नयाँ सरकार गठनको समय अघि नै सांसदहरूको शपथ

नयाँ सरकार गठनको समय अघि नै सांसदहरूको शपथ

काठमाडौं : प्रतिनिधिसभा सदस्यको शपथ पछि मात्रै प्रधानमन्त्री हुने अभ्यास सुरु हुने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ अगाडि सरकार गठनका लागी आव्हान गरेपछि सङ्घीय संसद् सचिवालयले पुस ७ गते नै निर्वाचित सदस्यलाई शपथ ग्रहण गराउने भएको हो।

२०७४ को निर्वाचन परिणाम आएसँगै एमाले अध्यक्ष केपी शर्मा ओली संसद् सदस्यको शपथ ग्रहण नगरी प्रधानमन्त्रीमा नियुक्त भएका थिए। राष्ट्रपति भण्डारीले अहिले पनि शपथ ग्रहण नै नगरी सरकार गठनका लागी आव्हान गरेपछि सचिवालयले सरकार गठनको दाबी पेस गर्ने तीन दिन अगाडि नै शपथ ग्रहण गराउन लागेको हो।

सांसदहरूले शपथ ग्रहण नगरी राष्ट्रपतिले सरकार गठन गर्न आह्वान गरेको भन्दै प्रश्न उठेपछि सचिवालयले नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण पुस ७ गते बिहीबार बिहान ११ बजे हुने मिति सार्वजनिक गरेको छ। शपथ ग्रहण नगरी प्रधानमन्त्री बन्न संविधानतः नमिल्ने संविधानविद् चन्द्रकान्त ज्ञवालीले बताएका छन्।

संसद् सचिवालयले राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि तोकिएको समयावधिभित्रै सांसदहरूको शपथ ग्रहणको मिति तय गरेर विवाद समाधान गरेको छ। सचिवालयले ज्येष्ठ सदस्यको पहिचान गरेर सुरुमा ज्येष्ठ सदस्यलाई शपथ ग्रहण गराउने र त्यसपछि अन्य सदस्यको शपथ गर्ने जानकारी दिएको छ।

नवनिर्वाचित सांसदको नागरिकता अनुसार ज्येष्ठ सदस्य पशुपति शमशेर जबरा र चित्र बहादुर केसी रहेको पाइएको छ। दुवै ८० वर्षका छन्। अर्का सांसद महेन्द्र राय यादवको उमेर ज्येष्ठ सदस्यका लागि दाबी गर्न मिल्ने भए पनि यसअघि आफ्नो जन्म मितिका बारेमा फरक भनाइ राखेकाले यादव पर्ने सम्भावना कम छ।

ज्येष्ठ सदस्यको शपथ ग्रहण राष्ट्रपतिबाट हुनेछ। कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको ब्यहोरा तीन दिन अगाडी नै संसद् सचिवालयमा उपलब्ध गराउन सचिवालयले आग्रह गरेको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.