निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

पत्रकार महिलालाई सबै क्षेत्रमा असुरक्षा

पत्रकार महिलालाई सबै क्षेत्रमा असुरक्षा

496
SHARES

करिब डेढ दशकसम्म मकवानपुरमा रही सक्रिय पत्रकारिता गरेकी नानीमाया विष्ट करिब २ वर्षदेखि यो पेसामा क्रियाशील छैनन्। उनी वैवाहिक जीवनमा बाँधिएदेखि पारिवारिक जिम्मेवारीदेखि हाल सन्तानको स्याहारमै व्यस्त छिन्। पत्रकारिता पेसामा पुनः पहिलेको झैँ क्रियाशील बन्ने सम्भावना अब कमै रहेको उनी स्विकार्छिन्।

मकवानपुरे महिला पत्रकारको सवालमा नानीमाया त एक उदाहरण मात्रै हुन्। वर्षौँदेखि क्रियाशील पत्रकारिता गरेका महिला पत्रकारहरू एकाएक पेसाबाट पलायन भएका धेरै दृष्टान्त छन्। पेसामा क्रियाशील हुँदाहुँदै एकाएक पलायन हुनुपर्ने महिला पत्रकारको समस्या र पीडाका पछाडि धेरै कारण छन् तर यसबारे कसैले पनि चासो र चिन्ता भने दिएको पाइँदैन।

बिहेपछिको दोहोरो जिम्मेवारीका कारण मिडियामा आफूले सोचे जस्तो काम गर्न नसकेको विष्टको भनाइ छ। त्यसका पछाडि आर्थिक तथा अन्य कारणहरू पनि रहेछन्। ‘हामी त लामै समय आफ्नो क्षेत्रमा टिकेरै काम गर्‍यौँ तर महिला पत्रकार फिल्डमा समाचार सङ्कलनको लागि जाँदा सूचना दिने प्रमुख व्यक्तिले नै ख्यालख्याल सम्झिदिने कारण पनि नयाँ महिला पत्रकारलाई हीनताबोध हुन्छ। १२ वर्ष पत्रकारिता पेसा गर्दा पनि चित्तबुझ्दो तलब लिन नसक्ने कारण पनि म चाहिँ पत्रकारिताप्रति निराश भएकी हुँ’, विष्टले भनिन्।

२०६१ सालदेखि मिडियामा क्रियाशील सरिता दाहाल अहिले आफैँले साप्ताहिक पत्रिका र अनलाइनको प्रकाशक/सम्पादक भई व्यावसायिक स्वरोजगार मूलक पत्रकारिता गरिरहेकी छन्।

घरको जिम्मेवारीका साथै पत्रकारितालाई सँगै अघि बढाउन सहज नभएको उनको अनुभव छ। ‘हामी महिलालाई पत्रकारिता गर्न क्षमता भएर पनि पुरुष जतिको सहज छैन। महिला पत्रकारहरूलाई मिडिया हाउसले सजिलै संवाददाता राख्न त चाहँदैन, सम्पादकीय भूमिका निभाउने त परको कुरो’,उनी भन्छिन्। मकवानपुरमा महिला पत्रकारहरू मिडियालाई माध्यम बनाएर अरू पेसामा जानेको सङ्ख्या बढी रहेको दाहालको भनाइ छ।

सम्पादकको रूपमा काम गर्छु भन्ने आँट बोकेर आउने महिला पत्रकार नै नभएको हेटौँडा सन्देश दैनिकका सम्पादक माधव न्यौपानेको भनाइ छ। थोरै लगानीमै अनलाइन पत्रिका सञ्चालन गर्न सकिने भएका कारण कोही महिला पत्रकारहरू आफैँ सञ्चालक/सम्पादकको रूपमा काम गरिरहेको उनले बताए।

पत्रकारितामा स्नातक अध्ययन पूरा गरेर सात वर्ष पत्रकारिता गरेकी रेश्मी कार्कीको अनुभवमा व्यावसायिक पत्रकारिता सामाजिक सम्बन्धका आधारमा निर्भर हुन्छ। श्रमजीवी भएर पत्रकारिता गरी जीवन चलाउन निकै चुनौतीपूर्ण रहेको उनको भनाइ छ। पत्रकारिता छाडी कार्की हाल गैरसरकारी संस्थामा क्रियाशील छिन्। महिला पत्रकारको सुरक्षाका लागि राज्य नै गम्भीर नभएको कार्कीको भनाइ छ।

पत्रकारिता पेसा आफैँमा एक चुनौतीपूर्ण पेसा हो। पत्रकारिता पेसा पुरुष पत्रकारका लागि आर्थिक र भौतिक रूपमा चुनौतीपूर्ण देखिँदा महिलाहरूको लागि आर्थिक, भौतिक र सामाजिक सबै क्षेत्रमा असुरक्षा छ।

समाचार लेखेकै कारण ज्यान मार्ने धम्कीदेखि लिएर कुटपिटमा धेरै पत्रकारहरू परेको कारणले गर्दा पनि महिलाहरूलाई पत्रकारिता गर्न परिवारबाट पनि रोकावट आइरहेको हुन्छ। पत्रकारलाई राज्यको चौथो अङ्ग मानिए पनि राज्यले पत्रकारको पेसागत सुरक्षाका लागि उचित व्यवस्था गर्न नसकेको पत्रकारका अग्रजहरू बताउँछन्।

धेरै महिला पत्रकारहरू आफ्नो क्षेत्रमा अझै पनि खुलेर अगाडि बढ्न सकेका छैनन्। महिला पत्रकारहरूले व्यवसायकै रूपमा पत्रकारितालाई अगाडि बढाउनेको सङ्ख्या न्यून छ। पत्रकारितामा राम्रो काम गरेर अघि बढ्छु भन्ने महिला पत्रकार कमै भेटिन्छन्।

केही सञ्चार क्षेत्रमा रहेका महिलाहरू पनि रेडियो कार्यक्रम चलाउने र न्युज रिडरको रूपमा काम गरिरहेका छन्। फिल्डमा निस्केर काम गर्ने महिलाको सङ्ख्या न्यून देखिन्छ।

महिला पत्रकारहरू सक्षम भएर काम गर्न खोजे पनि कतिपय पुरुष पत्रकारहरूले महिलाका लागि यो पेसा हैन भनी अघि बढ्न नदिनुका साथै हतोत्साहित गर्ने काम पनि हुने गरेको मकवानपुरका कतिपय महिला पत्रकारहरूको अनुभव छ। पत्रकारको पेसागत सङ्गठन र छाता सङ्गठनमा पनि महिला पत्रकारको उपस्थिति निकै कमजोर देखिन्छ।

पत्रकारको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घ मकवानपुरमा हालसम्म महिला नेतृत्व आउन नसकेको २०६० सालदेखि मिडियामा क्रियाशील तथा पत्रकार महासङ्घ मकवानपुरको पहिलो महिला सदस्य सम्झना कार्की बताउँछिन्। पत्रकार महासङ्घमा मात्र नभई जुनसुकै क्षेत्रमा पनि प्रमुख भूमिकामा महिलालाई आउन गाह्रो पर्ने उनी बताउँछिन्।

(पत्रकार मन्जु मैनालीको यो समाचार फिचर प्रशिक्षार्थी पत्रकार लेखनवृत्तिका लागि नेपाल पत्रकार महासङ्घले युरोपियन युनियन र इन्टरनेशनल अलर्टको सहयोगमा प्रकाशन गरेको ‘सिक्दै…लेख्दै…सिक्दै’ बाट लिइएको हो)

पत्रकार महिला : नाम छ, दाम छैन

विस्थापित हुँदै पत्रकार

न्यायिक निकायको विश्वसनीयतामा शङ्का

महिला पत्रकार : अवसरभन्दा चुनौती धेरै

सामाजिक सञ्जाल : परिवर्तनको संवाहक तर जोखिम उस्तै

सूचनाको हक : कानुनमा छ, व्यवहारमा छैन

समाचार शेयर गर्नुहोस्
496
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.