विमान दुर्घटना

विभिन्न टीकाटिप्पणीले प्राधिकरण तनावमा, जथाभाबी नबोल्न आग्रह

विभिन्न टीकाटिप्पणीले प्राधिकरण तनावमा, जथाभाबी नबोल्न आग्रह

काठमाडौं : पोखरामा यति एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरूको शव मङ्गलवार मात्रै आफन्तलाई बुझाइने भएको छ।

दुर्घटना स्थलबाट सङ्कलन गरेर ल्याइएका शवलाई पोखरामै पोस्टमार्टम गरेपछि आफन्तलाई सोमबार नै बुझाउने भनिए पनि साँझ भएकाले आफन्तकै सल्लाहमा मङ्गलवार मात्रै बुझाइने कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जानकारी दिए।

क्रु मेम्बर, विदेशी र पहिचान नभएकाको शव मङ्गलवार काठमाडौँको त्रिभुवन शिक्षण अस्पतालमा ल्याएर पोस्टमार्टम गर्ने तयारी छ। चालकदल र विदेशी नागरिकसहित ४६ जनाको शव काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकप्टर पोखरा पुगिसकेको छ।

हालसम्म विमानमा सवार ७२ जना मध्ये ७० जनाको मृत्यु भएको पुष्टि भएको छ। बेपत्ता भएका २ जनाको खोजी कार्य जारी रहेको सेनाले जनाएको छ। ज्यान गुमाएका मध्ये अहिले सम्म ४४ जनाको सनाखत भएको छ। मृतका आफन्तले भने शव दिन ढिलाइ गरेको भन्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम गृहमा नाराबाजीसमेत गरेका थिए।

थोत्रो विमान चलाएर आफन्त पनि मार्ने अनि शव पनि नदिने भन्दै उनीहरू आक्रोशित भएका थिए। सरकारले मृतकका आफन्तहरूका लागी पोखरामा खाने बस्ने व्यवस्था गरेको जनाएको छ।

आन्तरिक उडान तर्फ अहिलेसम्मकै ठुलो दुर्घटना, शोक मनाउन सार्वजनिक बिदा

खोजी तथा उद्धारको क्रममा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स सेती खोँचमा भेटिएको छ। नेपाली सेनाका प्रवक्ता कृष्ण भण्डारीका अनुसार बेपत्ताहरूको शव खोजीका क्रममा ब्ल्याक बक्स भेटिएको हो। खोजी तथा उद्धारको काम मङ्गलवार पनि जारी रहेन भण्डारीले बताए।

ब्ल्याक बक्स विमान दुर्घटना जाँच आयोगलाई बुझाइएको छ। लगत्तै आयोगले सोमबारदेखि नै अनुसन्धान सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। विमान दुर्घटनाबारे विभिन्न टीकाटिप्पणी प्राधिकरण हैरान भएको छ।

प्राधिकरणले पोखरा विमान दुर्घटनाका बारेमा अनावश्यक टिका टिप्पणी नगर्न पूर्वकर्मचारीलाई अनुरोध गरेको छ। दुर्घटनाबारे छानबिन गर्न बनेको समिति अनुसन्धानकै क्रममा रहेकाले सत्य तथ्य छिटै पत्ता लाग्ने भन्दै प्राधिकरणले जथाभाबी नबोल्न भनेको हो।

दुर्घटनामा पर्ने युवकले फेसबुकमा लाइभ गरेको भन्ने सामाजिक सञ्जालमा आइरहेको भिडियो हिजोको दुर्घटनाको नभएको प्राधिकरणले स्पष्ट पारेको छ। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले घटनाका विषयमा कसैले पनि विश्लेषण गरेर विज्ञता देखाउनुपर्ने आवश्यकता नभएको बताए।

दुर्घटना भए लगत्तै यससँग सम्बन्धित विषयमा प्रत्यक्षदर्शी सर्वसाधारणदेखि पूर्व कर्मचारीसमेतको अन्तरवार्ता सामाजिक सञ्जाल तथा युट्युबहरूमा भाइरल बनिरहेको छ। प्राधिकरणले प्रकाशन गरेको विज्ञप्ति र प्राधिकरणका बहालवाला अधिकारीहरूबाट पाएको सूचना तथा जानकारीलाई मात्र प्रकाशन प्रसारण गर्न अनुरोध गरेको छ।

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले विमान दुर्घटनामा निधन भएकाहरूको बिमा दाबी भुक्तानीमा कुनै समस्या नरहेको बताएका छन्।

राष्ट्रिय विपद्, जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकपछि अध्यक्ष सिलवालले बिमा दाबी भुक्तानीमा कुनै समस्या नरहेको बताए। विमान दुर्घटनाको शोकमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको थियो। बिदा दिने सरकारको निर्णयको भने आलोचना भइरहेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading