काठमाडौं : सिद्धार्थ बैङ्क स्थापनाको २१ औँ वर्षमा प्रवेश गरेको छ। बैङ्कले १९३ शाखा सञ्जाल मार्फत १६ लाख भन्दा बढी ग्राहकहरूलाई बैंकिङ्ग सेवा पुर्याइरहेको जनाएको छ।
देशको सत्रौँ वाणिज्य बैङ्कको रूपमा स्थापना भएको सिद्धार्थ बैङ्क विभिन्न आर्थिक सूचकाङ्कहरूको आधारमा आज उत्कृष्ट ५ वाणिज्य बैङ्कहरूको सूचीमा स्थापित हुन सफल भएको छ।
बैङ्कले कुल निक्षेप २०४ अर्ब रुपैयाँ कर्जा लगानी १८४ अर्ब रुपैयाँ र कुल सम्पत्ति २५३ अर्ब रुपैयाँ पुगेको जनाएको छ। आर्थिक सूचकहरूको आधारमा बैङ्क निक्षेप सङ्कलनमा छैटौँ ठुलो बैङ्क, कर्जा लगानी र कुल सम्पत्तिमा पाँचौँ ठुलो बैङ्कको रूपमा स्थापित भएको छ।
पुँजी र पूँजीकोष कुनै पनि वित्तीय संस्थाको विकास र विस्तारको लागि अनिवार्य सर्त हुन्। ३५ करोड रुपैयाँको चुक्ता पुँजीबाट सुरु भएको बैङ्कको चुक्ता पुँजी हाल १२ अर्ब ५२ करोड रुपैयाँ अर्थात् ३६ गुणा वृद्धि भएको बैङ्कले जनाएको छ।
बैङ्कले गत आ.व.को नाफाबाट प्रस्ताव गरेको १२.५०% को बोनस शेयर पछि बैङ्कको चुक्ता पुँजी १४ अर्ब ९ करोड रुपैयाँ पुग्नेछ भने बैङ्कको नेटवर्थ २२ अर्ब १५ करोड पुग्ने जनाएको छ।
बैङ्कको नेटवर्थमा सेयर धनीहरूले शेयर र हकप्रद शेयर गरी ४ अर्ब ८१ करोड रुपैयाँ अर्थात् करिब २२% जम्मा गरेका छन्। बैङ्कले आर्जित नाफाबाट १७ अर्ब ३४ करोड रुपैयाँ अर्थात् करिब ७८% सङ्कलित गरेको जनाएको छ। बैङ्कको प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ पुगेको छ।
बैङ्क सुरुवातको पहिलो पाँच वर्षमा नै औसत पूँजीकोष प्रतिफल करिब १०% रहेको थियो भने बैङ्क सञ्चालनको पन्ध्र वर्ष पुरा गर्दै गर्दा यो प्रतिफल २१.८% पुगिसकेको थियो। त्यसपछि बैङ्कहरूको चुक्ता पुँजी २ अर्बबाट बढाई ८ अर्ब कायम गरिएका कारण पछिल्लो पाँच वर्षमा बैङ्कको पूँजीकोष प्रतिफल करिब १४.८७% को हाराहारीमा रहेको बैङ्कले जनाएको छ।
बैङ्कले प्रमुख बैंकिङ्ग कारोबारको अलावा अन्य क्षेत्रहरूमा समेत आफ्नो लगानीलाई विविधीकरण गरेको जनाएको छ। ग्राहकहरूको अन्य वित्तीय आवश्यकताहरू पुरा गर्ने उद्देश्यले पुँजी बजार सम्बन्धी वित्तीय उपकरण एवं सेवा उपलब्ध गराउन ५१% लगानी गरी सहायक कम्पनीको रूपमा सिद्धार्थ क्यापिटल लिमिटेड स्थापना गरेको छ।
निर्जीवन बिमा सम्बन्धी सेवा उपलब्ध गराउन १५% लगानी गरी सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड एवं जीवन बिमा सम्बन्धी सेवा उपलब्ध गराउन १२.५७% लगानी गरी रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जस्ता भगिनी संस्था स्थापना गरेको सिद्धार्थ बैङ्कले जनाएको छ।
हाल बैङ्कले वीरगन्ज तथा विराटनगरमा आफ्नै भवनबाट कारोबार सञ्चालन गरिरहेको छ। सबल, दिगो र निरन्तर बैंकिङ्ग सेवाका लागि क्रमशः आफ्नै भवनहरूबाट कारोबार सञ्चालन गर्नुपर्छ भन्ने धारणा सहित बैङ्कले काठमाडौँको नक्सालमा केन्द्रीय कार्यालय तथा मोरङको विराटनगर र कास्कीको पोखरामा प्रादेशिक तथा शाखा कार्यालय भवन निर्माण कार्यलाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्दै आएको जनाएको छ।
समीक्षा अवधिमा बैङ्कले ‘सिद्धार्थ प्लाटिनम प्लस’ तथा निक्षेप रकमको दुई गुणा देखि दश गुणा सम्मको प्रतिफल प्राप्त हुने ‘सिद्धार्थ श्रीवृद्धि मुद्दती खाता’ जस्ता बचत खाताहरू सञ्चालनमा ल्याएको छ। बैङ्कले चार अर्ब रुपैयाँ बराबरको दश वर्ष अवधिको ‘१०.७५% एस.बि.एल. डिबेञ्चर २०८९’ निष्कासन गरेको छ। बैङ्कले ३३ भन्दा बढी जलविद्युत परियोजनामा १० अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेको जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.