पर्यटन दशक

नेपालको पर्यटन प्रवर्द्धन : छैन एयर कनेक्टिभिटी, महँगो हवाई भाडा

नेपालको पर्यटन प्रवर्द्धन : छैन एयर कनेक्टिभिटी, महँगो हवाई भाडा

काठमाडौं : नेपालमा १० महिनामा पाँच लाख विदेशी पर्यटक भित्रिएका छन्। १० महिनाको अवधिमा नेपालमा ५ लाख विदेशी पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। बोर्डको तथ्याङ्क अनुसार अक्टोबरमा ८८ हजार ५८२ जना पर्यटक नेपाल घुम्न आएका छन्। सेप्टेम्बर महिनामा ५८ हजार ३१४ जना पर्यटक नेपाल आएका थिए।
पर्यटन प्रवर्द्धनका लागि बोर्डले गरेका कार्यक्रम प्रभावकारी नहुँदा नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या धेरै हुन नसकेको पर्यटन व्यवसायीहरूले बताएका छन्। गैरआवासीय नेपाली सङ्घ एनआरएनएले सोमबार काठमाडौँमा गरेको कार्यक्रममा पर्यटन व्यवसायीहरूले एयर कनेक्टिभिटी र हवाई भाडा महँगो हुँदा विदेशी पर्यटक नेपाल भित्र्याउन समस्या परेको सुनाए।
अस्ट्रेलियाको सिड्नीबाट दिल्लीभन्दा काठमाडौँको टिकट महँगो हुँदा पर्यटकको सङ्ख्या बढाउन नसकिएको गैरआवासीय नेपाली सङ्घले बताएको छ। बैंककबाट काठमाडौं हवाई भाडा ६० हजार छ भने दिल्ली भाडा १५ हजार भारतीय रुपैयाँ मात्रै छ। विभिन्न देशमा ७० लाख नेपाली रहेको भन्दै सङ्घले एक जना नेपालीले एक जना मात्रै नेपाल पठाउँदा नेपालको पर्यटनमा महत्त्वपूर्ण भूमिका निर्वाह हुने दाबी गरेको छ।
एनआरएनएकी कार्यकारी अध्यक्ष रबिना थापाले नेपालको पर्यटन क्षेत्र कोभिडका कारण थलिएको बताइन। नेपालमा पर्यटन भित्र्याउन एनआरएनएले विदेशमा निःशुल्क प्रचारप्रसार गरिरहेको बताइन। विदेशमा बस्ने नेपालीलाई हेप्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाई थियो।
उनले विदेशमा ३०/४० हजार व्यवसायी रहेको जानकारी दिइन। ‘सर्भिसमा ख्याल हुँदैन। कमजोरी छ। तारे होटेलको खानाका कारण बिरामी परेका छन्,’थापाले भनिन्,‘पब्लिक हेल्थमा सरकारले ध्यान दिनुपर्छ।’ उनले नेपालको संवृद्धिका लागि काम गरिरहेको बताइन। उनले पर्यटन बोर्डको तथ्याङ्कमा पाँच लाख विदेशी पर्यटक भित्रिएको भने पनि ती मध्ये विदेशी नै भएर गैरआवासीय नेपाली आएको हुनसक्ने बताइन। कार्यक्रममा नेपालको रैथाने खानाबारे अध्यक्ष थापाले लेखेको पुस्तक पनि विमोचन गरिएको थियो।

हवाई सम्पर्क बढाउनु पर्ने र भाडा महँगो नबनाउन सङ्घले माग गरेको छ। एयर कनेक्टिभिटी र एयर फेयरले नेपालमा पर्यटक भित्र्याउन नसकिएको सङ्घका प्रवक्ता सोम सापकोटाले बताए। विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीलाई नेपालसँग जोड्ने काम एनआरएनएले गरेको उनले बताए।
नेपालको पर्यटन विकासमा सहयोग गरिरहेको दाबी गर्दै प्रवक्ता सापकोटाले गैरआवासीय नेपालीलाई नेपाली सरह ट्रिट हुनुपर्ने माग राखे। आफ्नै देशमा आउँदा विदेशी सरह शुल्क तिर्नुपर्ने अवस्था रहेको उनले सुनाए। ‘विदेशी सरह ट्रिट हुने गरेको छ,’उनले भने,‘गैरआवासीय नेपालीलाई नेपाली सरह ट्रिट हुनुपर्छ।’ नेपालको पर्यटन प्रवर्द्धनमा सङ्घले भिजिट नेपाल, नेपाल फेस्टिभल, बुद्ध नेपाल क्याम्पेन गरेको जनाएको छ।
होटेल सङ्घका वरिष्ठ उपाध्यक्ष विनायक शाहले देशको पर्यटन विकासमा सङ्घले गरेका कामले महत्त्वपूर्ण सहयोग गरेको बताए। कोभिड पछाडि नयाँ अवस्था आएको भन्दै उनले २०२३ देखि ०३३ सम्म मनाउने पर्यटन दशकको वार्षिक क्यालेन्डर बनाएर काम गर्नुपर्ने सुझाव दिए। ‘हातेमालो गर्न सके धेरै गर्न सकिन्छ। सूक्ष्म रूपमा काम गर्न सक्छौ,’उनले भने,‘पर्यटनबाट आर्थिक संवृद्धि ल्याउन सकिन्छ।’
पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले एनआरएनए राजनीति गर्न आउने जस्तो बन्न नहुने बताए। उनले विदेशमा रहेका सफल नेपाली व्यवसायी एनआरएनएमा नआएको सुनाए। श्रीलङ्काले पर्यटक भित्र्याएर एक बिलियन कमाएको बताउँदै उनले नेपालमा पनि पर्यटक भित्र्याएर विदेशी मुद्रा संचिति बढाउन सकिने बताए।
पर्यटन व्यवसायीहरूले नेपाल घुम्न आउने विदेशी पर्यटकलाई एक महिनाको भिसा शुल्क छुट दिनुपर्ने बताए। ‘वन मन्थको भिसा दिने व्यवस्था कार्यान्वयन भएन,’व्यवसायीले भने,‘डोल्पा, हुम्लामा उडान छैन। सरकारको सपोर्ट छैन।’
नेपाल होटेल तथा पर्यटन प्रतिष्ठान नाथुमका कार्यकारी निर्देशक राजेश उप्रेतीले अहिलेसम्म होटेल क्षेत्रमा ६० हजार जनशक्ति उत्पादन गरेको जानकारी दिए। उनले नाथुमका विद्यार्थीले नेपालका तारे होटेलमा इन्र्टनसीप गर्ने अवसर नपाएको सुनाए। विदेशी होटेलमा पैसा तिरेर नेपाली विद्यार्थी लिने गरेको भन्दै उनले नेपालका तारे होटेलमा भने पैसा माग्ने गरेको बताए। उनले नाथुमलाई आफ्नै देशमा चिनाउन नसकिएको बताए। सहयोग नपाउँदा नाथुमलाइ ६ प्रदेशमा विस्तार गर्न नसकिएको सुनाए।
चौरीखर्कका सनम शेर्पाले नेपाल जाँदा सुरक्षित ट्रेकिङ गर्दा अनिवार्य गाइड लिनुपर्ने सन्देश प्रवाह गर्न एनआरएनएलाई आग्रह गरे।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.