आप्रवासी मार्गहरू बने चिहान

आप्रवासी मार्गहरू बने चिहान

एजेन्सी : साउदी अरबको सीमा सुरक्षामा खटिएका सैनिकहरूले यमनको सीमामा आप्रवासीहरूको सामूहिक हत्या गरेको रिपोर्ट सार्वजनिक भएको छ।

ह्यूमन राइट्स वाचले युद्धग्रस्त यमनपार गरेर साउदी अरेबिया पुग्न लागेका इथियोपियलाीसहित सयौँ मानिसको गोली हानी हत्या गरिएको प्रतिवेदन सार्वजनिक गरेको हो। गोली लागेर कयौँको हातखुट्टा नै छुट्टिएका छन् भने मारिएकाहरूको शव बाटोमै यत्रतत्र छाडिएको छ।

साउदी अरबले भने योजनाबद्ध हत्याको आरोप अस्वीकार गर्दै आएको छ।

ह्यूमन राईट्स वाचले प्रतिवेदनमा आप्रवासीहरूबाट सङ्कलन गरेको तथ्याङ्क उल्लेख गरेको छ, जसमा उनीहरूले आफूहरू माथि गोलीको वर्षा गरेको बताएका छन्। उनीहरूलाई यमनको अस्तव्यस्त उत्तरी सिमानामा साउदी प्रहरी सैनिकहरूले गोली हानेको र कहिलेकाहीँ विस्फोटक हतियारले समेत निशाना बनाएको उल्लेख गरिएको छ।

आप्रवासीहरूले डरलाग्दो रातको समयमा सिमापारको भयावह यात्रा सुनाएका छन्। जसमा धेरै महिला र बालबालिका सहित इथियोपियालीहरुको ठुलो समूह आगोको चपेटामा परे। उनीहरू तेलको धनी राज्यमा कामको खोजीमा सीमा पार गर्ने प्रयासमा थिए।

‘गत वर्ष जुलाईमा सीमा पार गर्न खोजेका ४५ जना आप्रवासीको समूह थियो। उनीहरूले लगातार हामीमाथि गोली बर्साए, केही मारिए,’ २१ वर्षीय मुस्तफा सोफिया मोहम्मदले भने,‘सुरुमा त मैले गोली लागेको पनि थाहा पाइन। तर जब उठेर हिँड्ने प्रयास गरेँ मेरो खुट्टाको एक भाग त मबाट छुट्टिसकेछ। यमनी र इथियोपियाली तस्करहरूको हातबाट खतरा, भोकमरी र हिंसाले भरिएको तीन महिने यात्राको त्यो नै क्रूर र अराजक अन्त्य थियो।’

केही घण्टापछि खिचिएको भिडियोमा उनको देब्रे खुट्टा लगभग पूर्ण रूपमा काटिएको देखाइएको छ। मुस्तफाको खुट्टा घुँडा मुनी काटिएको थियो र अहिले उनी इथियोपिया फर्केर आमाबुबासँग बस्छन्, बैसाखी र कृत्रिम अङ्गको सहारा लिएर हिँड्छन्।

दुई सन्तानका पिता उनले भने–‘म आफ्नो परिवारको जीवन सुधार्न चाहन्थेँ, त्यसैले साउदी अरेबिया गएको थिएँ। तर मैले जे आशा गरेको थिएँ त्यो पुरा भएन। अहिले आमाबुबाले नै मेरो लागि सबै कुरा गर्नुहुन्छ।’

नाम लुकाउन चाहेका अर्का इथियोपियाली आप्रवासीले साउदी सेनाको पोशाक लगाएका मानिसहरूले सीमामा गोली हानेको बताए। ‘उनीहरूले हामीलाई कुटपिट गरे, केहीलाई मारिदिए, बाँचेकाहरूलाई अस्पताल लगियो। मारिएकाहरूको शव भुँइमै यत्रतत्र छरिएका थिए,’ बीबीसीलाई उनले भने,‘मेरो तिघ्राको बिचमा कमर नजिक गोली लागेको थियो, मेरो खुट्टा अहिले चल्दैन। हिँड्न पनि सक्दिन। मलाई मर्छु जस्तो लाग्यो।’

सामूहिक हत्या हुने क्षेत्र

केही बाँचेका मानिसहरूमा ठुलो आघात पुगेको छ र उनीहरूमा गम्भीर खालका लक्षण देखाउँछन्।

यमनको राजधानीमा १८ वर्षकी जहारा छिन्। तर उनी उमेर भन्दा निक्कै कम देखिन्छिन् र आफूमाथि भएको घटना बताउन उनलाई निकै गाह्रो पर्छ। फिरौती र घुसमा करिब २५०० डलर सकाएकी उनको यात्रा, सीमामा गोलीको वर्षासँगै समाप्त भयो। गोलीले उनको एउटा हातका सबै औँलाहरू लग्यो। चोटको बारेमा सोध्दा उनी टाढा हेर्छिन्, जवाफ दिन सक्दिनन्।

संयुक्त राष्ट्र सङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनका अनुसार, प्रत्येक वर्ष दसौँ हजारौँ मानिसहरू खतरापूर्ण यात्राको प्रयास गर्छन्। अफ्रिकाको हर्नबाट यमनसम्म समुद्र पार गर्दै साउदी अरबको यात्रा गर्छन्।

मानव अधिकारवादी सङ्गठनका अनुसार कयौँ मानिसले बाटोमा कारावास र कुटपिटको अनुभव गर्नुपर्छ। समुद्र पार गर्नु निकै खतरनाक छ । भर्खर जिबूतीको तटमा एउटा जहाज दुर्घटना हुँदा २४ जनाभन्दा धेरै आप्रवासीहरू बेपत्ता भएका थिए। यमनमा, मुख्य आप्रवासी मार्गहरू मरेका मानिसहरूको चिहानले भरिएका छन्।

उत्तरी यमनको अधिकांश भाग कब्जा गरेको देशको हुथी विद्रोहीद्वारा सञ्चालित राजधानी सानामा रहेको हिरासत केन्द्रमा आगलागी हुँदा दर्जनौँ आप्रवासी मारिए। तर एचआरडब्ल्यूको पछिल्लो प्रतिवेदनमा उल्लेखित दुर्व्यवहारका घटनाको परिमाण र प्रकृति फरक छन्।

प्रतिवेदनको प्रमुख लेखिका नादिया हार्डम्यानले बीबीसीलाई भनिन्,‘हामीले दस्ताबेज गरेका कुराहरू मूलतः सामूहिक हत्या हुन्। मानिसहरूले यस्ता ठाउँहरूका बारेमा बताए, जुन ठाउँ हत्याको खेत जस्तै सुनिन्छ। पहाडमा चारैतिर शवहरू छरिएका छन्।’

सन् २०२२ मार्चदेखि गत जुनसम्मको अवधिलाई समेटेको उक्त प्रतिवेदनमा १४ वटा गोली प्रहारसँगै २८ वटा छुट्टाछुट्टै घटनाको विवरण दिइएको छ। ‘मैले बाँचेकाहरूले पठाएको सयौँ ग्राफिक चित्र र भिडियोहरू हेरेको छु। उनीहरूले धेरै डरलाग्दो चोट र विस्फोटका घाउहरू देखाएका छन्’ हार्डम्यानले भनिन्।

सीमा पार गर्ने दुर्गम स्थान र बाँचेकाहरूलाई ट्र्याक गर्न कठिनाइले गर्दा कति मानिसहरू मारिएका छन् भनेर यकिन गर्न असम्भव बनाइएको प्रतिवेदनमा उल्लेख छ। ‘हामी न्यूनतम ६५५ भन्छौँ तर त्यो सङ्ख्या हजारौँ हुन सक्छ। हामीले तथ्यगत रूपमा प्रस्तुत गरेका छौँ,’हार्डम्यानले भनिन्,‘दुर्व्यवहार व्यापक र योजना बद्ध भएका छन् र मानवता विरुद्धको अपराध हुनसक्छ।’

उत्तरी सीमामा साउदी सुरक्षा बलले गरेको हत्याको रिपोर्ट गत अक्टोबरमा संयुक्त राष्ट्र सङ्घका विज्ञहरूले रियादमा सरकारलाई लेखेको पत्रमा पहिलो पटक सार्वजनिक गरिएको थियो।

‘साउदी सुरक्षा बलले ठुलो सङ्ख्यामा सीमा पार गर्नेहरू माथि अन्धाधुन्ध तोपखानाको गोलाबारी र साना हतियार प्रयोग गरी योजनाबद्ध रूपमा हत्या गरेको जस्तो देखिन्छ भनी पत्रमा उल्लेख गरिएको थियो। गम्भीर आरोपका बाबजुद पनि त्यस पत्रलाई ठुलो रूपमा लिइएन।

साउदीको खण्डन

साउदी सरकारले आरोपलाई गम्भीरताका साथ लिएको बताउँदै ठुलो सङ्ख्यामा र योजना बद्ध ढङ्गले हत्या भएको भन्ने संयुक्त राष्ट्र सङ्घको भनाइको खण्डन गरेको छ।

‘प्राप्त सीमित जानकारीको आधारमा राज्यका अधिकारीहरूले आरोप पुष्टि गर्ने कुनै जानकारी या प्रमाण फेला पार्न सकेनन्’ साउदी सरकारले जवाफ दिएको छ।
तर गत महिना, मिश्रित आप्रवासन केन्द्र, विश्वव्यापी अनुसन्धान नेटवर्कले बाँचेकाहरुसँगको साक्षात्कारका आधारमा सीमामा भएका हत्याका थप आरोप सहितको रिपोर्ट प्रकाशित गरेको थियो।

उक्त रिपोर्टमा सीमा क्षेत्रमा छरिएका र सडेका शवहरू, साउदी सीमा क्षेत्रमा कब्जामा लिइएका आप्रवासीहरूलाई कुन खुट्टामा गोली खान चाहन्छौ भनेर सोधिएको र डराएका मानिसहरूलाई मेसिन गन र मोर्टारहरु प्रयोग गरी आक्रमण गरेको विवरणहरू प्रस्तुत गरिएको थियो।

डराएका मान्छे

ह्यूमन राइट्स वाचको प्रतिवेदन भने अहिलेसम्मको सबैभन्दा विस्तृत रहेको छ, जसमा केही प्रत्यक्षदर्शीहरूको भोगाई, धेरै हत्या भएको स्थान सीमा पार गर्ने बिन्दुको स्याटेलाईट चित्रणसँगै मारिएकाहरूको शव गाडिएको स्थलका बारेमा वर्णन गरिएको छ। यस्तै गरी सशस्त्र हतियारधारी तस्करहरूले सीमामा लैजानु अघि आप्रवासीहरूलाई राखिने यमनभित्र मोनाबिहमा रहेको एउटा हिरासत केन्द्रको पनि पहिचान गरेको छ।

ह्यूमन राइट्स वाचद्धारा अन्तरवार्ता लिइएका आप्रवासीका अनुसार यमनका हुथी विद्रोहीहरू मोनाब्बिहमा सुरक्षाको जिम्मेवारीमा छन् र उनीहरू तस्करहरूसँग मिलेर काम गर्छन्। उक्त हिरासत केन्द्रको कम्पाउन्डलाई उज्याले सुन्तला रङको पालले ढाकेको स्याटलाइट तस्बिरमा देख्न सकिन्छ।

सानामा हुथी नेतृत्वको सरकारले भने ह्यूमन राइट्स वाचको प्रतिवेदनको जवाफ दिँदै साउदी सीमा सुरक्षा बलद्वारा आप्रवासी र यमनीहरुको जानाजानी हत्या सम्बन्धमा सचेत रहेको बताएको छ। तस्करहरूलाई अपराधी ठान्ने भन्दै हुथी सरकारले उनीहरूसँग मिलेर काम गर्ने कुरालाई पनि अस्वीकार गरेको बीबीसीले जनाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading