महिला र पुरुषका बिच एकको भन्दा अर्काको व्यक्तित्वलाई बढाएर मानव समाजको कल्पना गर्न सकिँदैन। बढाए समानतामा आधारित समाज बन्न सक्दैन। शारीरिक बनावटमा भएको भिन्नताकै कारण यति धेरै विभेद भने हुनु हुँदैन। परम्परागत कुसंस्कार र सामाजिक धारणाका कारण महिलाको सामाजिक र आर्थिक मर्यादास्तर निम्न रहेको हो।
छोरा वा छोरी भन्न उसको लिङ्गका आधारमा सकिन्छ जुन प्राकृतिक हो र अपरिवर्तनीय पनि छ। महिला र पुरुषमा शारीरिक भिन्नता छ र उनीहरूको जैविक भिन्नता अपरिवर्तनीय छ। छोराछोरीले लगाउने लुगा, खेल्ने खेलौना अनि महिलाले घरको काम गर्ने र पुरुषले घरको काम गर्न नहुने विषयहरू प्राकृतिक होइनन्, सामाजिक हुन्।
महिलाले गर्भधारण गरी सन्तान उत्पादन गर्न सक्छन् भने पुरुषहरूले गर्भधारण गराउन सक्छन्। महिलाहरू आमा हुन्छन् भने पुरुषहरू बाबु। बच्चालाई महिलाले जन्म दिए पनि बाबुले पनि समय दिन सक्छन्। नयाँ पुस्ताका बाबु आमा भने केही सचेत छन्।
पुरुषले पनि छोराछोरीको हेरचाह र घरको काम महिलाहरूले जस्तै गर्न सक्दछन् र महिलाहरूले पनि पुरुषहरूले जस्तै घरबाहिरका काम गर्न सक्छन्। घर र विद्यालय दुवै स्थानको शिक्षामा यस धारणालाई समावेश गर्नुपर्दछ।
सामाजिक चालचलन, कामको विभाजन र भेदभाव गर्ने परिपाटी परिवार र समाजले चलाएका हुन्। धनी–गरिब र जातपात सामाजिक संरचनाले बनाएको हो। प्रकृतिले सबैलाई एकनास सिर्जिएको छ। तसर्थ सबै समान अवसरका दाबेदार हुन्।
महिलाहरू जस्तोसुकै परिस्थितिमा सहेर बस र पुरुषहरू आक्रामक बन भनेर सामाजिकीकरणले सिकाएको हो।
महिला–पुरुषबिच शारीरिक बनावटमा भिन्नता छ। यो भिन्नताकै कारण महिलाले दोस्रो दर्जाको नागरिकको स्थितिमा रहनुपर्ने भने होइन। शिक्षण संस्था, कानुनी संस्थालगायतले पितृसत्तात्मक मूल्य र मान्यतालाई प्रश्रय दिएका छन्।
केही समययता पितृसत्तात्मक स्वरूपबारे चर्चा गर्न थालिएको छ। केहीको भनाइ छ—‘यो मानिसद्वारा प्रतिपादित पद्धति हो, यसमा परिवर्तन सम्भव छ।’ तर पुरातनवादीहरू भन्दछन्—‘महिला र पुरुषमा शारीरिक बनोटमा भिन्नता छ, तसर्थ पुरुष प्रधानता स्वाभाविक हो र यस विषयमा चर्चा गर्नुपर्दैन।’
महिला र पुरुष भएकै कारण परम्परागत रूपमा महिलाले गर्नु हुँदैन भनिएका कार्यहरूमा महिलालाई र परम्परागत रूपमा पुरुषले गर्नु हुँदैन भनिएका कार्यहरूमा दुवैलाई संलग्न गराई समानतातर्फ उन्मुख गराउनु हो। महिला स्वास्थ्य, महिला हिंसा र महिला अधिकारका सवाल महिलाका मात्र होइनन्, तसर्थ यी विषयहरूमा पुरुषको पनि संलग्नता हुनुपर्छ।
समानतामा बाधक तत्त्वहरू पितृसत्तात्मक सोच र विशेषताहरूको विश्लेषण गरी समानताका लागि कार्य गर्न आवश्यक छ हालको सामाजिक संरचना पुरुषको बोलवाला भएको अर्थात् पुरुष प्रधान समाज हो। नियम–कानुन उनीहरूबाट बन्छ।
परम्परागत संस्कार, वेद, उपनिषद्, पुराण र धर्मग्रन्थहरूको प्रभावमा पुस्तौंपुस्ता हुर्किए। यी ग्रन्थहरूमा महिलाहरूको भरमार प्रशंसा सँगसँगै भरमार निन्दा गरिएको छ। प्रशंसा त्यस आधारमा गरिएको छ जति बेला महिलाहरू समाजले चाहेका मूल्यहरू, आदर्श, नम्र, लजालु, सहनशील, रूपवती, दुःख–कष्टमा नबोल्ने, घर–परिवारको सेवामा जीवन समर्पण गर्न सक्ने भए। यस्ता महिलालाई आदर्श महिलाको उपमा दिइयो।
अनि महिला स्वयंले पनि पुरुषमा आफूलाई अर्पण गर्न थाले। युगौँदेखि चलिआएका कुरीति, कुसंस्कार, जो महिला विकासका बाटोमा अवरोध छन्, तिनलाई बढवा दिने महिलाहरू पनि छन्। पुरुष प्रधान समाजका अवधारणाहरूलाई उनीहरूले पनि अपनाएका छन्।
महिला र पुरुषबिच काम विभाजन र श्रोत विभाजन गर्नमा अन्धविश्वास, परम्परागत कुसंस्कार, शिक्षा र सञ्चारको शैली, धार्मिक चालचलन, आर्थिक, सामाजिक र राजनीतिक सबै कारक तत्त्व हुन गएका छन्। आजसम्म पनि महिला शिक्षा र साक्षरतामा कमी, आर्थिक कारोबारमा महिलाहरूको नगण्य उपस्थिति, व्यवस्थापक र निर्णायक पदमा महिलाहरूको नगण्य सहभागिता रहनु आदि यसका प्रमाण हुन्। यिनै विषयहरूमा बहस पैरवी गर्ने दिन हो नारी दिवस। यो स्थानीय राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा मनाउन संयुक्त राष्ट्र सङ्घले आव्हान गरेको हो। यसको इतिहास विभिन्न देशमा विभिन्न प्रकारले भएको छ।
सुरुका समयमा भोट दिने अधिकारका लागि विश्वव्यापी रूपमा महिलाहरू लागे भने बिस्तारै सामाजिक विकासका लागि पनि लागि परे। आज आएर आर्थिक सशक्तीकरणका लागि लागिपरेका छन्। यसरी महिला विकासका लागि एकीकृत रूपमा अघि बढ्न आवश्यक भएको निर्क्योल भएको छ। यिनै विषयमा प्रगति समीक्षा गर्ने दिन नारी दिवस हो। नारी दिवस हरेक वर्ष मार्च ८ मा मनाउने गरिएको छ।
(लेखिका नारी चेतना केन्द्रकी संस्थापक हुन)
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.