ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुको रोइलो, ल्यारक्याललाई नियुक्ति बदर हुने डर

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुको रोइलो, ल्यारक्याललाई नियुक्ति बदर हुने डर

काठमाडौं : सर्वोच्च अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्रीहरूमाथि पनि अनुसन्धान गर्न आदेश दिएसँगै रोइलो सुरु भएको छ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएको बयान सार्वजनिक गरेर आफू निर्दोष रहेको देखाउने प्रयासमा लागेका छन्।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भने ललिता निवासमा अनुसन्धान गर्न आदेश दिएको भोलिपल्ट सोमबार पूर्वनिर्धारित कार्यक्रम अनुसार बेलायत गएका छन्। बेलायत जानु अगाडि नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए। बेलायत गएका नेपालले सर्वोच्चको आदेशबारे आफू जानकार रहेको बताएका छन्।

अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन्। ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री तहका नेताहरू तानिने भएपछि अनुसन्धान नै प्रभावित हुने आशङ्का बढ्न थालेको छ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणबारे सर्वोच्चले आदेश दिएसँगै महान्यायाधिवक्ता र नेपाल प्रहरीका महानिरीक्षकबिच छलफल भएको छ। सोमबार महान्यायाधिवक्ता दिनमणि पोखरेल र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबिच महान्यायाधिवक्ता कार्यालयमा छलफल भएको हो।

ललिता निवास प्रकरण : नेपाल र भट्टराईमाथि अनुसन्धान गर्न बाटो खुल्यो

ललिता निवास जग्गा प्रकरणमा नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले काठमाडौं जिल्ला अदालतले गच्छदारसहित ४ जना पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी गरेको जानकारी दिए।

पक्राउ पुर्जी जारी हुनेमा पूर्व मन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी, गच्छदार र सञ्जयकुमार साह छन्। उनीहरुविरुद्ध ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सरकारी लिखत किर्ते गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले यस प्रकरणमा यसअघि ४ पूर्वसचिवसहित ४ सय ६ जना विरुद्ध पक्राउ पुर्जी लिइसकेको छ। १ सय १२ रोपनी ४ आना एक पैसा जग्गा हिनामिना प्रकरणमा चार वटा मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीले यो प्रकरणमा सङ्गठित रूपमा काम भएको भन्दै किर्ते र सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ।

अनुसन्धानमा सिआइबी

एक क्विन्टल सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सोमबारदेखि अनुसन्धान थालेको छ। राजस्व अनुसन्धान विभागले आइतबार फाइल हस्तान्तरण गरेसँगै सिआइबीले अनुसन्धान अधिकृत तोकेर औपचारिक रूपमा अनुसन्धान थालेको जनाएको छ।

सिआइबीमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकिएको प्रहरी प्रवक्ता कुबेर कडायतले बताए। त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएको सुन भन्सार कार्यालय अगाडिबाट यही साउन ३ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।

यस प्रकरणमा जिल्ला अदालत काठमाडौँले पहिलो पटक सङ्गठित अपराधमा सात दिनको म्याद थप गरेको छ। पक्राउ परेका मध्ये एक जना परिवारको जिम्मामा आवश्यक पर्दा हाजिरी गर्नेगरि छुटेका छन्। यसअघि उनीहरूलाई राजस्व चुहावटमा उच्च अदालत पाटनले म्याद थप गरेको थियो।

ल्यारक्यालको नियुक्ति विवादमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले काण्डैकाण्डमा मुछिएका डाक्टर ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको छ। कुनै बेला प्रचण्डको खेदो खन्दै हिँड्ने विवादास्पद छवि भएका लामा नियुक्ति पाएसँगै प्रचण्डको गुणगान गाउन थालेका छन्।

लामाले पूर्व राजा ज्ञानेन्द्र शाह समितिको उपाध्यक्ष हुँदा पिपलको रुख नै बेचेर खाएको प्रसङ्ग उल्लेख गर्दै प्रचण्ड निर्देशक समितिको प्रमुख भएमा अशोकको पिल्लर नै बेचेर खाने डर लागेको बताएका थिए।

हालै मात्र लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भए लगत्तै लामाको एकाएक बोली नै फेरिएको छ। काठमाडौँमा सोमबार पत्रकार सम्मेलन गर्दै लामाले आफ्नो उक्त अभिव्यक्तिको बचाउ गरेका छन्। प्रधानमन्त्रीको नाम आफूले एउटा सन्दर्भमा लिएको भन्दै लामा दोष नै लगाउन नखोजेको भनेर पानी माथिको ओभानो बन्न खोजेका छन्।

लामा नागरिकता, अकुत सम्पत्ति तथा हातहतियारको काण्डमा पर्नु भएको थियो। देशमा सुशासन कायम गर्ने नारा भट्ट्याउने प्रधानमन्त्री प्रचण्डलाई लामाको नियुक्तिले गिज्याइरहेको छ। काण्डैकाण्डमा मुछिएका लामा भने सरकारबाट उपहारका रूपमा पाएको नियुक्ति उम्केला भनेर रोईकराइ गर्न थालेका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.