इन्जिनियरिङमा शुल्क विवाद : सामूहिक राजीनामा दिने प्राध्यापकहरूको तयारी

इन्जिनियरिङमा शुल्क विवाद : सामूहिक राजीनामा दिने प्राध्यापकहरूको तयारी

काठमाडौं : त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानमा विद्यार्थीहरूले लफडा मच्चाएका छन्। इन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालयमा शनिवारसम्म एक जना विद्यार्थी आमरण अनशनमा बसेका थिए। आइतबारदेखि अरू तीन जना विद्यार्थीले अनसन सुरु गरेका छन्।

संस्थानले २०५४ सालमा कायम भएको शुल्क अहिले वृद्धि गर्न लाग्दा विद्यार्थी आन्दोलित बनेका हुन्। डिनको कार्यालयले भने शुल्क वृद्धि नभए इन्जिनियरिङ अध्ययन संस्थान नै बन्द हुने चेतावनी दिएको छ।

३ लाख १८ हजार रुपैयाँमा नै नयाँ भर्ना लिनु पर्ने भए अध्ययन संस्थान आफैँ बन्द हुने सहायक डिन सरोज लामिछानेले बताए। ‘३ लाख १८ हजारमा पढाइदिनु भन्छौ भने विद्यार्थीले क्याम्पस बन्द गर्नै पर्दैन, यो अटोमेटिक बन्द हुन्छ,’सहायक डिन लामिछानेले भने,‘अहिले दसैँ पेस्की दिने पैसा छैन, मङ्सिर पछि टिचरले मरे पढाउँदैन।’

इन्जिनियरिङ अध्ययन संस्थानले भदौ ५ गते इन्जिनियरिङको स्नातक तह (बिई)मा नियमिततर्फ शुल्क ३५ हजारबाट बढाएर ८२ हजार र पूर्ण शुल्कतर्फ ३ लाख १८ हजारबाट बढाएर ७ लाख ७५ हजार पुर्‍याइएको थियो। अहिले अध्ययन गरिरहेका विद्यार्थीका लागि बढेको शुल्क लागू हुँदैन। पैसा तिरेर अध्ययन गर्न आउने अर्थात् पूर्ण शुल्क तिरेर भर्ना हुने विद्यार्थीका लागि मात्र शुल्क वृद्धि गरिएको संस्थानले बताएको छ।

नेपाल सरकारको छात्रवृत्तिमा पढ्ने विद्यार्थीले ७ लाख ७५ हजार रुपैयाँ तिर्नुपर्दैन। ‘पढिरहेका विद्यार्थीलाई बढेको शुल्क लागू हुँदैन,’उनले भने,‘नयाँ विद्यार्थीलाई त्यो पनि प्राइभेट विद्यार्थीका लागि शुल्क वृद्धि गरिएको हो।’ उनले सरकारबाट छात्रवृत्ति पाउने ६ सय ३० बाहेकका प्राइभेट विद्यार्थीका लागि शुल्क बढाउन लागेको जानकारी दिए।

संस्थानले विरोध भएपछि तत्कालका लागि वृद्धि भएको शुल्क स्थगन गरेको छ। इन्जिनियरिङ संस्थान राजनीति गर्ने थलो बनेको डिन लामिछानेले बताए। ‘बिरालोलाई पनि भित्ता पारे कोपर्छ’ भने जस्तै अवस्थामा अध्ययन संस्थान पुगेको छ। ‘निचोरेर मात्रै भएन, पुलिस प्रशासनलाई लौन सहयोग गर, सिडिओलाई लौन सहयोग गर्नुहोस् भन्यो, हामी भन्दा पहुँचवाला विद्यार्थी अनसनमा बसेका छन्,’उनले भने,‘ सकिँदैन त, न यताबाट सहयोग हुन्छ, न उताबाट सहयोग हुन्छ, न अनुदान आउँछ।’

त्यसैले प्रवेश परीक्षा नै स्थगन गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दबाब दिएर चितवनमा चार वर्ष अगाडी खोलिएको इन्जिनियरिङ कलेज अहिले घाटामा सञ्चालन भइरहेको छ।

प्रचण्ड नेतृत्वको सरकारले भने कुनै वास्ता नगरेको अध्ययन संस्थानको गुनासो छ। शुल्क बढाउन नपाउने र सरकारी अनुदान पनि कटौती भए सामूहिक राजीनामा दिने तयारी नै गरेको लामिछानेले बताए। उनले राजीनामा तयार गरेर बसेको बताए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने कुरा पुर्‍याए पनि भेट्न नपाएको बताए। उनले भेट्न नमान्नुको कारण पनि खुलाए।

‘चार वर्ष अगाडि उहाँ (प्रचण्ड)ले आफ्नै निर्वाचन क्षेत्रमा कलेज खोल्नलाई साह्रै प्रेसर दिनुभयो, हामीले चितवनमा चितवन इन्जिनियरिङ कलेज खोल्यौ,’उनले भने,‘उहाँले क्याबिनेटबाट १५ करोड रुपैयाँ भवन बनाउन र आठ वटा दरबन्दी टिचरका लागि पास गरेर दिनुभयो, तर आजका दिनसम्म न एक रुपैयाँ आयो न दरबन्दी आयो,संस्था त खोलिहालियो, खोले पछि चलाउन पर्‍यो,अहिले त्यो कलेजमा ६० लाख रुपैयाँ विद्यार्थीबाट फी उठ्छ, १ करोड २५ लाख रुपैयाँ त्यहाँ खर्च हुन्छ।’

उनले प्रधानमन्त्री प्रचण्डले अहिले क्याबिनेटबाट निर्णय गरे पनि आफूहरू मान्न तयार नरहेको बताए।‘उहाँले ल निर्णय भयो, एक अर्ब आयो भने पनि हामी मान्दैनौ, किन मान्दैनौ भने हाम्रो खातामा नआएसम्म मान्दैनौ,’उनले भने,‘किन भने हामीले उहाँसँग नै भोगिसक्यो नि, अहिलेकै प्रधानमन्त्रीसँग भोग्या हो, अहिले हामी यस्तो स्थितिमा छौ।’ उनले विद्यार्थीका लागि आफूहरूले कुटाइ खाइदिनु पर्ने अवस्था रहेको सुनाए।

वार्तामा आउन अपिल

त्रिभुवन विश्वविद्यालय (त्रिवि) इन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालयले चौतर्फी शुल्क वृद्धिको विरोध भएपछि वार्तामा आउन आग्रह गरेको छ।

डीनको कार्यालयले विज्ञप्ति जारी गर्दै सरोकारवाला पक्षहरू, आन्दोलनरत संघसंगठनहरूलाई वार्तामा सम्मिलित भई उचित निकास दिन आग्रह गरेको हो।

प्राध्यापक तथा डिन शशीधर राम जोशीले प्राध्यापक, कर्मचारी तथा विद्यार्थी) तथा आन्दोलनरत सङ्घ/सङ्गठनहरूलाई वार्तामा बसेर उचित निकास दिन अपिल गरेका छन्।

डीन जोशीले सरकारले दिँदै आएको बजेटमा निरन्तर कटौती, बढ्दो विद्यार्थी सङ्ख्या अनुपातमा अपुग शिक्षक कर्मचारीको स्थायी दरबन्दी सङ्ख्याका कारण शुल्क बढाइएको स्पष्टोक्ति दिएका छन्। विद्यार्थी सङ्गठनको विरोधका कारण बि.ई./बिआर्कको प्रवेश परीक्षा स्थगित भएको छ।

आइओईले इन्जिनियरिङ विषयको शुल्क वृद्धिको विरोधमा सत्तारुढ दल नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले भने आइतबार सरकार विरुद्ध प्रदर्शन गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्न गएका उनीहरूलाई प्रहरीले भाटभटेनी मै रोकेको थियो। प्रहरीले निषेधित क्षेत्रमा रोकेपछि कहिबेर प्रहरी र विद्यार्थीहरू बीच घम्साघम्सी समेत भएको थियो।

नेविसंघ पुलचोक क्याम्पसका पूर्वअध्यक्ष बबिन बस्नेतले भने वार्ताका लागि डिनको कार्यालय सिरियस भएको नपाइएको बताए। ‘विभिन्न चरणमा वार्तामा बस्यौ,उहाँहरू पनि त्यति सिरियस हुनुहुन्न,’उनले भने,‘वार्तामा उहाँहरूले बढाएको शुल्क नै कायम राख्छौ भनिरहनु भएको छ, त्यसैले वार्ता कुनै निष्कर्षमा पुग्न सकेको छैन।’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.