विमान दुर्घटना

‘हवाई यातायातमा जोखिम’

‘हवाई यातायातमा जोखिम’

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले हवाई यातायातमा जोखिम बढ्दै गएको देखिएको बताएको छ। हवाई दुर्घटनाका सम्बन्धमा विभिन्न छानबिन समितिहरूबाट प्राप्त सिफारिस कार्यान्वयनलाई प्राथमिकता नदिइँदा दुर्घटनाहरू बढिरहेको आयोगले उल्लेख गरेको छ।

‘अर्कोतर्फ पुराना विमानहरू खरिद र सञ्चालनमा प्रभावकारी नियमन हुन सकेको छैन,’आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलले निकालेको विज्ञप्तिमा लेखिएको छ,‘यसकारण हवाई यातायातमा जोखिम बढ्दै गइरहेको देखिन्छ।’

काठमाडौँबाट पोखराको लागि उडेको यति एयरलाइन्सको चालक दलसहित ७२ जना सवार जहाज कास्कीको पोखरामा दुर्घटना हुँदा ७० जनाको मृत्यु भएको र २ जनाको अवस्था अझै अज्ञात रहेको घटनाप्रति आयोगले दुःख व्यक्त गरेको छ।

हवाई दुर्घटनाका कारण व्यक्तिको जीवनको अधिकार गुम्न गएका घटनाहरूको आयोगले विभिन्न माध्यमबाट अनुगमन गर्दै आइरहेको जनाएको छ। मानवीय क्षतिको दृष्टिकोणले उक्त दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै सबैभन्दा ठुलो रहेको पाइएको आयोगले उल्लेख गरेको छ।

विमान दुर्घटना : मदनकाजीले उठाएनन् माधव नेपालको पहिलो फोन

नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ मा हवाई उडानलाई नियमन गर्ने व्यवस्था छ। हवाई नीति, २०६३ ले उडान सुरक्षा एवम् हवाई सुरक्षामा सुदृढीकरण गरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनद्वारा निर्धारण गरिएको मापदण्ड तथा सिफारिसहरूको कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक कानुनी र संस्थागत व्यवस्था गर्ने उल्लेख गरेको छ।

त्यस्तै, हवाई सेवालाई विश्वसनीय र भरपर्दो बनाउन नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय जिम्मेवार निकायको रूपमा रहेको छ। मन्त्रालयअन्तर्गत विभाग र प्राधिकरण क्रियाशील रहेका छन्। नियमनकारी निकायबाट उडान सुरक्षा एवम् हवाई सुरक्षालाई संवेदनशील रूपमा लिई प्रभावकारी कार्य हुन नसक्दा नागरिकले ज्यान गुमाउनु परिरहेको दुःखद अवस्था रहेको आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ।

विभिन्न टीकाटिप्पणीले प्राधिकरण तनावमा, जथाभाबी नबोल्न आग्रह

हवाई दुर्घटनाबाट नागरिकले ज्यान गुमाउनु परिरहेको अवस्थाप्रति संवेदनशील बन्दै हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनद्वारा निर्धारित मापदण्ड एवम् सिफारिसहरूको कार्यान्वयनमा जोड दिन आयोगले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन र हवाई दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई उपयुक्त राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न÷गराउन र सहज रूपमा बिमा रकम उपलब्ध गराउन समेत आयोगले आग्रह गरेको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.