दुर्गा प्रकाशको स्मृतिग्रन्थ : भन्सारका महत्त्वपूर्ण सात घटना

दुर्गा प्रकाशको स्मृतिग्रन्थ : भन्सारका महत्त्वपूर्ण सात घटना

काठमाडौँ : कामको सिलसिलामा कुनै कुरा बुझ्नु पर्‍यो भने राजाले जानकारी लिने र आवश्यक परे निर्देशन दिने चलन थियो त्यस बेला। एक पटक राजा महेन्द्रले भन्सारको दस्तुरी प्रथाबारेमा जिज्ञासा राखेका थिए स्वर्गीय दुर्गा प्रकाश पाण्डेयसँग।

पाण्डेयले सबै कुरा बुझेपछि राजा समक्ष के गर्ने भन्ने प्रस्ताव लेखेर पठाए। अफिसमा कामको चाप बढी भएकाले १० देखि ५ बजे भित्र मात्र काम नसकिने हुनाले त्यति नै अरू कर्मचारी थपेर दुई सिफ्टमा काम गराउने या बढी समय काम गराएको ओभर टाइम दिने प्रस्ताव पठाए पाण्डेयले। तर पछिसम्म पनि दरबारबाट कुनै खबर आएन। त्यो कुरा त्यसै सेलायो।

श्रीमती इन्दिरा पाण्डेले प्रकाशन गरेको ‘दुर्गा प्रकाश पाण्डेय स्मृति ग्रन्थ’ मा महत्त्वपूर्ण ७ घटना उल्लेख गरिएको छ। त्यसमध्येको दोस्रो हो, दरबारका नातेदारको सामान चेकजाँच गर्ने। राजदरबारका नातेदार विदेश गइरहन्थे। फर्कँदा केही न केही मालसामान लिएर आउँथे। अनि सरकारको नीति नियम विपरीत काम गर्न नपाउँदा भन्सारमा झमेला गर्थे। पाण्डेयले आफ्नो कार्यशैली नीतिगत र दरबारियाको बलमिच्याइँले उत्पन्न भएको टकराबको स्थिति, आफ्ना विरुद्ध नातेदारले राजालाई सुनाउने क्रममा परेका र पर्न सक्ने कठिनाइबारे दरबारलाई जानकारी गराए।

दरबारबाट ‘तिमीले गरेका सबै काम ठिक छन्, यसरी नै काम गर अप्ठ्यारो पर्‍यो भने तोकिएको मानिससँग कुरा गर्नु, मलाई थाहा हुन्छ। तिमीले पनि अन्याय नगर्नु, तिमिलाई पनि अन्याय हुने छैन’ भनेर पाण्डेयले आश्वासन पाए। दरबारका नातेदारहरू उनीहरूको सामान चेकजाँच नहोस् भन्थे। तर दरबारबाट नियमानुसार गर्नु र अब उप्रान्त दरबारका सदस्य र पदाधिकारीहरूको सामान पनि नियमानुसार चेक गर्नु भन्ने परिपत्र आएकोले त्यसै अनुसार काम भएकोले दरबारियाहरु पाण्डेयसँग रिसाएका थिए।

पाण्डेय भन्सार विभागमा करिब नौ वर्ष कार्यरत रहे। त्यति बेलाको तेस्रो घटना व्यापारीसँग सम्बन्धित छ। नेपालका ठुला व्यावसायिक घरानाले ठुलै परिमाणमा फिलिप्स कम्पनीबाट विभिन्न मालसामान मगाएका थिए। त्यस्तै सामान यहाँका विदेशी राजदूतावासका कर्मचारीहरूले पनि मगाउँथे। त्यसैले पाण्डेयलाई सही मूल्य थाहा थियो।

तर, राजदूतावासका कर्मचारीले मगाएको र उक्त घरानाले मगाएको सामानको मूल्यमा ठुलो भिन्नता थियो। नौ महिनासम्म छानबिनको क्रम चल्यो। उनीहरूले दरबारमा पनि उजुरी गरे। दरबारबाट कानुन नियम अनुसार गर्नु भनेर आएपछि पाण्डेयले घटाइएको मूल्यलाई मान्यता नदिई अरूले मगाएको मालसामान सरह मूल्य कायम गरी पुरै भन्सार महसुल असुल गर्नु भन्ने निर्देशन दिए। पाण्डेयको सिद्धान्त सानालाई थिच्ने भन्दा ठुलालाई नीति नियम भित्र पार्ने र सबैले कानुन अनुसार चल्नुपर्छ भन्ने थियो।

२२/२५ जनाको टोलीसहित राजा महेन्द्र असंलग्न राष्ट्रको मिटिङमा भाग लिएर फर्कने क्रममा सबैका सामान नियमानुसार जाँच्नुपर्ने जिम्मा भन्सारका कर्मचारीको थियो। दुर्गा प्रकाश पाण्डेयको स्मृति ग्रन्थमा प्रकाशित यो चौथो घटना हो। भरतराज शर्मा भन्सार प्रमुख थिए। राजदरबारका प्रमुख सचिवले उनलाई गाली गलौच गरेर जागिर खोसिदिने धम्की समेत दिएछन्। स्थिति गम्भीर भएपछि निर्देशकलाई खबर आयो। पाण्डेयले टेलिफोनमा सम्झाउँदा पनि उनीहरू मानेनन्। यो सब कुरा राजा महेन्द्रले थाहा पाएपछि आफ्नो सामान पहिले चेक गर्नु गराउनु भनी प्रमुख सैनिक सचिवलाई पठाएछन्। त्यसपछि राजा तथा सबै पदाधिकारीहरूको सामान जाँच भयो।

यसरी राजाको सामान पहिलो पटक भन्सारमा खोलेर जाँचिनु सबैका लागि नयाँ पाठ भएको थियो। अनुशासनको बाटो छोड्नुहुँदैन भन्ने सन्देश राजाको त्यो व्यवहारले दिएको थियो। यस प्रकार नियमअनुसार काम गर्न पाएकोमा पाण्डेय खुसी थिए। विधिको आधारमा गरेको काम दिगो हुन्छ भन्ने पाण्डेयलाई पूर्ण विश्वास थियो। यस्तै यस्तै बाधा अड्चन र अनियमितताका बीच पाण्डेयले आफ्नो सिद्धान्तमा अडिग रही नियम कानुन अनुसार काम गरिरहे।

एक प्रतिष्ठित व्यापारीले राम्रो टोयोटा गाडी अन्डर इन्भ्वाइस गरी जापानबाट मगाए छन्। पाण्डेयले सोधखोज गर्दा मूल्य मिलेको थिएन। त्यसैले वीरगन्ज भन्सारमा नै गाडी रोकियो। ती व्यापारीले बाठो कायदा अपनाएर त्यो टोयोटा गाडी दरबारका एक सदस्यलाई चढाउन ल्याएको भनेछन्। दरबारको स्वकीय सचिवालयबाट सो टोयोटा गाडी उक्त व्यापारीको नाममा आयात भए पनि दरबारको एक सदस्यको गाडी भएकाले पत्र बाहकलाई गाडी दिएर पठाउनु भन्ने आदेशको आधारमा भन्सारले गाडी दिएर पठायो।

भन्सारबाट गाडी निकाल्ना साथ प्रहरीले दर्ता नम्बर दियो। यसरी सो गाडी काठमाडौँ आइपुग्यो। यस्तै अनियमित काम गर्ने व्यापारी देखि पाण्डेय दिक्क भइसकेका थिए। पाण्डेयले आफ्नो राजीनामा पत्र लिएर प्रधानमन्त्री कीर्तिनिधि विष्ट समक्ष सबै काम कुराबारे अवगत गराए। अनि राजीनामा पेस गरे। प्रधानमन्त्रीले ‘राजीनामा पत्र अहिले आफै राख र अफिसमा काम गर्दै गर, म राजासँग कुरा गर्छु’ भनेर गाडीको सबै कागजपत्र लिएर दरबार गए।

त्यस बखतमा राजा वीरेन्द्र थिए। राजाले सबै कुरा बुझेपछि आफ्ना प्रमुख सचिव रञ्जनराजलाई बोलाएर तुरुन्त सो टोयोटा गाडी भन्सारमा बुझाइदिनु भन्ने हुकुम भएछ। गाडी समयभित्रै भन्सार विभागमा आइपुग्यो। प्रधानमन्त्रीले भोलिपल्ट उनलाई अफिसमा बोलाएर ‘राजाबाट भएको कार्य थाहा पाइहाल्नु भयो, अब नियमानुसार काम गर्नु’ भनेछन्। पाण्डेयले प्रचलित कानुन अनुसार गाडी जफत र बिगो बमोजिम जरिवाना र एक वर्ष कैद गर्ने व्यवस्था ऐनमा भएको ब्यहोरा जानकारी गराएछन्। यस प्रकार उनले गाडी जफत गरेर बिगो बमोजिम दण्ड र जरिवाना गराउँदै सो गाडी गृह मन्त्रालयमा बुझाउन लगाएछन्।

यस्तै अर्को अविस्मरणीय घटना पाण्डेयसँग घटित भएको थियो। राष्ट्रिय पञ्चायतका अध्यक्ष नगेन्द्रप्रसाद रिजालले जङ्गबहादुर चन्दसँग विदेशबाट दुई सय थान टुवेलबोरको टोटा मगाएका रहेछन्। उनको नाममा लाइसेन्स बनाएको रहेनछ। त्यसैले भन्सारले छोडेनछ। लाइसेन्स नभई गोली छाड्न कानुनले मिल्दैनथ्यो। रिजालका छोराहरू भन्सार तिरेर लैजाने कुरा मिलाउन पाण्डेयकहाँ आइरहन्थे। पाण्डेयले ‘लाइसेन्स लिएर आउनु अनि सामान लिएर जानु’ भने। एक दिन दिउँसो भारतीय दूतावासका केही पाहुना पाण्डेयलाई भेट्न आएको बेलामा नगेन्द्रप्रसाद रिजालले उनलाई फोनमा ‘मेरो सामान किन नछोडेका’े भनेर सोधेछन्। नियमानुसार गृह बाट लाइसेन्स लिएर आउनु अनि मात्रै छोड्न मिल्छ भनेपछि रिजालले उनलाई ‘तपाई व्यापारीको सामान छाड्ने, मेरो चाही नछाड्ने’ भनेर गाली गरेछन्। यसरी पाण्डेयको चरित्रमै दाग लाग्ने गरी भनेको कुरा सुनेपछि रिजालसँग केही भनाभन भएछ। पाण्डेयले ‘तपाइजस्तो नालायक व्यक्ति देशको त्यस्तो ठुलो पदमा हुनु नेपालको दुर्भाग्य हो’ भनेर फोन राखिदिएछन्।

रिजालले प्रधानमन्त्री विष्टलाई उनको बारेमा के के कुरा लगाए, उनलाई प्रधानमन्त्रीले बोलाएर ‘नगेन्द्रप्रसाद रिजालको सामान किन नछाडेको’ भनेछन्। उनले सबै कुरा प्रधानमन्त्रीलाई बुझाएपछि प्रधानमन्त्रीले रिजाललाई नै ‘किन नियम विपरीत काम गरेको, डाइरेक्टरले त ठिकै गरेका रहेछन्’ भनेछन्। पछि त्यो गोली लिन कोही आएनछन् र म्याद नाघेपछि नियमानुसार भन्सारले सो गोली गृह मन्त्रालयमा बुझाएछ।

दुर्गा प्रकाशको स्मृति ग्रन्थमा उल्लेख सातौँ घटना यस्तो छ। राजा महेन्द्रका तीन वटी अधिराजकुमारीहरू तथा तीन वटै ज्वाइँ कुमारहरू विदेशबाट काठमाडौँ फर्किएका थिए। त्यस बखतमा पनि भरतराज शर्मा विमानस्थलमा भन्सार प्रमुख थिए। उनीहरूको सामान भिआइपी कोठा बाहिर थुपारिएको थियो। भरतराजले बेठाउँमा मालसामान किन थुपारेको भन्दा कुमारले उनलाई जथाभाबी गाली गरेछन्। ‘हाम्रो सामान चेक गर्ने कर्मचारीलाई तुरुन्त खोस्नु प¥यो’ भनेर निर्देशकलाई अफिसमा फोन गरेछन्। केही समयपछि कुमारको ‘भरतराजलाई नोकरीबाट बर्खास्त गरी जानकारी गराउनु’ भन्ने आदेश पत्र भन्सार विभागमा आएछ।

भरतराजलाई लिएर उति नै खेर अर्थ सचिव डा. भेषबहादुर थापालाई भेट्न पाण्डेय गए र कुमारको आदेश सहितको पत्रको जानकारी गराए। डा. थापाले सबै कुरा बुझेपछि उक्त कागजपत्रहरू लिएर राजदरबार गए। राजाले सबै कुरा बुझेपछि कुमारको आदेश पत्र आफूले राखेर भरतराजलाई कारबाहीको सट्टा नियमानुसार काम गरे बापत ‘गोरखादक्षिण बाहु चौथो’ मानपदवी दिनु भन्ने आदेश बक्सेछ। सचिवबाट उनले सो कुरा जानकारी प्राप्त गरेपछि भरतराज शर्मालाई जानकारी गराए। ‘सधैँ यस्तै नियम अनुसार काम गर्नु’ भनेर पाण्डेयले निर्देशन दिए।

पाण्डेयको निधन भएको वर्ष दिनमा श्रीमती इन्दिरा पाण्डेले स्मृतिग्रन्थ प्रकाशित गरेकी हुन्। पाण्डेयको स्मृतिग्रन्थमा डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिना, पूर्वअर्थमन्त्री डाक्टर भेषबहादुर थापा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्की, पूर्वमुख्यसचिव दामोदर प्रसाद गौतम, पूर्वसचिव गोरक्ष बहादुर न्हुछे प्रधान, पूर्वपरराष्ट्र सचिव मदन भट्टराई, पूर्वअञ्चलाधिश सुरेन्द्रबहादुर श्रेष्ठ, शंकरराज पाठक, पूर्वउपसचिव हर्षरमण शर्मा उपाध्यायसहित परिवार र आफन्तका स्मरण प्रकाशित छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading