निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

विश्वम्भरप्रसाद श्रेष्ठले २०८१ असोजसम्म सर्वोच्च सम्हाल्ने

विश्वम्भरप्रसाद श्रेष्ठले २०८१ असोजसम्म सर्वोच्च सम्हाल्ने

393
SHARES

काठमाडौं : सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस भएको छ। सिंहदरबारमा बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले न्यायाधीश श्रेष्ठलाई नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की शुक्रवारबाट अनिवार्य अवकाशमा जादैछन्। उनी अवकाशमा जाने अघिल्लो दिन नयाँ प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय गरेको परिषद् सदस्य एवं राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।

संवैधानिक व्यवस्था अनुसार १९ असार अघि प्रधानन्यायाधीश सिफारिस हुनुपर्नेमा अवकाश हुनु अघिल्लो दिन बल्ल नयाँ नाम सिफारिस गरिएको छ।

प्रधानन्यायाधीशमा सिफारिस श्रेष्ठको अब संसदीय सुनुवाइ हुनेछ। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै श्रेष्ठ प्रधानन्यायाधीशमा नियुक्त हुनेछन्।

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि श्रेष्ठसहित ११ जनाको रोष्टर पठाएको थियो। परिषद् बैठकले रोष्टरको पहिलो नम्बरमा रहेका श्रेष्ठको नाम सिफारिस गरेको हो। श्रेष्ठको कार्यकाल आगामी २०८१ असोजसम्म हुनेछ।

श्रेष्ठ डोटीको सिलगढीमा जन्मिएका हुन्। श्रेष्ठले कानुन तथा न्याय मन्त्रालयमा शाखा अधिकृतको रूपमा २०३८ सालबाट सेवा प्रवेश गरेका थिए। २०६२ सालमा पुनरावेदन अदालत बागलुङ, पुनरावेदन अदालत पाटन, पोखरामा न्यायाधीशको रूपमा विभिन्न समयमा र कार्यवाहक मुख्य न्यायाधीशको रूपमा पोखरा तथा मुख्य न्यायाधीशको रूपमा हेटौँडा पुनरावेदन अदालतमा काम गरेका थिए।

श्रेष्ठ २०७३ साउन १७ गतेदेखि हालसम्म सर्वोच्च अदालतमा न्यायाधीशको भूमिकामा छन्। संवैधानिक परिषद्ले संवैधानिक निकायमा रिक्त रहेका विभिन्न पदमा नियुक्तिको प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ।

परिषद् बैठकले रिक्त रहेका पद पूर्तिका लागि १५ दिने सूचना निकाल्ने निर्णय गरेको परिषद् सदस्य तिमिल्सिनाले जानकारी दिए। ‘महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य, मुस्लिम आयोगको सदस्यका लागि प्रक्रिया अघि बढाउन १५ दिनको सूचना निकालेर इच्छुकहरूको आवेदन माग्नुपर्ने व्यवस्था छ,’उनले भने,‘त्यसका लागि सूचना निकाल्ने निर्णय भएको छ।’

राजदूतको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिले विभिन्न देश तथा कूटनैतिक नियोगका लागि सिफारिस ६ राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ। संसदीय सुनुवाइ सकेर नयाँ राजदूतहरूको नाम सर्वसम्मतिले अनुमोदन गरिएको समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नेपाली नियोगका आवासीय प्रतिनिधिका लागि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डका लागि राजदूतमा धनबहादुर ओली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टराई संसदीय सुनुवाइबाट अनुमोदन भएका छन्।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका उनीहरूलाई अब राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। गत असार २६ गते मन्त्रिपरिषद् बैठकले ६ कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेको थियो।

समाचार शेयर गर्नुहोस्
393
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.