राष्ट्रपतिको चर्चामा पूर्वप्रधानमन्त्रीहरु : संविधानले दिएको अधिकार के हो?

राष्ट्रपतिको चर्चामा पूर्वप्रधानमन्त्रीहरु : संविधानले दिएको अधिकार के हो?

काठमाडौं : राष्ट्रपति पदका लागि चर्चामा छन् एकीकृत समाजवादीका नेता माधव कुमार नेपाल। उम्मेदवार मनोनयन गर्ने दिन आउन साता बाँकी नहुँदा नेकपा एमाले विभाजन गरेका नेपाल राष्ट्रपति उम्मेदवार बन्ने चर्चा बालुवाटारबाटै बाहिरियो।

नेपाली काँग्रेसका नेताहरूले आइतबार बेलुकी बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर निस्किएपछि राष्ट्रपतिको नाममा एकाएक नेपाल चर्चामा आए। ‘नेकपा एमालेले राष्ट्रपतिमा माधव कुमार नेपालको नाम प्रस्ताव गर्ने सम्भावनाबारे काँग्रेस अलमलमा पर्‍यो,’स्रोतले भन्यो,‘प्रचण्डले उहाँ(नेपाल)को नाम लिएपछि काँग्रेस नेताहरू अक्क न बक्क जस्तै बने।’

काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा पुगेका थिए बालुवाटार। बालुवाटार भेटपछि सभापति देउवाले पार्टीमा छलफल गरेका छैनन्। मङ्सिर ४ को चुनावी परिणामपछि मिति तोकेर केन्द्रीय समितिको बैठक सारिरहेको काँग्रेस राष्ट्रपति उम्मेदवारको नाम टुङ्गो लगाएको छैन।

प्रधानमन्त्री नछोड्ने अड्डी कस्दा केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्ष बनेको छ काँग्रेस। प्रतिनिधि सभामा ठुलो दल काँग्रेसले सभामुख र उपसभामुखमा पराजय भोग्नु पर्‍यो। राष्ट्रिय सभामा रिक्त एक सदस्य उम्मेदवार पनि पराजित भए।

काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति उम्मेदवारबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएको अघिल्लो दिन राति बालुवाटार पुगेर छलफल गरेको हो। राष्ट्रपति र उपराष्ट्रपति पदमा एक अर्कालाई सघाउन दलहरूका गठबन्धन छन्।

चुनाव अघिको गठबन्धन भत्किएको छ। गठबन्धन भत्काएका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बदला लिन काँग्रेस प्रचण्डको नाडी छामिरहेको छ। सरकारलाई विश्वासको मत दिएर काँग्रेसले एमाले अध्यक्ष ओलीको चेपुवामा पर्नुपर्ने बाध्यता हटाएको छ।

प्रधानमन्त्री प्रचण्डले गृह मन्त्री आफैँसँग राखेका छन्। उनीसँग अहिले वन तथा वातावरण, युवा तथा खेलकुद, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय छन्। सरकार गठन भएको दुई महिनासम्म प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छैनन्।

सरकारलाई पूर्णता दिने विषयमा सत्ता साझेदार एमालेले पनि दबाब दिन सकेको छैन। कारण सत्ता गठबन्धनबाट बाहिरिनुपर्ने चिन्तामा छ एमाले। पुस १० को सहमतिको रटान लगाइरहेको एमालेलाई प्रधानमन्त्री प्रचण्डले नै राष्ट्रपतिमा माधव कुमार नेपालको नाम चर्चामा ल्याइदिएर झस्काइदिएका छन्।

प्रचण्डले नेपालको नाम प्रस्ताव गरेपछि काँग्रेसमा शेरबहादुर देउवालाई राष्ट्रपति बनाउने चर्चा हुन थालेको छ। चुनाव अघिसम्म पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र चुनावी परिणामपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाम चर्चामा थियो। देशको तेस्रो राष्ट्रपतिमा पूर्वप्रधानमन्त्री भट्टराई, खनाल, नेपाल हुँदै देउवाको नाम चर्चामा आएको छ।

माधव नेपाललाई पार्टी एकता गर्ने सर्तमा राष्ट्रपति बनाउन समर्थन गर्ने एमालेको प्रस्तावलाई एकीकृत समाजवादीले पनि केपी ओलीलाई राष्ट्रपति बनाउन समर्थ गर्ने जवाफ फर्काएको छ। एमाले र एकीकृत समाजवादी दुवैले पार्टी भित्र नेपाल र ओलीको नाममा छलफल भने नभएको बताएका छन्। एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष ओलीलाई दिएको बताए।

पूर्वप्रधानमन्त्री नेपाल सोमबार नै प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेर लुम्बिनी प्रदेश पुगेका छन्। मङ्गलवार भालुवाङमा एकीकृत समाजवादीको प्रदेश कमिटी बैठकमा सहभागी भएका नेपाल मङ्गलवारै काठमाडौं फर्कने उनको निजी सचिवालयले जानकारी दिएको छ। सचिवालयले राष्ट्रपतिमा आएका कुरा हल्ला मात्रै भएको दाबी समेत गरेको छ।

देशको कार्यकारी प्रमुख भइसकेका व्यक्ति सेरेमोनियल राष्ट्रपति बन्ने चर्चा चर्चामा मात्रै सीमित हुने देख्छन् एमाले उपाध्यक्ष नेम्वाङ। संविधानको धारा ६६ मा राष्ट्रपतिको काम, कर्तव्य र अधिकारको व्यवस्था छ।


राष्ट्रपतिले संविधान बमोजिम अधिकारको प्रयोग वा कर्तव्यको पालन गर्दा संविधान वा सङ्घीय कानुन बमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको कार्य बाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट हुने लेखिएको छ। त्यस्तो सिफारिस र सम्मति प्रधानमन्त्री मार्फत पेस हुने संविधानमा व्यवस्था छ।

राष्ट्रपति बन्ने चर्चा भएका पूर्वप्रधानमन्त्रीहरुले कार्यकारी अधिकार प्रयोग गरिसकेका छन्। उनीहरूले सेरेमोनियल पदमा जान खोज्ने लोभलालच देखाउन हुँदैन। तर, राष्ट्रपति बन्न प्रस्ताव गर्नेहरूसँग गमक्क पर्ने पूर्वप्रधानमन्त्रीहरुले राष्ट्रपति बनेर कार्यकारी अधिकार प्रयोग गरे देश नै डुब्न सक्ने खतरा हुने संविधानविद्हरू बताउँछन्।

संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ सिस्टम बुझेका पूर्वप्रधानमन्त्रीहरुले राष्ट्रपतिमा जाने इच्छा देखाएको भन्नेमा विश्वास नरहेको बताए। नेम्वाङले पहिचानसँग भने,‘सिस्टम सबै बुझेका नेताहरूले यसरी राष्ट्रपतिमा जाने इच्छा देखाउनु भो भन्ने मलाई विश्वास छैन।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading