वायुसेवा निगम : मलेसियन पर्यटक भित्र्याउने, कर्मचारी पदपूर्ति गर्ने

वायुसेवा निगम : मलेसियन पर्यटक भित्र्याउने, कर्मचारी पदपूर्ति गर्ने

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालमा मलेसियन पर्यटक भित्र्याउन मलेसियाका पर्यटन व्यवसायीहरूलाई आव्हान गरेको छ।

क्वालालाम्पुर र पेनाङ्गमा भएको हवाई सेवा तथा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रममा मन्त्रालयका सचिव सुरेश राज अधिकारीले नेपालमा मलेसियन पर्यटक भित्र्याउन सरकारको तर्फबाट सहजीकरणको कार्यहरू गरिने बताए।

नेपाल पर्यटन बोर्डका अध्यक्ष डा. धनञ्जय रेग्मीले नेपालमा पर्यटक भित्र्याउन मलेसिया तथा नेपालका पर्यटन व्यवसायी र नेपाल वायुसेवा निगमसँग सहकार्य गर्ने बताए।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सरकारको पर्यटक भित्र्याउने योजनामा महत्त्वपूर्ण खम्बाको रूपमा काम गर्ने बताए। पर्यटक भित्र्याएर नेपालको आर्थिक विकासमा योगदान पुर्‍याउनुका सार्थ विदेशी मुद्रा आर्जन गर्न सकिने उनले उल्लेख गरेको वायुसेवा निगमले जनाएको छ।

कार्यकारी अध्यक्ष अधिकारीले मलेसिया सेक्टरमा उडान सङ्ख्या वृद्धि गर्ने योजना रहेको सुनाए।

नेपालको पर्यटन प्रवर्द्धन : छैन एयर कनेक्टिभिटी, महँगो हवाई भाडा

नेपाल वायुसेवा निगम र मलेसियास्थित नेपाली दूतावासबिच निगमलाई प्रवर्द्धन गर्न दूतावासको वेबसाइटमा निगम सम्बन्धी जानकारी राख्ने र विभिन्न सहरहरूमा संयुक्त प्रवर्द्धनात्मक कार्यक्रम गर्ने सम्झौता भएको निगमकी प्रवक्ता अर्चना खड्काले निकालेको विज्ञप्तिमा लेखिएको छ।

निगमले प्रत्यक्ष रूपमा आफ्ना सेल्स एजेन्ट, ग्राहक तथा निगमको सेवा प्रवाहमा सहयोगी भूमिका प्रदान गर्ने दूतावास, नेपाल पर्यटन बोर्ड लगायतको सहकार्यमा भएको कार्यक्रमले निगमको बिक्री प्रवर्द्धन तथा साख अभिवृद्धिमा उल्लेख्य भूमिका रहने उल्लेख गरेको छ।

संयुक्त ट्रेड युनियनको स्वागत


नेपाल वायुसेवा निगमले कर्मचारीको खुल्ला तथा आन्तरिक बढुवाको माध्यमबाट पदपूर्ति गर्ने भएको छ। निगमले कर्मचारी पदपूर्तिका लागि लोकसेवा आयोगबाट स्वीकृति प्राप्त भएको जनाएको छ।

आयोगबाट स्वीकृति प्राप्त भएर विज्ञापन समेत भइसकेको निगमले जनाएको छ। निगमले रिक्त पदहरूमा खुल्ला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकहरूबाट अनलाइन दरखास्त आव्हान गरेको छ।

गैरजिम्मेवार नियमनकारी निकायका कारण सधैँ सङ्कटमा, ऋणमाथि ऋणको भार

निगमले वरिष्ठ प्राविधिक अधिकृत ७ जना, अधिकृत २८, लेखा अधिकृत ११, कानुन अधिकृत २, वरिष्ठ सहायक २२, वरिष्ठ लेखा सहायक ८ र वरिष्ठ प्राविधिक २२ जनाको दरखास्त आव्हान गरेको छ।

सिनियर ग्राउन्ड ईक्युप्मेन्ट अपरेटर १, सहायक ३६ र लेखा सहायक १ जनाको दरखास्त आव्हान गरेको छ। छैटौँ र सातौँ तहको खुल्लाका लागि १ हजार रुपैयाँ शुल्क बुझाउनु पर्नेछ। एक भन्दा बढी समूहमा दरखास्त पेस गर्दा प्रत्येक थप समूहको लागि ५ सय रुपैयाँ शुल्क तोकिएको निगमले जनाएको छ।

चौथो र पाँचौँ तहमा आवेदन साथ ५ सय रुपैयाँ शुल्क बुझाउनु पर्नेछ भने एक भन्दा बढी समूहमा दरखास्त पेस गर्दा प्रत्येक थप समूहका लागि २५० रुपैयाँ शुल्क बुझाउनु पर्नेछ। आदिवासी/जनजाति, दलित, अपाङ्गता भएका, मधेसी र पिछडिएको क्षेत्रका लागि प्रमाणित सिफारिस आवश्यक पर्ने निगमको सूचनामा लेखिएको छ।

निगमले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको हकमा भने केही उल्लेख गरेको छैन। संविधानको धारा ४२ मा राज्यका हरेक निकायमा समावेशी सिद्धान्त अनुसार लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्न भनेको छ। तर निगमले निकालेको पदपूर्ति सूचनामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिको आवेदन पर्न सक्ने कल्पना नै गरिएको छैन।

छैटौँ र सातौँ पदहरूका लागि २१ वर्ष पूरा गरी ३५ वर्ष ननाघेको र महिला तथा अपाङ्गको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ भने चौथो र पाँचौँ पदहरूका लागि १८ वर्ष पुरा गरी ३५ वर्ष ननाघेको र महिला तथा अपाङ्गको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।

निगमका बहालवाला कर्मचारीको हकमा उमेर हद लागू नहुने पदपूर्ति सूचनामा लेखिएको छ। निगमको संयुक्त ट्रेड युनियन समितिले कर्मचारीमा ४ वर्षदेखि हराउँदै गएको उत्प्रेरणा फर्किएको बताएको छ।

समितिले कर्मचारीहरूको वृत्ति विकासको कार्य रोकिएको कारण उत्प्रेरणा हराउँदै गइरहेको अवस्थालाई मध्यनजर गरी हालै खुल्ला तथा आन्तरिक बढुवाको माध्यमबाट पदपूर्ति कार्य बढ्नु महत्त्वपूर्ण भएको बताएको छ।

निगमका चार वटै ट्रेड युनियनले निकालेको विज्ञप्तिमा निगम सञ्चालक समिति, कार्यकारी अध्यक्ष, निगम व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीलाई धन्यवाद समेत दिएका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.