नयाँ सरकार

दलहरू सत्ता समीकरणको खेलमा, प्रधानमन्त्री बन्न प्रचण्ड एमालेसँगको छलफलमा

दलहरू सत्ता समीकरणको खेलमा, प्रधानमन्त्री बन्न प्रचण्ड एमालेसँगको छलफलमा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनको आव्हान गरेसँगै दलहरू सत्ता समीकरणको खेलमा लागेका छन्।

काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई प्रधानमन्त्री पद बाँड्ने गरी सत्ता समीकरणको गृहकार्यमा लागेका छन्।

देउवाको नयाँ प्रस्तावमा काँग्रेसले सुरुको दुई वर्ष, त्यसपछि पुष्पकमल दाहाल प्रचण्ड, त्यसपछि एकीकृत समाजवादी र पछिल्लो चुनावी सरकारको नेतृत्व काँग्रेसले लिनेछ।

आगामी पाँच वर्षे कार्यकालका लागि शक्ति बाँडफाँट गर्ने देउवाको प्रस्तावमा सहमति जुटे सुरुको प्रधानमन्त्रीमा देउवा नै नियुक्त हुने उनी निकट नेताले बताएका छन्।

तर सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी नेपालका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनमा अहङ्कार देखिएको बताएका छन्।

नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष नेपालले गठबन्धनका पार्टी र अरू नेताहरूमा अहङ्कार देखिएको बताएका हुन्।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रले पहिलो दुई वर्षका लागि प्रधानमन्त्रीमा दाबी छोडेको छैन। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो दुई वर्षका लागि आफू प्रधानमन्त्री नहुने अवस्था आउनै नदिने गरी एमालेसँग पनि समानान्तर छलफल गरिरहेका छन्।

सुरुको कार्यकालमै आफूलाई प्रधानमन्त्री दिए मात्र पाँच दलीय गठबन्धनमा रहने प्रचण्डको योजना छ। काँग्रेसले सुरुको कार्यकाल आफूलाई स्वीकार नगरे एमालेसँग सत्ता–समीकरण गरेर अघि बढ्ने योजनामा प्रचण्ड लाग्नु भएको स्रोतले बताएको छ।

चितवनमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले सरकार गठनका विषयमा एमालेसँग छलफल भएको बताएका छन्। उनले औपचारिक रूपमा सत्ता गठबन्धनमा प्रधानमन्त्रीको दाबी नगरेको बताए।

एमाले अध्यक्ष केपी शर्मा ओली निकटले प्रचण्डलाई सुरुको दुई वर्ष प्रधानमन्त्री बनाउन सकारात्मक रहेको सन्देश पुर्‍याएका छन्। एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावी परिणामसँगै सबै दलसँग छलफल खुल्ला राखिएको बताए। उनले प्रचण्डलाई सुरुको प्रधानमन्त्रीमा समर्थन गर्नेबारे भने केही खुलाएनन्। ‘हामी सबैसँग छलफल गरेर अगाडि बढ्छौ’नेम्वाङले भने।

एमालेले सत्ता गठबन्धनमा रहेसम्म माओवादीसँग सत्ता समीकरणको संवादको औपचारिक प्रस्ताव नगर्ने बताएको छ।

निर्वाचनपछि माओवादी महासचिव देव गुरुङ, नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष ओलीसँग र एमालेका उपाध्यक्ष विष्णु पौडेल र महेश बस्नेतले प्रचण्डसँग निवासमै गएर भेट गरिसकेका छन्।

एमालेसँग ७८ सिट छ भने माओवादी केन्द्रको ३२ र एकीकृत समाजवादीको १० सिट गरी जम्मा १२० सिट मात्र छ। बहुमत पुर्‍याउन यी तीन दलबाहेकका दलको समेत समर्थन आवश्यक पर्छ। सुरुको प्रधानमन्त्री बन्न प्रचण्डले जसपा र नागरिक उन्मुक्ति पार्टीको समेत समर्थन जुटाउने प्रचण्ड निकट स्रोतले दाबी गरेको छ।

राप्रपा पुच्छर नबन्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले सर्तसहित नयाँ सरकारलाई समर्थन गर्ने बताएको छ। सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आव्हान गरेसँगै राप्रपाले सरकारमा जानुपरेमा वा कसैलाई समर्थन गर्नुपरेमा कारणसहित गर्ने अध्यक्ष राजेन्द्र लिङदेनले बताए।

पार्टी केन्द्रीय सचिवालयले निर्वाचित सांसदहरूलाई गरेको स्वागत तथा बधाई कार्यक्रममा अध्यक्ष लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताए। एमालेसँग चुनावी तालमेल गरेको राप्रपा चुनावी परिणामपछि कुनै दलको पुच्छर नबन्ने अध्यक्ष लिङदेनको भनाई छ।

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले भने नयाँ सरकार गठनका लागि सघाउने बताएका छन्। अध्यक्ष डा. राउतले आफूहरूले उठाएका किसानका मुद्दा भने सम्बोधन हुनुपर्ने सर्त राखेका छन्।

पहिलो पटक संसदीय चुनावमा भाग लिएर राष्ट्रिय पार्टी बनेको जनमत पार्टीले संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउतलाई सर्वसम्मत चयन समेत गरेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading