"/>

समर्पण सभ्य समाजको प्रश्न : तेस्रोलिंगीका सन्तानको शिक्षामा विभेद किन? 

समर्पण सभ्य समाजको प्रश्न : तेस्रोलिंगीका सन्तानको शिक्षामा विभेद किन? 

काठमाडौं : राज्यले पहिचान दिएको छ, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको। पुरुष र महिला भन्दा भिन्न नागरिकलाई ‘अन्य’ पहिचानमा नागरिकता दिइरहेको छ।

१६ पुस २०६९ मा गृह मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भन्नाले तेस्रोलिंगी, समलिङ्गी, अन्तरलिंगी र दुईलिंगी बुझ्नु पर्ने लेखिएको छ।

संविधानको धारा १२ मा लैङ्गिक पहिचान अनुसार नागरिकता जारी हुने व्यवस्था अनुसार सरकारले बल्ल नागरिकता ऐन २०६३ संशोधन गरेको छ। संशोधित ऐनको नियमावलीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई ‘अन्य’ पहिचान अनुसार नागरिकता दिने व्यवस्था छ।

अब नियमावली अनुसार कार्यविधि बनाइने मन्त्रालयले जनाएको छ। ‘नियमावलीमा प्रस्ट हुन नसकेका व्यवस्था कार्यविधिमा उल्लेख गरिन्छ,’मन्त्रालयले भन्यो,‘अहिले जस्तै स्वघोषणा गरेर ‘अन्य’ पहिचानको नागरिकता दिन सकिन्छ वा अरू केही व्यवस्था हुन सक्छ।’

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले अन्यमा नागरिकता दिँदा ‘तेस्रोलिंगी (मध्यमलिंगी महिला, मध्यमलिंगी पुरुष) र अन्तरलिंगी महिला, अन्तरलिंगी महिला जनाउन सुझाव दिएका छन्। ‘समलिङ्गी व्यवहारले हुने हो। तेस्रोलिंगी गेटअप नै परिवर्तन गर्छन्। अन्तरलिंगी जन्मँदै हुने हुन्,’काठमाडौं कीर्तिपुरका विवाहित एक तेस्रोलिंगी भन्छन्,‘आवश्यक व्यवस्था अनुसार सिफारिस बुझाए पछि सहजै पहिचान अनुसारको नागरिकता पाउनुपर्छ।’

नीलो फूल : अवस्था बदल्न व्यवस्था परिवर्तन

कीर्तिपुरमा भरखरै एउटा संस्था खुलेको छ। २०७९ चैतमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको संस्थामा तेस्रोलिंगी, समलिङ्गी, दुईलिंगी, अन्तरलिंगी मात्रै छैनन्, अधिकार विहीन बनाएको देख्दा ‘माया’ लागेर पुग्ने दयालुहरू पनि छन्।

अधिकारका लागि एकजुट हुने ठाउँ उपलब्ध गराएकी छिन्, लक्ष्मी डङ्गोलले। पक्की घरको सटरको भित्तामा समर्पण सभ्य समाज नेपालको ब्यानर टाँगिएको छ। तेस्रोलिंगी देखि आफूलाई क्वेयर ग्रुप समूहको लिडर पनि संस्थामा स्वयंसेवक छन्। लक्ष्मीले तेस्रोलिंगीको बारेमा सुनिरहेकी थिइन। ‘तेस्रोलिंगीको बारेमा सुनिरहेको छु, अवहेलना गर्नेहरूलाई नगर्न भन्न चाहन्छु,’उनले पहिचानसँग भनिन्,‘सहयोग पनि गरिरहेको छु।’

तेस्रोलिंगीको बारेमा सुन्नेहरू त भए। तर अवहेलना भने भोगिरहनु परेको छ। राज्यका निकायमा रहेकाहरूले पनि समलिङ्गी तेस्रोलिंगी सुनेका छन्। देखेका पनि छन्। अधिकार दिन भने आलटाल गरिरहेका छन्। राज्यका निकायको आलटालै प्रवृत्तिका कारण तेस्रोलिंगीका बालबालिकाले विद्यालय शिक्षामा विभेद भोग्नु परेको छ।

बालबालिकाको शिक्षामा अवरोध खडा गर्ने समाजको आँखा उघार्न समर्पण सभ्य समाजले सडक नाटक प्रदर्शन गर्ने तयारी थालेको छ। नाटकको एक पात्र समेत बनेकी छन् लक्ष्मी। नाटकको रिहर्सल आउँदो शनिवार गर्ने तयारी थालेका कलाकार मध्ये केही जबरजस्ती विवाहले परिवारमा निम्त्याउने समस्या उजागर गरेको लघु कथानक चलचित्र ‘नीलो फूल’मा अभिनय गरेका तेस्रोलिंगी समेत छन्।

रोजेको मान्छेसँग विवाह गर्न नपाउँदा…

सटरको भित्तामा नीलो फूलका तस्बिर सजाइएको छ। ‘माननीय सभासद् सुनिलबाबु पन्त’ लेखिएको तस्बिर राखिएको छ। भित्ताभर तस्बिर राखिएको भुईँको चकटीमा बसेर विवाहित तेस्रोलिंगी हनि महर्जन यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकका बच्चाको शिक्षामा मानसिक तनाव आउन नदिने सन्देश दिन नाटकको तयारी गरेको बताउँछन्।

हनिलाई उनकी श्रीमतीले पनि साथ दिएकी छन्। नाटकको एउटा रोल निभाउन तयार छिन हनिकी श्रीमती। ‘स्कुलमा बच्चाहरूलाई हेप्नु हुँदैन। एक अर्कालाई सहयोग गर्नुपर्छ। बच्चालाई तनाव भएपछि के गर्ने?’उनले भने,‘डिप्रेसनमा जान नदिन जनचेतनामूलक सन्देश दिन थालेका छौँ।’

नाटकमा विवाहित तेस्रोलिंगी तीर्थमान शाक्यले पनि भूमिका निर्वाह गर्दै छन्। उनी पहिलो पटक तेस्रोलिंगीहरु काठमाडौँको दरबारमार्ग सडकमा निस्किँदा सामेल थिए। सुनिलबाबु पन्तसँगै सडकमा निस्कँदा आफूहरूमाथि भएको अमानवीय व्यवहार अझै अन्त्य नभएकोमा खिन्न छन्। ‘आफूलाई त भने भने, केही छैन,’उनले भने,‘बच्चाहरूको पढाई समेत ह्याम्पर हुने गरी समाजले कुरा काट्दा चित्त दुख्छ।’

हनि समाजले नबुझ्दा पछाडि परेको बताउँछन्। ‘मुखमा राम राम बगलीमा छुरा भने जस्तै छ,’उनले भने,‘समाजले नबुझ्दा पछाडि परेका छौँ।’ हाँसो पात्र बनाउने समाजका असहज अवस्था रहेको उनीहरू बताउँछन्। ‘तेस्रोलिंगीका बच्चाहरू कसैको हेपाइमा नपरून् भनेर संस्था खोलेको हो,’शाक्य भन्छन्,‘समलिङ्गी तेस्रोलिंगी बच्चाहरूको शिक्षामा कुनै असर नपरोस्।’

नीलो फूल र सकम्बरीले गरे पितृसत्तात्मक सोचको भण्डाफोर

समर्पण सभ्य समाज नेपालमा स्वयंसेवक रहेका नमस्तिका श्रेष्ठ असहजतालाई सहज वातावरण बनाउन जनचेतना दिने काम गरिरहेको बताउँछन्। अर्का स्वयंसेवक अविना कटवाल आफूलाई क्वेयर यूथ लिडरको रूपमा चिनाउँछन्। ट्रान्सजेण्डर वेमेनका रूपमा आफूलाई चिनाउने उनी लाञ्छना र भेदभाव अन्त्य गर्न स्कुल कलेजमा पुग्ने गरेको बताउँछन्।

कीर्तिपुरकै मौनी महर्जन आफूलाई तेस्रोलिंगी महिला भनेर चिनाउन चाहन्छन्। चिनाउनका लागि हिँडिरहेका छन्। उनी आफ्नो पहिचानमा गर्व गर्छन्। परिवारको साथ सहयोग पनि पाएका छन् उनले। मास्टर सकेका उनी मिस वर्ल्डमा भाग लिने तयारीमा छन्। ‘परिवारले माया गर्छन्, साथ सपोर्ट दिएका छन्,’उनले भने,‘मिस वर्ल्ड बन्ने मेरो चाहना छ।’ उनी नबुझेको मान्छेलाई बुझाउनु पर्ने बताउँछन्।

समर्पण सभ्य समाज नेपालमा स्वयंसेवक रहेका खगेन्द्र जङ्ग थापा र सानुकुमारी मानन्धर कलेज, स्कुल, क्लबहरूमा भइरहेको विभेद अन्त्य गर्नका लागि सहयोग गर्ने बताउँछन्। ईभा शाक्य नलेज नभएर मान्छेहरूले हिजडा भन्ने गरेको सुनाउँछिन्। ‘नलेज छैन। यूथहरूले इन्फरमेसन पाएका छैनौ,’उनले भनिन्,‘जनचेतना जगाउने काममा सहयोग गरिरहेका छौ।’

कीर्तिपुरकी माया महर्जन तेस्रोलिंगीलाई भेदभाव नहोस् भन्ने चाहन्छिन्। उनका श्रीमान् गाईजात्रामा केटी बनेर जान्छन्। श्रीमानका साथीहरू घरमा पनि आउँछन्। ‘धेरै साथीहरू आउनु हुन्छ। गाईजात्रामा उहाँ केटी बनेर जानु हुन्छ,’उनले भनिन्,‘कसैले भेदभाव नगरोस्। राम्रो सँग बच्चाहरूले पढ्न पाउन, मानसिक तनाव नहोस् भनेर म पनि समर्पण सभ्य समाज नेपाललाई सहयोग गर्न आएकी छु।’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.