प्रधानन्यायाधीशको पहिलो निर्णय : अटोमेशन प्रणाली लागू गर्ने

प्रधानन्यायाधीशको पहिलो निर्णय : अटोमेशन प्रणाली लागू गर्ने

काठमाडौं : सर्वोच्च अदालतमा भदौ ११ गतेदेखि अटोमेशनबाट मुद्दाको पेशी तोकिने भएको छ।

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले कार्यभार सम्हाले पछिको अटोमेशनबाट मुद्दाको पेशी तोक्ने पहिलो निर्णयमा हस्ताक्षर गर्नु भएको अदालतका सूचना अधिकारी गोविन्द प्रसाद घिमिरेले जानकारी दिए।

सर्वोच्चसहित देशभरका अदालतमा हाल मुद्दाको पेशी गोला प्रथाबाट तोकिँदै आएको छ। अब अटोमेशनबाट मुद्दाको पेशी तोकिने छ। घिमिरेले गोला प्रथा अहिले नै नहट्ने बताए।

इजलास भने गोला प्रथाबाट नै तोकिने घिमिरेले जानकारी दिए। ‘मुद्दाको पेशी फाँटका कर्मचारीले तोकिदिने गर्थे,’उनले भने,‘अब सफ्टवेयरले नै कुन प्रकृतिका मुद्दा, कस्ता मुद्दा कहिले पेशी राख्ने भन्ने त्यसैले अटोमेटिक पेशी तारिख तोकिदिन्छ।

नेपाल वार एसोसिएसनले अटोमेशनबाट मुद्दाको पेशी तोक्न दबाब दिँदै आएको थियो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रपति भवन शीतल निवासमा शपथ लिए लगत्तै मङ्गलवारबाट प्रधानन्यायाधीश श्रेष्ठले कार्यभार सम्हालेका छन्।

उनले अटोमेशनबाट मुद्दाको व्यवस्थापन गर्ने पहिलो निर्णय गरेर कार्यभार सुरु गरेका छन्। प्रधानन्यायाधीश श्रेष्ठले जिल्ला र उच्च अदालतहरूमा रिक्त न्यायाधीश नियुक्तिको प्रक्रिया पनि छिट्टै नै सुरु गर्ने बताएका छन्।

हाल सर्वोच्चमा ६ र उच्च अदालतमा ४२ न्यायाधीशको पद रिक्त छ । श्रेष्ठले कार्यभार सम्हाल्दै रिक्त न्यायाधीश नियुक्तिको प्रक्रिया सुरु गरिहाल्ने बताउनु भएको सूचना अधिकारी घिमिरेले जानकारी दिए।

गत वर्ष भदौमा न्यायपरिषद्ले उच्चमा रिक्त २७ न्यायाधीशका लागि योग्यता पुगेकाहरूबाट खुला दरखास्त आह्वान गरेको थियो। दरखास्त आह्वानमा परेका निवेदनमध्ये परिषद्ले ८१ उम्मेदवारको सूची तय गरेको छ। तर अहिलेसम्म हुन सकेको छैन।

सर्वोच्च अदालतमा रिक्त ६ न्यायाधीशमा राजनीतिक दलहरूले भने भागबन्डाको प्रयास गरेका छन्। एमालेले पूर्वमहान्यायाधिवक्ता रमेश बडाललाई अघि सारेको छ भने नेकपा समाजवादीले सर्वोच्च बारका पूर्वमहासचिव बालकृष्ण ढकाललाई सर्वोच्चको न्यायाधीश बनाउनुपर्ने अडान राखेको छ ।

काँग्रेसले नेपाल बारका पूर्वमहासचिव विजय मिश्र तथा हालका अध्यक्ष गोपालकृष्ण घिमिरेको नाममा प्रयास गरिरहेको स्रोतले बताएको छ ।

विश्वम्भरप्रसाद श्रेष्ठले २०८१ असोजसम्म सर्वोच्च सम्हाल्ने

उपसभामुखको गुनासो

प्रधानन्यायाधीश श्रेष्ठको शपथ ग्रहण कार्यक्रममा निम्तो नपठाएको उपसभामुख इन्दिरा रानाले गुनासो गरेकी छन्। उपसभामुख रानाले आफूलाई राष्ट्रपति कार्यालयले शपथ समारोहमा सहभागी हुन निमन्त्रणा नै नपठाएको बताइन।

रानाले भनिन्,‘सभामुख ज्यूको कक्षमा चिठी आयो, मेरोमा आएन, फोनसम्म आएको भए पनि म सहभागी हुने थिए, केही खबरै नआई म कसरी जानु?’

यसअघि मन्त्रीहरूको शपथ समारोहमा भने निमन्त्रणा आउने गरेको रानाले बताइन।

संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस श्रेष्ठलाई संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले सर्वसम्मत अनुमोदन गरेपछि राष्ट्रपति पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.