निर्वाचनको अन्तिम नतिजा घोषणा, जमानत जफतबाट झन्डै चार करोड असुल

निर्वाचनको अन्तिम नतिजा घोषणा, जमानत जफतबाट झन्डै चार करोड असुल

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा घोषणा गरेको छ। आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० जना गरी ८ सय २५ जना निर्वाचित भएका छन्।

प्रतिनिधि सभातर्फ पुरुष १८४ जना अर्थात् ६६ दशमलव ९० प्रतिशत र महिला ९१ जना अर्थात् ३३ दशमलव १० प्रतिशत निर्वाचित भएका छन्। प्रदेश सभातर्फ पुरुष ३५० जना अर्थात् ६३ दशमलव ६४ प्रतिशत र महिला २०० जना अर्थात् ३६ दशमलव ३६ प्रतिशत निर्वाचित भएका छन्।

आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ वटा राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए।

प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ महिला २२५ र पुरुष २ हजार १८६ गरी २ हजार ४११ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो। सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला १ हजार १८७ र पुरुष १ हजार १२ गरी २ हजार १९९ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो।

प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि महिला २८०, पुरुष २ हजार ९४३ र अन्य १ गरी ३ हजार २२४ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो भने सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला १ हजार ५११ र पुरुष २ हजार १९७ गरी कुल ३ हजार ७०८ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो। कूल उम्मेदवारको सङ्ख्या जम्मा ११ हजार ५४२ रहेको थियो।

पहिलो हुने निर्वाचित हुने निर्वाचनमा १ करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएको थियो। जसमध्ये १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको थियो भने ५ दशमलव शून्य ६ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २२६ (६१ दशमलव ८५ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भई ५ दशमलव शून्य ९ प्रतिशत मत बदर भएको थियो।

प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि १ करोड १० लाख ३४ हजार ५०० (६१ दशमलव ३६ प्रतिशत) मतदान भएको थियो जसमध्ये १ करोड ५ लाख ८५ हजार ३०० मत सदर भएको थियो भने ४ दशमलव शून्य ७ प्रतिशत मत बदर भएको थियो। समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १० लाख २८ हजार ३७६ (६१ दशमलव ३१ प्रतिशत) मतदान भएकोमा १ करोड ३ लाख ६ हजार ११ मत सदर भई ६ दशमलव ५५ प्रतिशत मत बदर भएको थियो।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेबमोजिम प्रतिनिधि सभातर्फ पुरुष १ हजार ७७२ र महिला १८९ गरी जम्मा १ हजार ९६१ जना तथा प्रदेश सभातर्फ पुरुष २ हजार ८६, महिला २३७ र अन्य १ गरी जम्मा २ हजार ३२४ जना गरी जम्मा ४ हजार २८५ जना (७६ दशमलव शून्य ४ प्रतिशत) उम्मेदवारहरूको धरौटी रकम जफत भएको आयोगले जनाएको छ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्थाबमोजिम प्रतिनिधि सभातर्फ बन्दसूची पेस गर्ने ४७ दलमध्ये ४० वटा दल र प्रदेश सभातर्फ प्रदेश नम्बर १ मा ३०, मधेस प्रदेशमा २६, बागमती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी जफत भएको छ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५२ मा प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १ सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने व्यवस्था बमोजिम ७ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको १ दशमलव ५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ।

सो व्यवस्था अनुसार प्रदेश नम्बर १ मा ६, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ६ वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व भएको छ।

जमानत जफत

निर्वाचनमा दल र उम्मेदवारका ३ करोड ७८ लाख ५५ हजार रुपैयाँ धरौटी जफत भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागिता जनाएका ४७ मध्ये ४० दलको जमानत जफत भएको आयोगले जनाएको छ।

प्रदेशसभा सदस्य निर्वाचनमा सातै प्रदेशमा गरी १ सय ८५ दलको धरौटी जफत भएको छ। प्रदेश सभातर्फ प्रदेश नम्बर १ मा ३०, मधेस प्रदेशमा २६, बागमती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी जफत भएको आयोगले जनाएको छ।

प्रत्यक्षतर्फ कूल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्ने उम्मेदवार र समानुपातिक तर्फ कम्तीमा एक सिट जितेका दलहरूले धरौटी रकम फिर्ता पाउँछन्। देशभर ४ हजार २८५ जना उम्मेदवारहरूको धरौटी रकम जफत भएको आयोगले जनाएको छ।

प्रतिनिधि सभातर्फ पुरुष १ हजार ७७२ र महिला १८९ गरी १ हजार ९६१ जनाको धरौटी रकम जफत भएको छ। प्रदेश सभातर्फ पुरुष २ हजार ८६, महिला २३७ र अन्य १ गरी जम्मा २ हजार ३२४ जनाको धरौटी रकम जफत भएको छ।

मङ्सिर २९ गते बिहीबार राष्ट्रपतिसमक्ष प्रतिनिधि सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरिने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए।

पुस २ गते प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन सातै प्रदेशका प्रदेश प्रमुखहरूसमक्ष प्रस्तुत गरिने कार्यक्रम रहेको प्रमुख आयुक्त थपलियाले बताए।

प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिने आयोगले जनाएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.