धार्मिक द्वन्द्व फैलाउन खोज्ने तत्त्व हाबी, सतर्क रहन अपिल

धार्मिक द्वन्द्व फैलाउन खोज्ने तत्त्व हाबी, सतर्क रहन अपिल

काठमाडौं : सुनसरीको धरानमा हुन सक्ने सम्भावित मुठभेड तत्कालका लागि टरेको छ। गोरु काटेर मासु खाएको विषयमा हिन्दु र गैरहिन्दु समुदायबीच तनाव बढ्दै जाँदा प्रशासनले निषेधाज्ञा लगाएपछि सम्भावित दुर्घटना टरेको हो।

दुवै पक्षले शनिवार प्रदर्शन गरे पनि कानुनको पालना गर्दै निषेधित क्षेत्र भने नतोडेको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन। ‘अहिले जनजीवन सामान्य अवस्थामा रहेको छ,सुरक्षाकर्मीहरू अहिले पनि परिचालित छन्,’उनले भनिन्,‘निगरानीमै छ, राति १२ बजेसम्म निषेधाज्ञा कायम गरिएको छ।’

निषेधाज्ञाको समयमा कुनै पनि अप्रिय घटना नघटेको प्रमुख जिल्ला अधिकारी पाण्डेलेले बताइन। अवस्था सामान्य रहेकाले निषेधाज्ञाको समय बढाउने तयारी प्रशासनको नरहेको उनले बताइन।

प्रदेशमा हिंसा भड्कन लाग्दा समेत सङ्घीय सरकारले कुनै चासो नदेखाएको भन्दै सरकारको आलोचना भइरहेका बेला गृह मन्त्रालयले भने यस घटनालाई नजिकबाट नियालिरहेको दाबी गरेको छ। सरकारले थाहा नै नपाएको भन्ने कुराको खण्डन गर्दै गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले वातावरण सहज बन्दै गएको बताए।

पछिल्लो समय नेपालमा साम्प्रदायिक र धार्मिक द्वन्द्व फैलाउन खोज्ने केही तत्त्व नै हाबी भएको पाइएको छ। विभिन्न जातजाति तथा धर्मसंस्कृतिहरु मिलेर बसेको नेपाली समाजलाई साम्प्रदायिक र धार्मिक द्वन्द्वमा लैजान खोज्ने केही तत्त्व नै हाबी भएको आरोप स्वयम् राजनीतिक दलका नेताहरूले लगाएका हुन्।

संवेदनशील विषयमा जथाभाबी नबोल्न तथा सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरू र राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक अपिल गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानले प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक सुनिश्चित गरेको उल्लेख गरेका छन्।

केही दिनयता सांस्कृतिक नगरी धरानमा भइरहेका गतिविधि र त्यसले पार्न सक्ने नकारात्मक प्रभावबारे नेपाल सरकार गम्भीर रहेको प्रचण्डले उल्लेख गरेका छन्।

विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक सङ्घसंस्थाहरू, बौद्धिक समुदाय र जनसमुदायमा प्रधानमन्त्री प्रचण्डले हार्दिक अपिल गरेका छन्।

सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रही एकता र सद्भावको पक्षमा उभिन र समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट सम्भव पहल लिनुहुन धरानवासी जनसमुदाय लगायत सम्पूर्ण नेपालीमा उनले अपिल गरेका हुन्।

नेपाली काँग्रेसले सामाजिक, धार्मिक, राजनैतिक समग्र सद्भावका लागि सार्वजनिक अपिल गरेको छ। सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने उल्लेख गरेका छन्। नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुर्‍याई आ–आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा नभुल्न काँग्रेसले भनेको छ।

सभापति देउवाले कसैको धर्म, संस्कृति र परम्परा प्रति कसैले दक्खल पुर्‍याउन उचित नहुने उल्लेख गरेका छन्। उनले राजनैतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक सङ्घ–संस्था एवं समाजका अग्रज व्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने महान् कार्यमा जुट्न अपिल गरेका छन्।

तर नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले भने धरानको घटनातर्फ लक्षित गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै जातीय द्वन्द्व निम्त्याएको आरोप लगाएका छन्। विराटनगरमा नेपाल प्रेस युनियन मोरङ शाखाको पदस्थापन कार्यक्रममा नेता कोइरालाले धार्मिक सद्भाव लडखडाइरहेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले थप द्वन्द्व निम्ताउने प्रयास गरेको आरोप लगाए।

प्रधानमन्त्री प्रचण्डले बहुमत दिए जातीय पहिचानको प्रदेश बनाउँछु भनेर केही दिन अघि दिएको अभिव्यक्तिप्रति प्रश्न उठाउँदै कोइरालाले त्यो उचित हो? भनेर सोधेका छन्। हिजो मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारकै संरक्षणमा यस्ता घटना भइरहेको दाबी गरेका थिए।

नेकपा एमालेका नेता शेरबहादुर तामाङले धर्मलाई जोडेर हिंसा मच्चाउन खोज्ने तत्त्वहरू सलबलाई रहेको भन्दै त्यस्ता तत्त्वलाई बेलैमा चिन्न जरुरी रहेको बताए। ‘मुलुकको धार्मिक सहिष्णुता र जातीय एकता कायम गर्न सबै संयम भएर अगाडि बढ्न म अनुरोध गर्न चाहन्छु’ उनले भने।

कुनै पनि धर्मले हिंसालाई प्रश्रय नदिएको र धर्मको उत्पत्तिको आधार हिंसा नभएको बताउँदै उनले के काट्न हुने, के काट्न नहुने भन्ने विषयको बहस आवश्यक नरहेको बताए। ‘जुनसुकै धर्ममा पनि हिंसालाई प्रश्रय दिएको देखिँदैन। हिंसाको आडमा कुनै पनि धर्म जन्मिएको देखिँदैन,’ उनले भने,‘धर्मको आडमा हिंसालाई जोडेर के काट्न पाइन्छ, के काट्न पाइँदैन भन्ने बहस गरेर हामी समाजलाई साम्प्रदायिक र धार्मिक द्वन्द्वतर्फ लैजाने परिस्थिति सिर्जना भएको छ।’

नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले धरानमा अर्बौँ पैसा बाँडेर धर्म परिवर्तन गरिरहेको आरोप लगाएका छन्। उनले साम्प्रदायिकता भड्काउन विविध खालका शक्ति लागेको बताए। ‘यो साम्प्रदायिकता खलबल्याउन समेत मान्छेलाई अर्बौँ पैसा बाँडेर क्रिष्चियन बनाइदैछ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि गाईगोरु काट्न संविधान र कानुनले वर्जित गरेका कारण कसैले पनि मान्दिनँ भन्न नपाइने बताएका छन्। ‘फूल रोप्ने मान्छेलाई खोजी खोजी माया गरौँ, काँडाले घोच्ने मान्छेबाट टाढा बसौँ,’उनले भने,‘हाम्रो दुस्मन, गरिबी र अशिक्षा हो। बेरोजगारी हो। यो साझा दुस्मन हो। आज जातीय सद्भाव भड्काउन पाइयो भने त भ्रष्टाचारका यत्रा काण्डहरू सामसुम, थामथुम, हुन्छन् भनेर त्यतातिर तपाईँलाई आगो झोसिरहेका छन्, खबरदार।’

अधिकारकर्मी तथा राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले भने शनिवार धरानमा निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्नेहरू नेपाली नागरिक नभएको सूचना आफूलाई आएको बताएकी छन्।

‘नेपाल प्रहरीले ती व्यक्तिहरू माथि निगरानी गर्नु पर्‍यो, पक्राउ गर्नु पर्‍यो,’उनले भनिन्,‘कुन व्यक्ति कहाँबाट आयो छानबिन गर्ने अधिकार नेपाल प्रहरीसँग छैन?,ती व्यक्ति कसरी त्यहाँ आए? किन नाराबाजी भयो?’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.