नयाँ सरकार

रामचन्द्र र गगनसँग सल्लाह गर्ने देउवाको जवाफ, बोलेनन् शेखर

रामचन्द्र र गगनसँग सल्लाह गर्ने देउवाको जवाफ, बोलेनन् शेखर

काठमाडौं : नेपाली काँग्रेसले आइतबार पार्टी कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टी कार्यालय ललितपुर सानेपामा बस्ने बैठकले संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गर्ने काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए।

प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी काँग्रेसका ८९ जना सांसद निर्वाचित भएका छन्। निर्वाचित सांसदहरूलाई बालुवाटारमा खादा लगाइदिएर शेरबहादुर देउवाले दलको नेतामा सहयोग मागेका छन्।

प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन पनि दिएका छन्। बालुवाटारमा आयोजित कार्यक्रममा देउवाले प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरूलाई निर्देशन दिनु भएका काँग्रेस नेता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
दलको नेता बन्न आकाङ्क्षा राखेका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री गगन थापालाई सल्लाह गर्ने जवाफ देउवाले दिएका छन्।

समानुपातिकबाट सांसदमा निर्वाचित विमलेन्द्र निधिले दलको नेतामा देउवालाई समर्थन गर्ने प्रतिक्रिया दिए। निधी देउवा निकट हुन्। संसदीय दलको नेता बहुमत जुटाएर प्रधानमन्त्री बन्ने व्यवस्था अनुसार काँग्रेसमा देउवा, पौडेल र थापाले निर्वाचित सांसदहरूसँग छलफल पनि जारी राखेका छन्।

नेतृत्व लिनुपर्ने दबाब

नेताहरूले सरकारको नेतृत्व काँग्रेसले गर्नुपर्ने दबाब पनि बढाएका छन्। सत्ता गठबन्धनको माओवादी केन्द्रले सरकारमा दाबी गरिरहँदा सभापति देउवालाई गठबन्धन टिकाउन सकस परिरहेको छ। काँग्रेस नेता शेखर कोइरालाले अबको सरकार काँग्रेसकै बन्नु पर्ने प्रतिक्रिया दिएका छन्। संसदीय दलको नेताबारे मौन रहेका कोइरालाले सरकारको नेतृत्व काँग्रेसले गर्नु पर्ने बताएका हुन्।

महामन्त्री गगन थापाले संसदीय दलको नेतामा सहयोग गर्न सांसदहरूलाई आग्रह गरेका छन्। उनले सभापति देउवासँग पनि सहयोग मागेका छन्। थापाले देशको आवश्यकता अनुसार दलको नेता आफू बन्नुपर्ने दाबी सुनाएका छन्। थापालाई सल्लाह गर्ने जवाफ देउवाले दिएका छन्।

महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा पुस्तान्तरण हुनु पर्ने बताए। शर्माले पार्टीमा पुस्तान्तरण हुनुपर्ने बताए भने वरिष्ठ नेता रामचन्द्र पौडेलले दलको नेता चुनिने पालो आफ्नो रहेको बताए। उनी पार्टीमा आफू सर्वसम्मत दलको नेता चुनिनु पर्ने लबिङमा लागेका छन्। उनले पनि देउवासँग दलको नेता चुनिन सहयोग मागेका छन्। उनलाई पनि देउवाले सल्लाह गर्ने जवाफ दिएका बालुवाटार स्रोतले बताएको छ।

निम्तो कुर्दै महन्थ

काँग्रेस सभापति देउवाले सत्ता गठबन्धन दलका नेताहरूसँग छलफल जारी राखेका छन्। देउवाले शनिवार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने बताएका पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा छलफल गरेका हुन्। चुनावी परिणाम सार्वजनिक भएसँगै नयाँ सरकार निर्माणका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

सत्ता गठबन्धनबाटै चुनाव लडेको लोकतान्त्रिक समाजवादी पार्टी भने बालुवाटारको निम्तो कुरेर बसेको छ। चुनावी परिणामपछि लोसपाले गठबन्धनमै रहने बताएको छ। तर प्रधानमन्त्री देउवाले भने लोसपालाई बालुवाटार बोलाइसकेका छैनन्। लोसपाका अध्यक्ष महन्थ ठाकुरले सरकार गठनका विषयमा बालुवाटारबाट खबर नआएको बताए।

चुनावमा मनोनयन गर्ने अघिल्लो दिन सत्ता गठबन्धनबाट एमाले गठबन्धनमा बसाई सरेको जनता समाजवादी पार्टीले अहिलेसम्म सरकारमा जाने विषयमा केही बोलेको छैन। उसले सरकार निर्माणबारे हतार नभएको प्रतिक्रिया दिएको छ।

जसपा अध्यक्ष उपेन्द्र यादवले सरकार गठनको विषयमा आफूहरूलाई कुनै हतार नभएको बताए। उनले आफूहरू शान्त रहेको सुनाए।

दुई वर्षका लागि मात्रै प्रधानमन्त्री

सरकार गठनका विषयमा नेकपा एमाले पर्ख र हेरको अवस्थामा बसेको छ। सत्ता गठबन्धनको निर्णय पर्खेर बसेको एमालेले सरकार गठनका विषयमा अरू दलहरूसँग औपचारिक छलफल समेत गरेको छैन। उपाध्यक्ष विष्णु पौडेलले एमाले सरकारमा नजाने बताएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावको परिणामले राजनीतिक बजारलाई महँगो बनाएको बताएका छन्। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले गरेको कार्यक्रममा ओलीले बहुमत जुटाउन सत्ता गठबन्धनलाई हम्मेहम्मे परेको सुनाए।

काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भने अब बन्ने प्रधानमन्त्रीको आयु दुई वर्षका लागि मात्रै हुने बताएका छन्। सरकार बन्ने, बनाउने भन्ने नाममा गठबन्धन बिथोलिन दिनु नहुने बताएका शर्माले अब बन्ने प्रधानमन्त्री दुई वर्षलाई मात्रै हुने कुरा लुकाउनु नपर्ने बताए।

कुनै बेला एक्लै दुई तिहाइ ल्याएको काँग्रेस अहिले मिलेर चुनाव लड्दासमेत ५७ सिटमा सीमित भएको भन्दै उनले चुनाव जित्ने बित्तिकै मन्त्री बन्न खुट्टा उचालिहाल्ने बेला नभएको बताए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.