प्रधानमन्त्री प्रचण्ड आफू अनुकूल राष्ट्रपतिको खोजीमा

प्रधानमन्त्री प्रचण्ड आफू अनुकूल राष्ट्रपतिको खोजीमा

काठमाडौं : राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा दलहरू आन्तरिक तथा बहुपक्षीय छलफलमा व्यस्त हुन थालेका छन्। निर्वाचन कार्यतालिका अनुसार फागुन १३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ।

चुनाव अघिको गठबन्धन तोडेको एमालेसँग काँग्रेसले बदला लिने रणनीति बनाएको छ। काँग्रेसले एमालेसँगको गठबन्धन तोड्दा प्रधानमन्त्री पद नगुम्ने पुष्पकमल दाहाल प्रचण्डलाई आश्वस्त पार्ने प्रयास गरिरहेको छ। प्रचण्डले पनि एमालेसँग भन्दा चुनावअघिको पुरानो गठबन्धन ब्युँताउने अभिव्यक्ति दिन थालेका छन्।

पुस १० मा प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको एमाले प्रचण्डले पुरानो गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने सङ्केत दिएपछि तनावमा परेको छ। एमाले नेताहरू पुस १० को सहमति अनुसार राष्ट्रपति आफूले पाउनु पर्ने दबाब दिइरहेका छन्।

तर, प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिमार्फत मुलुकका समस्या समाधान गर्नुपर्ने भन्दै राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति खोजेको बताएका छन्।

सोमबार पोखराको लेखनाथमा माओवादी केन्द्र गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेको बताए।

‘राजनीतिमा दूषित हावा देखिएको छ, अर्थतन्त्र अप्ठ्यारो ठाउँमा छ। १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन जुन शक्ति एक ठाउँ उभिएका थिए। फेरि पनि ती शक्तिहरू एक ठाउँ उभिन आवश्यक छ,’प्रचण्डले भने,‘राष्ट्रिय सहमतिमार्फत मुलुकका समस्या समाधान गर्नुपर्छ। राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्तर्य पनि यही हो।’

सहमति खोज्ने जिम्मा प्रचण्डलाई

नेकपा माओवादी केन्द्रको सोमबार बसेको पदाधिकारी बैठकले प्रचण्डलाई नै राष्ट्रपति उम्मेदवारमा सहमति खोज्ने जिम्मा दिएको छ।

कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा बसेको पदाधिकारी बैठकले सकेसम्म स्वार्थ सहितको सहमति खोज्ने नभए प्रधानमन्त्रीले अन्तिम निर्णय लिने माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए।

माओवादीले राष्ट्रपतिमा गणतन्त्र, संविधानको रक्षा र शान्ति प्रक्रिया टुङ्ग्याउन सहमत हुनु पर्ने सर्त पनि राखेको छ। ‘यो सर्तमा राष्ट्रिय सहमति खोजी गर्ने कुरा नीति हुनुपर्छ भन्ने छलफल भयो,’प्रवक्ता महराले भने,‘अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई अन्तिम निर्णय गर्ने जिम्मा दिइयो।’

आफू अनुकूल खोज्ने प्रयास

नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा आफू अनुकूल व्यक्ति खोज्ने प्रयास गरेको छ। काँग्रेस र एमाले भिडाएर माओवादीले राष्ट्रपति आफू अनुकूल बनाउने प्रयास गरेको माओवादीका महासचिव देव गुरुङले सङ्केत गरेका हुन्।

नेपालको पहिलो राष्ट्रपति काँग्रेसका डा.रामबरण यादवले तत्कालीन प्रधानसेनापति रुक्मागत कटवाल प्रकरण र दोस्रो राष्ट्रपति एमालेका विद्यादेवी भण्डारीले संविधान विपरीतका काम गरेको भन्दै माओवादीले आफू अनुकूल राष्ट्रपति खोजेको छ।

‘विगतकालमा संविधानको भावना विपरीत जाँदा कटवाल प्रकरण के भएको थियो, किन उल्टाए राष्ट्रपतिले?’माओवादी महासचिव गुरुङले प्रश्न गरे,‘सरकारले गरेको सिफारिस स्वीकृत गर्नु पर्ने होइन राष्ट्रपति?’

उनले दलको मान्यताका कारण दुई दुई पटक संसद् भङ्ग गरेको आरोप पनि लगाए। ‘दुई दुई पटक संसद् भङ्ग गर्‍यो, के कारणले भङ्ग गर्‍यो त भन्दा दलको मान्यताका कारण भङ्ग गरेको होइन त्यो?’गुरुङले प्रश्न गरे,‘सरकारबाट सिफारिस गरेको कुरालाई किन तुहायो, यो संविधान विपरीतको हो कि संविधानको फलो हो?’

महासचिव गुरुङले राष्ट्रपति चयन गठबन्धनको विषय नभएको समेत बताएका छन्। ‘राष्ट्रपतिको मामला गठबन्धन, सत्ता पक्ष या विपक्षको मामला होइन,’उनले भने,‘सत्ता र विपक्षको मामला भनेर संविधानमा कहाँ लेखेको छ?हुँदै नभएको हावादारी कुरा गर्ने।’

मतदानकै दिन परिणाम

निर्वाचन आयोगले नयाँ राष्ट्रपति निर्वाचनको परिणाम मतदान भएकै दिन सार्वजनिक गर्ने जनाएको छ। राष्ट्रपति चयनका लागि फागुन २५ गते मतदान हुँदै छ।

आधिकारिक रूपमा जनगणनाको नतिजा प्राप्त नभएकोले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतभार २०६८ सालको जनगणनाको आधारमा गरिने भएको छ।

नयाँ बानेश्वरमा निर्वाचन अधिकृतको कार्यालय स्थापनपछि पत्रकारहरूसँग कुरा गर्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान सकिने बित्तिकै मत गणना गर्ने र बेलुकी सात बजे भित्र परिणाम सार्वजनिक गर्ने बताए।

‘अहिलेको योजना अनुसार ३ बजे मतदान कार्य सम्पन्न गर्नेछौ र चार बजेदेखि मतगणना गरेर ७ बजे भित्र नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरिएको छ,’प्रमुख आयुक्त थपलियाले भने।

उनले बताए। सङ्घीय र प्रदेशको मतभार फरक फरक हुने भएकाले निर्वाचनका लागि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा छुट्टा छुट्टै दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको उनले जानकारी दिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading