विमान दुर्घटना

मदनकाजीले उठाएनन् माधव नेपालको पहिलो फोन

मदनकाजीले उठाएनन् माधव नेपालको पहिलो फोन

काठमाडौं : आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएकाको शव आफन्तलाई बुझाउन थालिएको छ। सोमबार साँझ पोखरा–१३ का सदाकत अलि मियाँको शव परिवारले बुझेका छन्।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सोमबार साँझदेखि मात्र शव परीक्षण सुरु गरिएको थियो। बाँकी शवको परीक्षण भइरहेकाले मङ्गलवार बिहान आफन्तलाई हस्तान्तरण गरिने अस्पताल प्रशासनले जनाएको छ।

दुर्घटनामा हालसम्म फेला परेका ७० शवमध्ये २४ जनाको मात्र पोखरामा परीक्षण हुने अस्पतालको भनाइ छ। विदेशी नागरिक, पहिचान नखुलेका र चालक दलका सदस्यको शव काठमाडौँस्थित शिक्षण अस्पतालमा शव परीक्षण हुनेछ।

ती शवलाई हेलिकप्टरमार्फत मङ्गलवार काठमाडौँ लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शव परीक्षणका लागि काठमाडौँदेखि आएका फरेन्सिक विज्ञसहितको टोली खटिएको छ। विमानमा सवार बाँकी दुई यात्रुको अवस्था भने अझै अज्ञात छ।

दोस्रो पटकको फोन उठाए

परिवारलाई सान्त्वना दिन सोमबार दिउँसो नेकपा एकीकृत समाजवादीका नेता र स्थानीयवासीको भीड थियो पोखराको गणेशटोलस्थित मदनकाजी श्रेष्ठको घरमा।

बैठक कोठाको ‘लोबेड’ मा सुतिरहेका श्रेष्ठको आँखाबाट आँसु बगिरहेको देखिन्थ्यो। छिनछिनमा गम्छाले आँसु पुछिरहेको दृश्यले त्यहाँ पुग्ने आधिकाशंको आँखा पनि रसाइरहेको थियो।

त्यही समयमा सान्त्वना दिनकै लागि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले उनको मोबाइलमा फोन गरे तर पहिलो पटक श्रेष्ठको फोन उठेन, पुनः अर्को पटक फोन गरे, श्रेष्ठले दोस्रो पटकको फोन उठाए तर वाक्य स्पष्ट हुनै सकेन।

उनी छिनछिनमा नाति, छोरा र बुहारीलाई सम्झिएर भक्कानिए। विभिन्न रोगसँग लड्दै आएका श्रेष्ठलाई आइतबार पोखरामा भएको जहाज दुर्घटनाबाट परिवारमा परेको बज्रपातले झनै कमजोर बनाएको छ। उनका कान्छा छोरा, बुहारी र १५ महिने नातिको पोखराको सेती खोँचमा भएको जहाज दुर्घटनामा परेर निधन भएको छ।

परिवारसँग बसेर खुसीसाथ माघे सङ्क्रान्ति मनाउने सपना बोकेर काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको एटिआर दुर्घटनाले मदनकाजीका कान्छा छोरा ३८ वर्षीय डा सुशील श्रेष्ठ, बुहारी डा सोना श्रेष्ठ र १५ महिने नाबालक नातिको सपना अधुरै बन्यो।

आँखामा राखे पनि नबिझाउने, अनुशासित डा सुशील र उनकी पत्नी र छोराको निधनले गाउँ नै शोकमा डुबेको छिमेकी कृष्णमान पालिखेले बताए। ‘सबैलाई सम्मान र अनुशासित व्यक्तिको निधनले समाज र गाउँलाई नै टुहुरो बनाउँदो रहेछ,’उनले भने,‘भुल्छु भन्दा पनि उनीहरूले आफूप्रति गरेको माया र सम्मानलाई भुल्नै सक्दिनँ।’

विभिन्न टीकाटिप्पणीले प्राधिकरण तनावमा, जथाभाबी नबोल्न आग्रह

एकीकृत समाजवादीका नेता मदनकाजी पनि सामाजिक सेवामा दिनरात खटिने र छोरा सुशील पनि सरल स्वभावका थिए तर दुर्घटनाले परिवार नै समाप्त पारिदियो। सुशीलकी आमा पनि अर्धचेत अवस्थामा छन्। घरीघरी छोरा बुहारी र भरभराउने नातिको सम्झना आइरहन्छ उनलाई।

उनीहरू तीन जनाकै शव फेला परिसकेको छ तर शवहरू क्षतविक्षत अवस्थामा छन्। दुई वर्षदेखि राष्ट्रिय ट्रमा सेन्टरमा अर्थोपेडिक सर्जनका रूपमा कार्यरत थिए श्रेष्ठ। डा सोना पनि एमडी गर्दै थिइन। डा सुशीलले काठमाडौँ मेडिकल कलेजबाट एमबिबिएस पढेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका थिए।

तीनै जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको छ। मङ्गलवार मात्र शव बुझाउने तयारी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको छ।

मृतकका आफन्तहरू दिनभर शव प्राप्त गर्ने प्रतीक्षामा अस्पतालमा बसेको भए पनि शव प्राप्त गर्न नसक्दा निराश भएर फर्किएका छन्। शल्य परीक्षण ढिला हुँदा मृतकका आफन्तले सोमबार शव बुझ्न सकेनन्।

रासस

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading