आयोडिन मन्थ : साल्ट ट्रेडिङको चेतना मूलक गतिविधि

आयोडिन मन्थ : साल्ट ट्रेडिङको चेतना मूलक गतिविधि

काठमाडौँ : फेब्रुअरी महिना आयोडिन मन्थका रूपमा मनाइदैछ। आयोडिन सम्बन्धी चेतनामूलक सन्देश लेखिएको सपिङ झोला, स्कुल झोला, टी–सर्ट तथा पम्पलेट जस्ता सामग्री वितरण गर्ने तयारी साल्ट ट्रेडिङ कर्पोरेसनले गरेको छ।

विभिन्न विद्यालय तथा हाट बजारमा टोली खटाएर आयोडिनको महत्त्वबारे जनचेतना जगाउन कार्यक्रम सञ्चालन गरिनेछ। आयोडिनयुक्त नुनको प्रवर्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोडिन मन्थ मनाउन थालेको कर्पोरेसनले जनाएको छ।

आयोडिन पाइने खानेकुरा दिनहुँ खानामा खानुपर्छ, दुई बालबालिकाको लोगो भएको आयोडिनयुक्त प्याकेटको नुन खानुपर्छ। आयोडिनको कमी भएको थाहा पाउने बित्तिकै उपचार गर्न नजिकको स्वास्थ्य चौकीमा जानुपर्छ।

आयोडिनको कमी भएमा गलगाँड देखिन्छ। मानिस सुस्त मनस्थितिको हुन्छ। शारीरिक र मानसिक वृद्धि र विकासमा कमी आउँछ र वाम पुड्के, लाटो लठेब्रो हुन्छ। सम्झने शक्ति कम हुन्छ र पढाइमा कमजोर हुन्छ।

गलगाँड आएपछि रोगीलाई काम गर्न, यताउता हिँडडुल गर्न, बोल्न अप्ठेरो हुन्छ। यसका साथै उसलाई मानसिक चिन्ता पर्छ र मनोवैज्ञानिक रूपमा हीनता बोध हुन्छ। गलगाँड ठुलो भएमा श्वास नली थिचिएर मृत्यु हुने खतरा हुन्छ। गर्भवती महिलामा आयोडिनको कमी भएमा गर्भमा रहेको बच्चा मर्न सक्छ।

आयोडिनको कमीबाट हुने विकृति निवारण सम्बन्धी जनचेतना जगाउन युनिभर्सल साल्ट आयोडाइजेशनको सदस्य राष्ट्रको हैसियतले नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ घोषणा गरी आयोडिन सम्बन्धी चेतना मूलक गतिविधि सञ्चालन गरिँदै आएको कर्पोरेसनले जनाएको छ।

आयोडिनको कमीबाट हुने शारीरिक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरूबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरूलाई क्रमशः स्वास्थ्य चौकीहरूमा कार्यक्रम, विद्यालयमा कार्यक्रम, हाटबजारमा माईकिङ्ग, चेतना मूलक सामग्री वितरण, प्रदर्शनी कक्षा स्टल राख्ने जस्ता गतिविधि महिनाभरि सञ्चालन गर्ने साल्ट ट्रेडिङ्ग कर्पोरेसन लि. ले जनाएको छ।

नेपाल सरकारले विगत ५९ वर्ष देखी साल्ट ट्रेडिङ कर्पोरेसन लि.लाई देशभर आयोडिनयुक्त नुनको आपूर्तिको जिम्मेवारी दिएको छ। साल्ट ट्रेडिङ्ग कर्पोरेसन लि.ले ग्रामीणस्तर सम्म आयोडिन सम्बन्धी चेतनामूलक गतिविधिका साथै दुईवालवालिका चिन्ह अङ्कित पाकेट नुन सुलभ मूल्यमा बिक्री वितरण तथा जनचेतनाका कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।

आयोडिनको कमीबाट उत्पन्न विभिन्न विकृतिहरु मध्ये Visible Goiter सन १९८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न गएको र सो हाल समुदायमा देखिएको छैन। नेपाल सरकारले दिएको निर्देशन अनुसार यस कपरिशनले आयोडिनयुक्त नूनको आपूर्ति गर्दै आएको र नेपाल सरकारले लिएको सह शताब्दी विकास लक्ष अनुरूप सन् २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्ने घर संख्या १० प्रतिशतमा पुर्याउने लक्ष्य लिएकोमा सन् २०१६ को नेपाल सरकारले गरेको NNMS सर्वे अनुसार ९१.० प्रतिशत घर परिवारले उपयुक्त मात्रामा आयोडिन भएको नून उपभोग गरेको पाईएको छ भने सन २०१६ मा नेपाल सरकारले गरेको NDHS सर्वे अनुसार ९४.५ प्रतिशत ५ वर्ष मुनिका वालवालिकाले उपयुक्त मात्रामा आयोडिन भएको नून उपभोग गरेको पाईएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.