चीनमा किन महिलाहरू सन्तान जन्माउन चाहँदैनन्?

चीनमा किन महिलाहरू सन्तान जन्माउन चाहँदैनन्?

एजेन्सी : ३० बर्षीया विवाहित ग्लोरीया भन्छिन् ‘म सन्तानको खर्च उठाउन सक्दिन।’ बच्चा जन्माएमा हाल भइरहेको खर्चका अतिरिक्त प्रति महीना २४०० डलर उसको पालनपोषणमा खर्च गर्नुपर्ने ग्लोरीयाको अनुमान छ।

उनी भन्छिन्, ‘दैनिक आवश्यकता पूर्तिका लागि ३ हजार युआन (करिब ४३६ डलर), किंडरगार्डन ट्युसनका लागि २ हजार युआन (२९१ डलर), पार्टटाइम चाइल्डकेयरका लागि १ हजार युआन (१४५ डलर) र विद्यालयको पढाई खर्च कम्तीमा पनि १० हजार युआन (१४५६ डलर) खर्च गर्नुपर्नेछ।’

ग्लोरीया दक्षिणी चीनको ग्वाङडाङ्ग प्रान्तस्थित एउटा प्राइमरी स्कुलमा पार्ट–टाइम पढाउँछिन्। चीनको जुन क्षेत्रमा उनी बस्छिन्, त्यहाँ निजी क्षेत्रमा काम गर्ने मानिसहरूको औसत आय प्रतिमहिना ६ हजार युआन (८७३ डलर) रहेको छ।

उनी आफ्नो बाबुआमाका एक्लो सन्तान हुन्। ग्लोरीया जन्मिएको बेला चीनमा एक सन्तान नीति (वान चाइल्ड पोसिली) कडाइका साथ लागू गरिएको थियो। आफूले लिएको ऋण चुक्ता गर्नु र वृद्ध हुँदै गरेका बाबुआमाको हेरचाहका लागि पैसा बचत गर्नु पहिलो प्राथमिकता रहेको उनी बताउँछिन्।

जनसङ्ख्या कम हुँदै

चीनमा ६ दशकयता पहिलो पटक कुल जनसङ्ख्यामा कमी आएको छ। नयाँ तथ्याङ्क अनुसार चीनका अधिकांश महिला मात्र एक सन्तान जन्माउन चाहन्छन्। त्यसमा पनि कतिपय सन्तान जन्माउनै चाहँदैनन्।

चाइना पपुलेशन एन्ड डेभलपमेन्ट रिसर्च सेन्टरको तथ्याङ्कमा उल्लेख गरिएअनुसार, चीनमा सन् २०१५ मा सन्तान नै नभएका महिलाको सङ्ख्या ६ प्रतिशत रहेको थियो भने सन् २०२० मा १० प्रतिशत महिला निःसन्तान छन्।

तथ्यांकअनुसार चीनमा सन्तान जन्माउन सक्षम उमेरका महिलाहरूमा पनि बच्चा जन्माउने इच्छा कम हुँदै गएको छ। सन् २०१७ मा चीनका महिलाहरूमा बच्चा जन्माउने औसत इच्छा १.७६ थियो भने २०२१ मा त्यो सङ्ख्या घटेर १.६४ प्रतिशतमा झरेको थियो।

यद्धपी सिंगापुर, जापान, दक्षिण कोरिया जस्ता एसियाली मुलुकहरूमा पनि प्रजननदर २ प्रतिशतभन्दा तल झरेको छ। तर यी देशहरूमा अधिकांश मानिस दुई सन्तानको चाहना व्यक्त गर्दछन् तर चीनमा त्यस्तो छैन।

लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्समा इन्टरनेशनल एन्ड सोसल पोसिली विषयका असिस्टेन्ट प्रोफेसर डाक्टर शुवाङ्ग भन्छन्,‘चीनमा वास्तविक प्रजननदर मात्र कम छैन, प्रजननको इच्छा राख्ने पनि कम छन्।

चीनमा अहिले राजनीतिक जानकारहरूले प्रजननदर बढाउनका लागि कुमारी महिलाको अन्डा फ्रिज गर्ने कार्यलाई बढवा दिने र किन्डर गार्डेनदेखि लिएर कलेजसम्म निःशुल्क रूपमा पुस्तक वितरणसँगै ट्युसन शुल्क मिनाहा गर्नुपर्ने लगायतका सुझाव सहितको कयौँ प्रस्ताव ल्याएका छन्।

अविवाहिताले जन्माएका बच्चाहरूलाई पनि बराबरीको अधिकार दिनुपर्ने धारणा प्रस्तुत गरिएको छ। चीनमा विवाहपूर्व जन्माइएका बालबालिकालाई जन्म दर्ता (फ्यामिली रजिस्ट्रेसन (हुकोऊ) का लागि निकै कठिनाइ भोग्नुपर्दछ। स्वास्थ्य, शिक्षा र सामाजिक कल्याणका योजनाहरूको लाभ लिनका लागि यो अनिवार्य छ। तर जन्म दर्ता नभएकै कारण उनीहरूले उल्टै प्रशासनलाई भारी शुल्क तिर्नुपर्छ।

चीनमा बालबालिकाको लालनपालनमा धेरै खर्च हुने भएकै कारण त्यहाँका महिलाहरूमा सन्तान जन्माउने इच्छा नभएको पाइएको छ। त्यहाँ बच्चा जन्मनेवित्तिकै अर्काको बच्चासँग प्रतिस्पर्धा गराउन थालिन्छ।

अभिभावकहरू आफ्नो छोराछोरीलाई अरूको भन्दा राम्रो स्कुलमा भर्ना गराउन र त्यस्ता स्कुलको छेउछाउ घर किन्ने होडबाजीमा लाग्दछन्। त्यतिमात्र होइन उनीहरू आफ्ना बालबालिकालाई विभिन्न खालका सांस्कृतिकसँगै अतिरिक्त क्रियाकलापका लागि सम्बन्धित ठाउँमा लगेर भर्ना गराउन पनि देखासिकी र होडबाजी गर्छन्।

कलेजमा अध्ययनरत २२ बर्षीया मीया भन्छिन्, ‘म यस्तो डरलाग्दो प्रतिद्धन्द्धात्मक माहौलमा सन्तान जन्माउन चाहन्न।’ उनी उत्तरी चीनको एउटा सानो क्षेत्रमा जन्मिएकी हुन्। उनले प्रसिद्ध नेशनल कलेजबाट गाओकाओ नामको परीक्षा दिएकी छिन्। यही परीक्षाले नै विद्यार्थीले कुन स्तरको उच्च शिक्षा प्राप्त गर्न सक्छ भनेर तय गर्दछ। यो परीक्षा पास गरेपछि मात्र मीया बेइजिङको एउटा प्रतिष्ठित युनिभर्सिटीमा भर्ना हुन सक्छिन्।

मीयाका अनुसार उनको धेरैजसो समय तनावमा बितेको छ। ‘यसप्रकारको शिक्षाका लागि अतिरिक्त शुल्क लाग्दछ, जसका लागि पैसा चाहिन्छ’ उनी भन्छिन्। यस्तो उच्च शिक्षा प्रदान गर्नका लागि चाहिने पैसा भविष्यमा आफूले कहिल्यै कमाउन नसक्ने उनको ठम्याई छ।

‘यदि यसप्रकारको सहुलियत दिन सक्दिन भने म कुनै नयाँ जीवनलाई किन यो संसारमा लिएर आऊँ’ उनी भन्छिन्।

जीवन र काममा सन्तुलन


चीनमा महिलाले बच्चा जन्माउन नचाहनुको अर्को कारण हो करियर। उनीहरू करियरमा नकारात्मक प्रभाव पर्ने भएकाले पनि प्रजननका लागि तयार हुँदैनन्। केही महिलाहरूले भने –‘जागिरका लागि अन्तरवार्ता दिन जाँदा पनि बच्चा जन्माउने बारेमा त सोच्नुभएको छैन नि? भनेर सोधियो। यदि बच्चा जन्माउने बारेमा सोचेको छु भनेर जवाफ दिन्थेँ भने जागिर पाउने सम्भावना नै हुँदैनथ्यो। त्यतिमात्र होइन कोही महिला बच्चा जन्माउने अवस्थामा पुगिन् भने उनको प्रमोसनमै पनि बाधा पुग्छ।’

युनिभर्सिटी अफ मिसीगणमा समाजशास्त्रका असिस्टेन्ट प्रोफेसर डाक्टर युन झाउ भन्छिन् ‘सन्तान जन्माउने बारेमा सोच्ने उच्च शिक्षा हासिल गरेका महिलाहरूले समेत आफ्नो पेसा र परिवारबिच सन्तुलन कायम गर्न निक्कै सङ्घर्ष गर्नुपर्छ। काम उनीहरूका लागि आत्मसम्मान जस्तै हो। चीनमा जागिरमा पनि लैङ्गिक भेदभाव रहेको छ र महिलाहरूका लागि बच्चा र करियरमध्ये कुनै एक छान्ने निर्णय लिन कठिन छ।’

चीनमा धेरैजस्तो युवा आफ्नो जीवनको बारेमा सामाजिक सञ्जालमा लेखेर पोस्ट गर्न रुचाउँछन्। मीयाले पनि सामाजिक सञ्जालमा बच्चा जन्माउन किन चाहँदिनन् भनेर बुझाउन एउटा भिडियो पोस्ट गरिन्। तर उनले सयौँ नकारात्मक टिप्पणीको सामना गर्नुपर्‍यो। केही मानिसले उनलाई स्वार्थी भने, केहीले विदेशी शक्तिबाट प्रभावित भएर उनले अरू महिलालाई पनि सन्तान नजन्माउनका लागि भड्काएको आरोप लगाए।

सन् २०२० को जनसङ्ख्याको आँकडा जारी भएपछि चीन सरकारले २०२१ मे मा तीन सन्तानको नीति जारी गरेको थियो। उक्त तथ्याङ्कमा महिलाहरूले मात्र १ करोड २० लाख शिशु जन्माएका देखियो। जुन जन्मदर सन् १९६१ यताकै सबैभन्दा कम रहेको थियो। पछिल्ला वर्षहरूमा चीन सरकारले आफ्ना नागरिकलाई धेरै सन्तान जन्माउनका लागि प्रोत्साहित गर्ने योजना लागू गरेको छ।

घट्दो जन्मदरसँगै केही विश्लेषकहरू सन्तान जन्माउन नचाहने महिलाहरू मुलुकलाई नै पछाडि धकेल्न लागि परेका टिप्पणी समेत गर्छन्।

कठिनाइको सामना

परिवारका अन्य सदस्यहरू घरकी महिलाले सन्तानलाई जन्म दियोस् भन्ने अपेक्षा राख्छन्। परिवारको अपेक्षाविरुद्ध जानु महिलाका लागि निकै कठिन कुरा हो। ३४ बर्षीया युआन शेपिङ्ग भन्छिन् ‘मैले निकै कठिन लडाइँ लडेकी छु।’ युआन चीनको त्यस्तो ग्रामीण क्षेत्रमा हुर्केकी हुन् जहाँ छोरा जन्माउनु र परिवारको वंशलाई चलाइराख्नु महिलाको पहिलो जिम्मेवारी मानिन्छ। त्यसैले पनि त्यस क्षेत्रमा सन्तान जन्माउन नमान्नु निक्कै कठिन कुरा हो।

युआन हाईस्कुलको उत्कृष्ट तीनमध्येकी एक छात्रा भए पनि उनी र उनकी दिदीले कलेज पढ्न पाएनन्। परिवारले उनीहरूको सानो भाइको मात्र पढाइखर्च बेहोर्न सके। युआन भन्छिन् ‘मेरा बाबुआमा भविष्यमा बिहे गरी बच्चा जन्माएर परिवार चलाउनुपर्नेछ, त्यसैले तिमीले धेरै पढ्नुको के अर्थ छ? भन्ने गर्नुहुन्थ्यो।’

तर आफ्नै उमेरकी एक आफन्ती महिलाले सम्बन्ध विच्छेद पश्चात् दुई सन्तानलाई एक्लै पालनपोषण, पढाइखर्च उठाउनुपरेको देखेपछि भने युआन बच्चा जन्माउने कुरालाई लिएर थप हतोत्साहित भइन्। उनी भन्छिन् ‘अब त मलाई विवाहको व्यवस्थाप्रति नै विश्वास छैन।’

युआन अहिले आफ्नो गाउँ छाडेर एउटा सहर प्रवेश गरी स्वतन्त्र जीवन बाँचिरहेकी छिन्। उनी भन्छिन् ‘आफ्नो खाली समयमा म पढ्छु, साथीहरूसँग घुम्छु र आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेकी छु।’

बिबिसी हिन्दीबाट

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.