काठमाडौं : सरकारी बिमा कम्पनीको एक दशकदेखि लेखा परीक्षण भएको छैन। नेपाल सरकारको ३१.०३, कर्मचारी सञ्चय कोषको १९.३७, नेपाल बैङ्क लि.को ९.६० गरी ७० प्रतिशत शेयर स्वामित्व रहेको राष्ट्रिय बिमा कम्पनीको आर्थिक वर्ष २०६७/०६८ देखि वार्षिक लेखा परीक्षण हुन सकेको छैन।
आर्थिक वर्ष २०७२/०७३ सम्मको लेखा परीक्षण बिमा समितिबाट स्वीकृत भएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार २०७४/०७५ देखि गत आर्थिक वर्षको लेखा परीक्षण नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुसार भइरहेको छ।
सर्वसाधारणको ३० प्रतिशत शेयर रहेको कम्पनीले सम्पत्ति, इन्जिनियरिङ, हवाई, सामुद्रिक बिमा गर्दै आएको छ। लघु बिमा अन्तर्गत बाली र पशुपक्षी बिमा गर्दै आएको कम्पनीले औषधोपचार, विदेश यात्रा औषधोपचार, सामूहिक तथा व्यक्तिगत दुर्घटना, मार्गस्थ नगद, पेसागत दायित्व, सेधमारी तथा नकबजनी, श्रमिक मुआब्जा र प्राकृतिक विपद् जोखिम सामूहिक दुर्घटना बिमा सेवा दिइरहेको जनाएको छ।
कम्पनीका अनुसार बैङ्कबाट बैङ्कसम्म नगद ल्याउँदा वा लैजाँदा र एक ठाउँबाट अर्को ठाउँमा विशेष काम परि नगद ल्याउँदा लैजाँदा बाटोमा पर्न सक्ने सम्भावित जोखिमहरू जस्तै चोरी, डकैती, ठगी, मोटर वा हवाई जहाज आदिको दुर्घटनाको कारणबाट नगदको हानी नोक्सानी हुन गएमा त्यसको क्षतिपूर्तिको लागि गर्ने बिमालाई मार्गस्थ नगद बिमा भनिन्छ।
सुरक्षाको उचित प्रबन्ध गर्दा गर्दै तीन ताल्चा लागेको गुप्त स्थान वा बन्द कोठा भित्र राखेको नगद, गरगहना, मेशिनरी औजार वा कार्यालयका सरसामान आदि चोरहरूबाट तोडफोड गरी चोरी गरी लगेमा त्यसबाट हुने हानी नोक्सानीको क्षतिपूर्तिको लागि गरिने बिमालाई सेधमारी तथा नकबजनी बिमा भनिने कम्पनीले जनाएको छ।
देशका १६ शाखा र ६ उपशाखा कार्यालयबाट निर्जीवन बिमा सेवा दिँदै आएको राष्ट्रिय बिमा कम्पनीले निर्जीवन बिमाको माध्यमबाट जनधनको सम्भावित आर्थिक जोखिममा वित्तीय सुरक्षा प्रदान गर्ने उद्देश्य राखेको छ। आन्तरिक स्रोत र साधनको परिचालन गरी देशको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्य राखेको कम्पनीको विदेशी मुद्राको व्ययभार कम गर्ने भनेको छ।
कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को अपरिष्कृत वित्तीय विवरण अनुसार वार्षिक प्रिमियम आम्दानी १ अर्ब ६३ करोड ६० लाख रुपैयाँ रहेको छ। कम्पनीले ३६ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ। प्रति शेयर नेट वर्थ १२८०.८१ र प्रति शेयर आम्दानी १३५.१४ रहेको कम्पनीको विवरणमा उल्लेख गरिएको छ।
गत आर्थिक वर्षमा तोकिएको मूल्य अहिले घटबढ हुनसक्छ। वास्तविक मूल्य राखेर तयार भइरहेको (मार्केट प्राइस) एनएफआरएस लेखा परीक्षण प्रतिवेदन तयार भइरहेको कम्पनीका सूचना अधिकारी निरञ्जन आचार्यले जानकारी दिए। ‘अनअडिटेड रिपोर्ट सार्वजनिक भइरहेको छ,साधारण सभा भएको छैन,’आचार्यले पहिचानसँग भने,‘२०६८ देखिकै नगद र बोनस वितरण भएको छैन।’
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.