सत्ता टिकाउन चटक, एमाले एक्सनमा जाने

सत्ता टिकाउन चटक, एमाले एक्सनमा जाने

501
SHARES

काठमाडौं : कोशी प्रदेशमा सरकार टिकाउन चटक भएको छ। बैठक सञ्चालन गरेका सभामुखलाई मतदान गराएर विश्वासको मत लिएका उद्धव थापाविरुद्ध प्रतिपक्षी नेकपा एमाले फेरी अदालत जाने भएको छ।

एमालेको नाराबाजीकाबीच सत्ता पक्षकै सभामुख इस्नाइल मन्सुरीले मतदान गरेपछि मुख्यमन्त्री थापाले विश्वासको मत पाए। मन्सुरी अध्यक्ष मण्डलका सदस्य गीता तिम्सिनालाई सभाध्यक्षको जिम्मा लगाएर मत हाल्न पुगे। मतदानपछि सभाकक्षमा फर्किएका मन्सुरीले नै थापाले प्रदेशसभाबाट विश्वासको मत पाएको घोषणा गरे।

९३ सदस्यीय प्रदेशसभामा ७७ सांसद उपस्थित भएकोमा ४७ जनाले थापाको पक्षमा मतदान गरे। ३० जनाले विपक्षमा मतदान गरे। एमालेले थापाको सरकारलाई असंवैधानिक भनेको छ। कानुनी उपचारमा जाने एमाले नेता इन्द्रमणि पराजुलीले बताए।

सत्तारुढ दलले संविधान र कानुनको उपहास गरेको भन्दै बैठक चलाइरहेका अध्यक्षले फ्लोरमा गएर सही गर्नु जस्तो हास्यास्पद केही नभएको पराजुलीले बताए। उनले गलत अध्यासका विरुद्ध एमाले तत्काल एक्सनमा जाने बताए।

कोशी प्रदेश : मुख्यमन्त्री थापा कि कार्की?

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले भने सभामुखले गरेको मतदानको बचाउ गरेको छ। सरकार नै नबन्ने अवस्था आएपछि सभामुखले भोट हाल्नु कुनै नौलो कुरा नभएको नेकपा माओवादी केन्द्रको दाबी छ। माओवादी केन्द्रका सांसद गणेश प्रसाद उप्रेतीले संविधानको व्यवस्थामाथि नै प्रश्न उठाएका छन्। कोशीमा भएको आजको यस अभ्यासले नयाँ बहस छेडेको उनको भनाई छ।

सत्तामोहले फेरि एक पटक कोशी प्रदेश सरकार सङ्कटमा देखिएको छ। संविधानलाई नै कुल्चेर सत्ता टिकाउन गरिएको यस प्रकारको अभ्यासले कोशीको सरकार धेरै दिन टिक्न सक्ने अवस्था नरहेको संविधानका जानकार बताउँछन्। यसअघि सभामुखको समेत हस्ताक्षर बुझाएर मुख्यमन्त्री बनेका थापालाई सर्वोच्च अदालतले पदमुक्त गरेको थियो।

समाचार शेयर गर्नुहोस्
501
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.