केन्द्रीय तथ्याङ्क विभागले २०७८ सालमा गरेको जनगणना अनुसार पुरुषभन्दा महिलाको सङ्ख्या धेरै छ। जनगणनाको प्रारम्भिक नतिजामा नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।
१ करोड ४२ लाख ९१ हजार ३११ जना पुरुष छन् भने १ करोड ४९ लाख १ हजार १६९ जना महिला छन्। महिला र पुरुष भित्रकै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको सङ्ख्या भने सार्वजनिक भएको छैन।
जनसङ्ख्यामा धेरै भए पनि प्रतिनिधित्वका हिसाबले महिलाको सङ्ख्या कम छ। सङ्घीय संसद्मा सयमा ३३ जना महिला सांसदको प्रतिनिधित्व हुन थालेको छ। सरकारी निकायमा प्रवेश गर्ने महिलाको सङ्ख्या पनि पुरुषको तुलनामा कम छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय किताब खानाको २०७८ साउन महिनासम्मको तथ्याङ्क अनुसार निजामती सेवामा रहेका ८८ हजार २४४ कर्मचारीमध्ये पुरुष कर्मचारीको सङ्ख्या ६४ हजार ७०६ रहेको छ। प्रतिशतका हिसाबले यो ७३ प्रतिशत हो। महिला कर्मचारीको सङ्ख्या २३ हजार ५३८ अर्थात् २७ प्रतिशत रहेको छ।
महिलाको प्रतिनिधित्व कम हुनुको कारण खोजी गर्ने सञ्चारमाध्यममा कार्यरत पत्रकार महिलाको सङ्ख्या पनि पुरुषको भन्दा कम छ। डब्लुडब्लुजेको तथ्याङ्क अनुसार देशभरका सञ्चारमाध्यममा २०० जना महिला पत्रकार सक्रिय छन्। रुपन्देही जिल्लामा ३१ जना महिला पत्रकार क्रियाशील छन्।
सञ्चारमाध्यममा महिला पत्रकारको प्रवेश भने बढ्न थालेको छ। नेपाल पत्रकार महासङ्घमा १३ हजार ७७ जना पत्रकार सदस्यमध्ये पुरुष पत्रकारको सङ्ख्या १० हजार ६६९ छ भने महिला पत्रकारको सङ्ख्या २ हजार ४०८ रहेको छ।
प्रदेशमा पुरुष पत्रकारको सङ्ख्या हजार पुग्दा महिला पत्रकारको सङ्ख्या भने सयमै छ। प्रदेश नम्बर १ मा १ हजार ६१२ पत्रकारमध्ये पुरुष पत्रकार १ हजार २७१ जना छन् भने महिला पत्रकार ३४१ जना छन् । मधेस प्रदेशमा ७९९ पत्रकारमध्ये ६९२ पुरुष पत्रकार हुँदा महिला पत्रकार १०७ जना छन्।
बागमती प्रदेशमा १ हजार ३०१ जना पत्रकारमध्ये पुरुष ९९३ र महिला ३०८, गण्डकी प्रदेशमा १ हजार १३ पत्रकारमध्ये पुरुष ८३१ र महिला १८२, लुम्बिनीमा १ हजार ८०६ जना पत्रकारमध्ये पुरुष १ हजार ४६२ र महिला ३४४ जना छन्।
कर्णालीमा ७२८ जना पुरुष पत्रकार १३१ जना महिला पत्रकार छन्। सुदूरपश्चिम प्रदेशमा पुरुष १ हजार ४९ र महिला पत्रकार१६३ जना छन्।
चुनौतीकाबीच सफलता
हरेक पेसा वा व्यवसायमा जस्तै पत्रकारिता पेसामा पनि चुनौती छन्। चुनौतीबिच सफल भएका महिला, पुरुष र अन्य लैङ्गिक पहिचान भएका व्यक्तिको कमी पनि छैन।
गुल्मीको रेडियो रेसुङ्गामा कार्यरत अनिता खत्रीलाई विगत १६ वर्षदेखिको पत्रकारिताले स्टेसन म्यानेजर बनाएको छ। रेडियो स्थापनादेखि नै कार्यरत खत्रीलाई रेडियोको स्टेसन म्यानेजरको भूमिकामा पुर्याएको छ।
सक्षम महिला पत्रकार स्टेसन म्यानेजरसम्म बन्न सक्छन् भन्ने उदाहरण बन्न सफल अनिताको नजरमा क्षमता हुनेलाई अवसरको कमी छैन।
नेपाली पत्रकारिताको विगत उत्साहप्रद हुन सकेन। शासन व्यवस्था परिवर्तनका क्रममा विकास हुँदै आएको नेपाली पत्रकारितामा महिला पत्रकारको सङ्ख्या कम हुनुलाई अस्वाभाविक मान्न पनि सकिँदैन। देशको जनसङ्ख्या हेर्दा भने सञ्चारकर्ममा लागेका पत्रकारको सङ्ख्या कम देखिएको हो।
देशका राष्ट्रिय दैनिक पत्रिकामा दुई दशकदेखि आबद्ध भएर पत्रकारिता गरिरहेका महिला पत्रकारको सङ्ख्या उल्लेख्य नभए पनि उदाहरणीय भने बनेका छन्। पत्रकार रेखा भुसाल विगत १९ वर्षदेखि बुटवललाई कार्यक्षेत्र बनाएर राष्ट्रिय नागरिक दैनिक पत्रिकामा कार्यरत छिन्।
‘मैले पत्रकारिता सुरुवात गर्दा महिला पत्रकार कम हुनुहुन्थ्यो। त्यसमा पनि कतिपय पत्रकारिताको क्षेत्रमा हौसिएर काम गर्छु भन्नेहरू पनि टिक्न सक्नु भएन’, उनले भनिन्,‘किनकि सञ्चारमाध्यममा रातिसम्म काम गर्नुपर्ने अवस्था, समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसक्नु, महिला पत्रकारमाथि विश्वासको कमी जस्ता यावत् कुराले गर्दा महिला पत्रकार टिक्न सकेनन्।’
पत्रकारितालाई विधागत रूपमा पनि हेर्ने गरिन्छ। रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन सञ्चारमाध्यममध्ये कतिपय सञ्चारमाध्यम महिलाले नै सञ्चालन गरेका छन्। पत्रकार दीपु पोख्रेलले रेडियो मुक्तिबाट पत्रकारिता सुरु गरेकी हुन्।
विगत १५ वर्षदेखि क्रियाशील उनी अहिले रेडियो सञ्चालक समितिकी अध्यक्ष छिन्। महिलाहरूबाट मात्रै सञ्चालित रेडियोले के गर्ला? भन्ने प्रश्न भुल्न सक्दिनन् उनी।
महिलाहरूले मात्र सञ्चालन गरेको एसियाकै पहिलो रेडियो मुक्तिले महिला पत्रकारहरूलाई टिकाइराख्न महत्त्वपूर्ण भूमिका खेलेको दाबी गर्दै आएको छ। रेडियोबाट पत्रकारिता सुरु गर्ने दीपु पोख्रेल एक्ली महिला पत्रकार भने होइनन्।
गुल्मीको स्थानीय रेडियो रेसुङ्गाबाट पत्रकारिता सुरु गरेकी गगनशीला खड्का गुल्मीलाई नै कार्यक्षेत्र बनाएर कान्तिपुर दैनिकमा कार्यरत छिन्। महिला पत्रकारलाई भूमिकाविहीन बनाउने सञ्चार संस्थामा समेत काम गरेको अनुभव छ खड्कासँग।
पत्रकारहरूका सङ्घ सङ्गठनहरूमा नेतृत्व तहमा पत्रकार महिलाको सहभागिता हुन नदिएको गुनासो छ उनीसँग। ठुला सञ्चार गृहमा जिल्लाबाट संवाददाता राख्दा होस् वा डेस्कमा पत्रकार महिलालाई अवसर नदिनुले अवसरभन्दा चुनौती धेरै देखेको बताउँछिन् पत्रकार खड्का।
पुरुष पत्रकारसँग समाचार सङ्कलन गर्ने क्रममा आफन्तजन लगायत समाजले लगाउने लाञ्छना उनको स्मरणमा ताजै छ। प्रतिस्पर्धात्मक बन्दै गएको समाज र पत्रकारितामा महिला पत्रकार पनि उत्तिकै प्रतिस्पर्धी बन्नुपर्ने चुनौती छ। तैपनि पत्रकारिता पेसामै टिकिरहेका महिला पत्रकारहरूको नेपाली सञ्चार क्षेत्रमा महत्त्वपूर्ण योगदान छ।
(पत्रकार निरु थापाको यो समाचार फिचर प्रशिक्षार्थी पत्रकार लेखनवृत्तिका लागि नेपाल पत्रकार महासङ्घले युरोपियन युनियन र इन्टरनेशनल अलर्टको सहयोगमा प्रकाशन गरेको ‘सिक्दै…लेख्दै…सिक्दै’ बाट लिइएको हो)
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.