"/>

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

काठमाडौँ : भुटानको लामिडाँडा प्रकृतिको अति सुन्दर उपहार लाग्छ। सिङ्गै भुटान प्राकृतिक सुन्दरताले भरिएको छ। जिग्मे सिंगे वाङचुक शासन कालको २१ औँ वर्ष चल्दै गर्दा पाँच महिनाका थिए टेकनाथ रिजाल। उनै रिजाललाई अहिले पनि लामिडाँडा प्रकृतिको सुन्दर उपहार लाग्छ र फर्केर जाउँजाउँ हुन्छ। हुन त उनको पुर्खा पाँचथर भन्ने ठाउँबाट भारतमा ब्रिटिस गोर्खामा भर्ती हुँदै भुटानको लामिडाँडा पुगेको हो।

त्यतिवेला भुटानमा वाङचुक वंशको शासन थिएन। ङवाङ नामग्याल सन्तानको शासन काल थियो। उनको पुर्खाले भुटानमा बसोबास गर्न थालेको १ सय ८ वर्ष पछि वाङचुक वंशले शासन लिएको पहिलो हो। सन् १९६४ मा विद्यालयमा अध्ययन गर्दा गर्दै भुटानको सरकारी आयोजनामा खटाइएको उनी सुनाउँछन्।

कलिला काँधमा गह्रुँगा जिम्मेवारी लिएर खटिने मध्येका एक थिए रिजाल। सरकारी विद्यालयमा पढ्दै कमाउँदै गर्ने मध्ये एक रिजाल त्यति वेला १६ वर्षका थिए। सरकारी सेवामै रहँदा उनले गाउँमा गरिबी मात्रै होइन अनेक प्रकारका शोषण भएको थाहा पाए।

आठ वर्षको सरकारी सेवाका साथै रिजालले किसानका उत्पादन आफैँ खरिद गरेर भारतीय व्यापारीको दोहोलो काँडे। सर्वाङका बिचौलियालाई सामान नदिएर रिजालले सिधै सिलगढीका व्यापारीसँग सम्पर्क राखे। रिजालले भारतीय व्यापारीको भन्दा दोब्बर मूल्य दिएर किसानको उत्पादन सिलगढी पुर्‍याउने काम दुई वर्ष गरे। त्यसपछि किसान आफैँ सिलगढी पुग्न थाले। सर्वाङका व्यापारीलाई किसानले उत्पादन बेचेनन्।

दुई वर्षको व्यापारले रिजाललाई लामिडाँडामा जेनरेटर राखेर बत्ती बाल्ने पहिलो व्यक्ति समेत बनायो। सन् १९७३ सेप्टेम्बरमा भएको चुनावमा राज्य सभा सदस्यमा निर्वाचित भएका थिए रिजाल।

भुटानी राजाको अत्याचारविरुद्ध किन बस्छ भारत मौन?

२५ वर्षको उमेर रिजाल भुटान राज्य सभाको सदस्य बने। जिग्मे सिंगे वाङचुकले आफ्ना पिताको निधनपछि राजगद्दी सम्हालेका थिए रिजाल सदस्यमा निर्वाचित हुँदा। उनको पहिलो सम्बोधन र लामिडाँडाबाट प्रतिनिधि भएर पहिलो पटक भाग लिएका रिजालको राज्य सभा बैठकमा उपस्थिति एकै दिन परेको थियो।

जनतासँग त्यतिबेला विकास बाहेक कुनै मुद्दा थिएनन्। सन् १९८२ मा राज्य सभा सदस्य हुँदा नै रिजाल अङ्ग्रेजी भाषा अध्ययनका लागि अस्ट्रेलिया पुगे। सरकारी पदाधिकारीले महत्त्वपूर्ण ओहोदामा बसेर ठेक्कापट्टामा भाग लिने, व्यापार व्यवसाय गर्ने छुट पाउनु उचित होइन भने राजालाई रिजालले।

आफ्नो कुरा सुनेर राजाले यो प्रचलनमा रोक नै लगाएको सुनाउँछन् रिजाल। थिम्पुबाट प्रशासन चलाएर देशको सबै भागलाई न्याय दिन सकिँदैन, त्यसैले व्यवस्थित रूपले प्रशासनको विकेन्द्रीकरण गरिनु पर्दछ भने रिजालले। राजाले रिजालको प्रस्ताव स्वीकारे।

सन् १९८४ मा राजकीय सल्लाहकार परिषद्को सदस्यमा निर्वाचित भएका थिए रिजाल। त्यतिबेलै भुटानमा भ्रष्टाचार छानबिन समिति बन्यो, त्यसको सदस्य भए उनी। भ्रष्टाचारको छानबिन गर्दा ठुला पदमा बसेकाहरूको संलग्नता भएको रिपोर्ट प्रस्तुत भयो।

त्यही रिपोर्टपछि सुरु भएको ओरालो यात्राले रिजाललाई नेपालमा शरण लिने बनाएको छ। रिजालसँगै पछि लागेर नेपाल प्रवेश गरेका भुटानी अमेरिका, अस्ट्रेलिया, क्यानडा लगायतका देशमा शरण लिएर बसेका छन्। जुन देशमा पुगे पनि उनीहरू आफ्नो देश भुटान फर्कन पाउँदैनन्।

नेपाल र भारतको सहयोगमा भुटान फर्कने रिजालको चाहना अझै पुरा भएको छैन। बरु नेपालका राजनीतिज्ञले कर्मचारी प्रशासनलाई प्रयोग गरेर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएको खुलेको छ। भुटानी शरणार्थी बन्न नेपाली नागरिकले लाखौँ रकम बुझाएको सार्वजनिक मात्रै भएको छैन, रकम असुल्ने गिरोहमा बहालवाला सचिवदेखि पूर्वमन्त्रीसम्म मुछिएका छन्।

भ्रष्टाचार छानबिन गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै प्रमुख प्रेमकुमार राई समेत नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर रकम बुझ्ने काममा संलग्न भएको आरोप लागेको छ। देश निकाला गर्ने राजासँग कुरा गरेर आफ्नै देश फर्काइदिन हारगुहार गर्ने भुटानीकै नाममा देशकै लागि नमज्जाको काम राजनीतिज्ञ र कर्मचारी प्रशासनले गरेका छन्।

नेपालबाट भुटान फर्कने आशा बोकेर तेस्रो देश पुर्नवास नभएका मानवअधिकारवादी नेता रिजालले यसप्रति चिन्ता व्यक्त गरेका छन्। आफ्नो देश जाऊँ भन्नु पर्ने नेपाल सरकारले आफ्नै नागरिकलाई समेत भुटानी बनाएर तेस्रो देश पठाउँदा बोलिदिने र सुनिदिने कोही नभएको गुनासो गर्छन् रिजाल।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.