। ७ सिट पाएको राप्रपामा भने दुई जना पुरुषमा पशुपति शमशेर जबरा र बुद्धिमान तामाङले बाजी मारेका छन्।

प्रकाशचन्द्र लोहनीलाई पछाडि पारेर राणा र तामाङले बाजी मारेका हुन्। महिला तर्फ रोशनी कार्की, गीता बस्नेत, बिना लामा, बिना जैसवाल, अनिता नेपाली सांसद बनेका छन्।

जनता समाजवादी पार्टीले समानुपातिक तर्फ पाएको पाँच सिटमा प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, रेखा यादव, रञ्जु ठाकुर र सहनाज रहमानलाई सांसद बनाएको छ।

जनमत पार्टीले अनितादेवी साह, सोनु मुर्मु, विनीताकुमारी सिंह, गोमा सापकोटा र अब्दुल खानलाई समानुपातिक सांसद बनाएको छ।

निर्वाचन आयोगले समानुपातिक तर्फ दलहरूले बुझाएका नाम समावेशी समूह अनुसार नमिले आइतबार पत्र पठाउने जनाएको छ। दलहरूलाई दुई दिनको समय दिएर नाम सच्याउन पत्र पठाउने आयोगका सहायक प्रवक्ता गुरु वाग्लेले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.