निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

पूर्वगठबन्धन भत्काउने एमालेसँग बदला लिने काँग्रेसको दाउ

पूर्वगठबन्धन भत्काउने एमालेसँग बदला लिने काँग्रेसको दाउ

491
SHARES

काठमाडौं : बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकले सभामुख चयन गर्दै छ। सभामुखमा काँग्रेस र एमाले भिड्दै छन्। एमालेका सांसद देवराज घिमिरे र काँग्रेसका ईश्वरी न्यौपानेले सभामुखमा उम्मेदवारी दिएका छन्।

घिमिरेको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज पाण्डे, रवि लामिछाने र राजेन्द्र लिङ्देन छन्। न्यौपानेको प्रस्तावकमा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला छन्।

एमालेका घिमिरेले सत्तापक्षको बहुमत रहेकाले सभामुखमा आफ्नो जित निश्चित रहेको दाबी गरेका छन्। ‘म त्यो जिम्मेवारीमा पुग्ने कुरा त निश्चितै छ,त्यसलाई हिजोका शिक्षाबाट व्यवस्थित गर्दै आरोप प्रत्यारोप, पूर्वाग्रहबाट यथार्थको आधारबाट अगाडि लैजान भूमिका रहन्छ,’उनले भने।

घिमिरेको दाबीलाई चुनौती दिँदै न्यौपानेले लोकतन्त्रमा हार्नका लागि कोही पनि चुनाव लड्दैन भन्ने जवाफ दिएकी छन्। ‘म डेमोक्र्याट हो,पार्टीमा विश्वास गर्छु,निर्वाचन भनेपछि एउटा जित्ने अर्को हार्ने पक्कै पनि हुन्छ’उनले भनिन्,‘निर्वाचनमा जाँदै गर्दा हार्छु भनेर कोही पनि जाँदैन,मैले पनि यो निर्वाचन पक्कै जित्छु भन्ने सुनिश्चितताका लागि गएको छु।’

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सरकार सत्तापक्षको संसद् विपक्षी दलको भन्ने मान्यतालाई ध्यानमा राखेर विपक्षी दलहरूको तर्फबाट काँग्रेसले सभामुखको उम्मेदवार बनाएको बताए। राष्ट्रपति र सभामुख पद फुत्काउन काँग्रेसले केन्द्रदेखि प्रदेशसम्म विश्वासको मत दिएर सत्ता साझेदार दलहरूकै मत लिने रणनीति बनाएको छ।

काँग्रेसलाई सत्ता साझेदार दलसँग असन्तुष्ट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले सघाउने देखिएको छ।

रेसम चौधरीलाई छुटाउने पहल नथालेको भन्दै सरकारसँग रिसाएको नागरिक उन्मुक्ति पार्टी र मागेको मन्त्रालय नपाएको जनमत पार्टीलाई समेत काँग्रेसले फकाइरहेको छ।

पुस १० मा काँग्रेससँगको गठबन्धन तोडेर एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्ड सबै दलसँग छलफलमा छन्।

काँग्रेसले राष्ट्रपतिमा दाबी गरेर प्रधानमन्त्री प्रचण्डलाई फकाउन थालेपछि पुस १० को सहमतिमा दायाँबायाँ हुने संशय एमालेले व्यक्त गर्न थालेको छ।

काँग्रेस पूर्वगठबन्धन भत्काउने एमालेसँग वर्तमान गठबन्धन भत्काएर बदला लिने योजना बनाएको छ। काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षको कर्तव्य संसद्मा उभिएर सरकारलाई खबरदारी गर्ने रहेको बताए।

‘संसद्को नेतृत्व गर्ने गरी सभामुख बन्न सक्छौ अथवा देशको राष्ट्रपति लिएर जान सक्दछौ भन्ने कुराको अग्रसरता नेपाली काँग्रेस राख्दछ,’शर्माले भने,‘परिस्थितिवश कारणवश हामी प्रतिपक्षमा गयौ होला, तर जनताले मत दिँदै गर्दा काँग्रेसलाई सबैभन्दा ठुलो दलको रूपमा मत दिनु भएको हो।’

समाचार शेयर गर्नुहोस्
491
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.