विमान दुर्घटना

आन्तरिक उडान तर्फ अहिलेसम्मकै ठुलो दुर्घटना, शोक मनाउन सार्वजनिक बिदा

आन्तरिक उडान तर्फ अहिलेसम्मकै ठुलो दुर्घटना, शोक मनाउन सार्वजनिक बिदा

काठमाडौं : पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको १५ दिनमै यति एयरलाइन्सको विमान दुर्घटना भएको छ। विमानमा सवार ७२ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

काठमाडौँबाट पोखरा उडेको विमान अवतरणको क्रममा २ किलोमिटर नजिकको सेती खोँचमा खसेर दुर्घटनाग्रस्त भएको हो। अङ्ग्रेजी नयाँ वर्षको दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नु भएको अन्तर्राष्ट्रिय विमानस्थल नजिक विमान दुर्घटना हुँदा चालक दलका चार सदस्य सहित ७२ यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

विमानका चालक दलका सदस्य कमल केसी, अन्जु खतिवडा, सृजना होंगचुन र ओसिन आले मगरसहित मृत्यु भएका यात्रुको शव पोस्टमार्टम गरेर भोलि मात्रै परिवारको जिम्मा लगाइने छ। कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले मृत्यु भएका ७२ मध्ये ४ जनाको शव निकाल्ने क्रममा रहेको जानकारी दिए।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाले शव पोस्टमार्टम गरिसके पछि परिवारको जिम्मा लगाइने जानकारी दिए। को–पाइलट अन्जु खतिवडाका श्रीमान् दीपक पोखरेलको पनि यती एयरलाइन्स दुर्घटनामै मृत्यु भएको थियो।

विराटनगर–५ की खतिवडाका श्रीमान् दीपकको सन २००६ मा सुर्खेत जुम्लाका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा परेर ज्यान गएको थियो। अन्जुसँगै जहाज उडाएका पाइलट कमल केसीले अन्जुलाई क्याप्टेनमा पास गराउने आइतबार अन्तिम उडान गराएका थिए। एयरहोस्टेस ओसिन आलेमगर करिब ५ महिना अगाडि मात्रै यती एयरलाइन्समा भर्ती भएका थिए।

पाइलटले चान्स लिँदा दुर्घटनाको जोखिम, विमानको आयु तोक्ने कसले?

विमान दुर्घटनामा ज्यान गुमाउनेमा केही पत्रकार, कलाकार, डाक्टर र शिक्षक पनि परेका छन्। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवं प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेलको विमान दुर्घटनामा निधन भएको छ। पोखरामा रहेर पत्रकारिता गर्दे आएका ३७ वर्षका पौडेलका आमा, श्रीमती र नाबालक एक छोरा छन्।

पोखराको एक कार्यक्रममा आफ्नो प्रस्तुति दिन जाने क्रममा लोक गायिका नीरा छन्त्यालको निधन भएको छ। पोखरा उड्नु अघि नीराले फेसबुकमा माघे सङ्क्रान्तिको तस्बिर र शुभकामना पोस्ट गरेकी थिइन।

गिटारिस्ट निशान्त आचार्यले पनि ज्यान गुमाएका छन्। विभिन्न गीत, लाइभ कार्यक्रमका साथै युट्युबमा निशान्तले गिटार बजाएर भिडियो अपलोड गर्ने गरेका थिए।

विमान दुर्घटनामा दुई जना चिकित्सकको पनि मृत्यु भएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३३ वर्षीय डा. सुशील श्रेष्ठ र उहाँकी श्रीमती डा. सोना दिवाकर विमानमा सवार थिए। उनीहरूसँगै १० महिनाका बच्चा पनि थिए।

विमान दुर्घटनामा ज्यान गुमाउनेमा पर्वतको कुस्मा ९ कटुवा चौपारिका बाबु छोरी पनि छन्। ४६ वर्षका अरुण पौडेल र उहाँकी ११ वर्षकी छोरी प्रसिद्धि पौडेलले एकसाथ मृत्युवरण गर्नुपरेको छ। ९ वर्ष कोरियामा बसेर फर्किएका पौडेल गत मङ्सिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा पर्वतबाट स्वतन्त्र उम्मेदवार बनेका थिए।

दुर्घटनामा परेर १५ जना विदेशी नागरिकको मृत्यु भएको छ। जसमा चार जना रुसी नागरिक छन्। तीमध्येकी एक शनिवार मात्र नेपाल आएकी इलिना बान्डुरोले पोखरा जाँदै गर्दा इन्स्टाग्राम स्टोरीमा माछापुच्छ्रेको फोटोसँग आफ्नो फोटो राख्दै ‘गो टु नेपाल’ लेखेकी थिइन।

शोकको घोषणा

विमान दुर्घटनामा ७२ जनाको मृत्यु भएपछि सरकारले सोमबार राष्ट्रिय शोकको घोषणा गरेको छ। विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै सरकारले शोक मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकारले सबै वायुसेवा कम्पनीलाई उडानअघि अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिने निर्णय पनि आइतबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले गरेको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

दुर्घटनाको कारण पत्ता लगाएर सुझावसहितको प्रतिवेदन दिन सरकारले पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ। पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा गठित आयोगको सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला, सुनिल थापा, एकराजजङ थापा र सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्।

आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ। नेपालमा पहिलो अन्तर्राष्ट्रिय हवाई दुर्घटना बाराको सिमरामा भएको थियो। हालसम्म नेपालमा १०८ वटा हवाई दुर्घटना भएका छन्।

यती एयरलाइन्सको हकमा भने यो चौथो दुर्घटना हो। मानवीय क्षतिको हिसाबले पनि आज पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना आन्तरिक उडानतर्फको सबैभन्दा ठुलो हो।

हालै सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेकै जहाज दुर्घटनामा परेको हो। सरकारले हवाई दुर्घटना लगत्तै अनुसन्धानका लागि पटक–पटक उच्चस्तरीय छानबिन समिति बनाउने, प्रतिवेदन तयार पार्ने र कार्यान्वयनका लागि सिफारिस गर्ने गरेको छ। तर प्रतिवेदन कार्यान्वयन गर्नेतर्फ ध्यान दिन नसक्दा समस्या दोहोरिने गरेको छ।

दुख व्यक्त

पोखरा विमान दुर्घटनाप्रति देशदेखि विदेशसम्मले दुःख व्यक्त गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीदेखि मित्रराष्ट्र अमेरिकासम्मले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन्।

काठमाडौँस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत दुर्घटना अत्यन्त मर्माहत भएको उल्लेख गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेको छ। चिनियाँ राजदूत छेन सोङले ट्विट गर्दै दुःखद घडीमा नेपाली जनताका साथमा रहेको बताएका छन्। पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै आफ्नो प्रार्थना शोक सन्तप्त परिवारका सदस्यसँग रहेको उल्लेख गरेको छ।

राष्ट्रपति भण्डारीले ट्विट गर्दै दुर्घटनामा जीवन गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेकी छन्। पूर्वराजा ज्ञानेन्द्र शाहले पनि शोक विज्ञप्ति निकालेर दुख व्यक्त गरेका छन्।

दुर्घटनाप्रति नेपालका राजनीतिक दलका नेताहरूले पनि दुख व्यक्त गर्दै पछिल्लो समय बढिरहेको हवाई तथा सवारी दुर्घटना रोक्नका लागि उचित पहल गर्न सम्बन्धित पक्षले ध्यान दिन जरुरी रहेको उल्लेख गरेका छन्।

राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको कार्यक्रम स्थगित भएको छ। पोखरामा विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिइएकाले कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading