भुटानी शरणार्थी शिविर उखेलेर भारत कटाउने सिडिओले दिएको आदेश विफल पारेको त्यो दिन

भुटानी शरणार्थी शिविर उखेलेर भारत कटाउने सिडिओले दिएको आदेश विफल पारेको त्यो दिन

मानव अधिकार र न्यायको माग गर्दै दक्षिणी भुटानमा भएको व्यापक शान्तिपूर्ण प्रदर्शनमा सन् १९९० मा चरम दमन भयो। शान्तिपूर्ण प्रदर्शनमा सहभागी हजारौँ नागरिकलाई भुटान सरकारले पहिचान गरी देश निकाला गर्‍यो।
देश निकाला गरिएकामध्ये ९१ जना सबैभन्दा कमजोर थिए। उनीहरूलाई तत्काल चिकित्सकको निगरानी र हेरचाह आवश्यक थियो। भारतमा उनीहरूलाई यस्तो सुविधा उपलब्ध गराउने प्रयास सफल हुन सकेन।

तसर्थ त्यहाँका तत्कालीन वरिष्ठ भुटानी नेताहरूले उनीहरूलाई नेपाल ल्याउने निर्णय गरे। उनीहरूलाई मृत्युको मुखबाट जोगाउन र नेपाली नागरिकले सहयोग गर्नेछन् भन्ने पूर्ण विश्वासका साथ उनीहरूलाई नेपाल ल्याइएको हो। उनीहरूलाई नेपाल लगेर हेरचाह गर्ने जिम्मा गौरीशङ्कर निरौला, म र भीम खपाङ्गीलाई दिइएको थियो। यसरी हामीले सन् १९९१ फेब्रुअरीमा उनीहरूलाई नेपाल ल्यायौँ।

केही सातापछि एक बिहान हामी माई नदीको किनारमा रहेको कोटीहोम गौशाला पुग्यौँ। त्यस गौशालाका गोठलाई आफ्नो घर बनाउन हामी सङ्घर्षरत थियौँ। त्यस स्थान आसपासमा प्रहरी अधिकारी र अन्य मानिसहरूको असामान्य गतिविधि देखेर हामी निकै आश्चर्यचकित थियौँ।

त्यस बिहान हाम्रो समूहका अन्य दुई नेताहरू हाम्रा मानिसहरूलाई खुवाउने खाने कुरा र अन्य सामग्री खोज्न नजिकका गाउँहरूमा गएका थिए। म पनि आफ्नो टोली लिएर दूधेतर्फ जान लाग्दा एक परिचित स्थानीय प्रहरीले मलाई झापाका तत्कालिन प्रमुख जिल्ला अधिकारी (सिडिओ) श्रीकान्त रेग्मी शरणार्थी नागरिकसँग अन्तरक्रिया गर्न कोटिहोम जान लागेको कुरा जानकारी गराए। (तत्कालीन सिडिओ रेग्मीको २०७८ भदौमा निधन भइसकेको छ)

एक घण्टा पनि नबित्दै फेरि उनले मलाई सिडिओ रेग्मीसँगको भेटका लागि निम्तो दिए। मैले केही भुटानी साथीहरूलाई पनि साथ दिन आग्रह गरेँ र हामी कोटीहोमतर्फ लाग्यौँ। जब हामी कोटीहोम परिसरमा पुग्यौँ हामी आश्चर्यचकित भयौँ। त्यहाँ दर्जनौँ प्रहरी भ्यान र दर्जनौँ प्रहरीहरू दङ्गा रोक्न तयारी अवस्थामा बसे जसरी जम्मा भएका रहेछन्।

त्यसपछि सिडिओ श्रीकान्त रेग्मी आएर भीडलाई सम्बोधन गर्न थाले। उनले गोठमा बसोबास गरिरहेका भुटानी शरणार्थीहरू नेपाल प्रवेश गरेको काँकडभिट्टा नाकाबाटै फर्किनुपर्ने घोषणा गरे।

यतिमात्र होइन उनले स्वैच्छिक रूपमा शान्तिपूर्ण तरिकाले नफर्किए जबरजस्ती देश निकाला गरिने चेतावनी पनि दिए। हामीलाई निष्कासनको आदेश दिने उनको अहङ्कारी र निर्दयी तरिका सुनेर म लज्जित भएँ।

केही दिनअघि उनले हामीलाई काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्न रोक्ने प्रयास गरेका थिए। मैले माथि उल्लेख गरेझैँ नेपाल प्रवेश गर्नुको हाम्रो उद्देश्य पिङ्ख्वा, सिङे, निचुला र याबाजस्ता गाउँमा यातना, बलात्कार र अन्य अमानवीय कार्यहरूको पीडादायी प्रभाव भोगेका अति कमजोर भुटानीको जीवन बचाउनु थियो। यी समूहमा बालबालिका र वृद्धवृद्धा थिए।

खाद्यान्न र चिकित्सकहरूको उपलब्धता नहुँदा भारतमा थप बस्ने हो भने उनीहरूलाई बचाउन गाह्रो थियो। सीमावर्ती शहर काँकडभिट्टामा स्थानीयवासीको लगातारको हस्तक्षेप र घण्टौँको पर्खाइपछि मात्र नेपाल प्रवेश गर्न दिइयो। राम्रो विकल्पको व्यवस्था नभएसम्म केही दिन त्यहीँ बस्न मिल्छ भनेर स्थानीय नागरिकको सल्लाहमा हामीलाई पहाडको धर्मशालामा लगियो।

एक हप्तामा डीपी काफ्ले र मधुसूदन ढकालको सहयोगमा हामीले कोटीहोमका गाईगोठमा बस्ने व्यवस्था गर्‍यौँ। हामीलाई काँकडभिट्टाको धर्मशालाबाट स्थानीय बसमा राखेर कोटीहोम लगियो। हामीले गम्भीर रूपमा प्रभावित, जोखिममा परेका र निष्कासित भुटानीहरूलाई भारतको पश्चिम बङ्गालको डोअर्सबाट सुरक्षित रूपमा कसरी माई नदीको किनारमा ल्यायौँ भनेर सम्झने हो भने यो यात्रा कहालीलाग्दो छ।

गोबरमाथि ओछ्याइएको सुख्खा घाँसमा सुत्ने, नजिकैका मन्दिरमा भएका कार्यक्रमबाट बचेका खानेकुरा खाने, पुराणबाट ढुङ्गा मिसिएका चामल, दाल र अरू चिजहरू जे पाइन्छ त्यही पकाउने हाम्रो दैनिकी थियो।

नक्कली शरणार्थी : टेकनाथले देउवालाई लेखेको पत्र र सभामुखलाई बुझाएको अपिल (भिडियो)

समय बित्दै जाँदा समाजसेवी, नेताहरू र धार्मिक व्यक्तिलगायत स्थानीहरूले हामीलाई भेटेर खानका लागि सहयोग गर्न थाले। उनीहरू हामी बसेको ठाउँमा आएर खानेकुरा दिन्थे र पैसा कमाउने बाटो खोज्न सहयोग गर्थे। विभिन्न सकारात्मक गतिविधि भइरहेका थिए जसले हामीलाई अगाडि बढ्न आशावादी बनाएको थियो।

छोटो अवधिमा भएका यस्ता सकारात्मक घटनाक्रमका बीच सिडिओको अकस्मात् भ्रमण र हामीलाई फिर्ता जान उनले जारी गरेको उर्दीले स्तब्ध बनायो। उनको आदेश क्रूर र हाम्रो समुदायलाई मात्र लक्षित थियो। तर यसको तरङ्ग स्थानीय समुदायमा पनि प¥यो। जसले कमल मैनालीजस्ता स्थानीय नेता पनि स्तब्ध भए।

शरणार्थीको प्रतिनिधि भएर म अगाडि आएको हुँ। मैले थोरै हिम्मत जुटाएर हामीलाई नहटाउन र यहाँ बस्न अनुमति दिन सिडिओलाई अनुरोध गरेँ। आकस्मिक भावनाका साथ मैल हाम्रो दयनीय अवस्थाबारे जानकारी गराएँ।

तर मैले जति बिन्ती गरे पनि सिडिओ आफ्नो अडानमा कायम रहे। ‘हामीलाई काँकडभिट्टाको गेट खोलेर किन नेपाल प्रवेश गर्न दिनुभयो? अनि अहिले किन सोही बाटोबाट भारत फर्कन भन्नुहुन्छ? मैले उनलाई सोधेँ। त्यसपछि ‘हामी सबैलाई गोली हानेर मार्नुस् तर तपाईँको आदेश मान्न सक्दैनौँ, कोटीहोमबाट जान्दैनौँ’ भनेँ। मैले आक्रोश व्यक्त गरेर मार्न चुनौती दिएपछि सिडिओको अनुहार रातोपिरो भयो। त्यसपछि उनी कड्किए ‘तपाईँ को हो? मेरो आदेशमा प्रश्न उठाउने तागत छ?’ उनले मलाई तत्काल पक्राउ गर्न एसपीसहितका प्रहरी अधिकारीलाई आदेश दिए। उनको आदेशसँगै मलाई प्रहरीले जबरजस्ती भ्यानमा कोच्यो र सुरुङ्गा प्रहरी चौकीतर्फ लग्यो।

त्यति बेला स्थानीय नागरिक, नेता, समाजसेवी, अभियन्ता शरणार्थी सहकर्मीलगायतले मेरो पक्ष र सिडिओ श्रीकान्त रेग्मीका विरुद्धमा नाराबाजी गर्न थाले। त्यसपछि उनीहरू मलाई राखिएको सुरुङ्गा प्रहरी चौकी घेरा हाल्न आए। प्रहरी चौकीभित्र करिब ५ घण्टाको अमानवीय र क्रूर व्यवहारपछि उनीहरूले मलाई रिहा गरे। त्यहाँबाट म कोटिहोम फर्किएँ। त्यहाँ पुग्दा सिडिओ र प्रहरीहरू हिँडिसकेका रहेछन्। शरणार्थी सहकर्मीहरू गोठभित्र तनावग्रस्त र निराश अवस्थामा थिए। तर तत्काल फर्कनुपर्ने बाध्यताबाट भने केही मुक्ति मिलेको थियो।

कमल मैनाली, मैना दिदीजस्ता नेता र स्थानीय नागरिकको समर्थन नभएको भए निर्दयी बनेका सिडिओ श्रीकान्त रेग्मीले हामीलाई भुटानले जस्तै जबरजस्ती नेपालबाट निकालेर भारतमा फालिदिएका हुन्थे। मैले सिडिओलाई चुनौती दिनुको एउटै कारण के हो भने मलाई लाग्यो मसँग गुमाउन अरू केही बाँकी छैन केवल एउटा जिन्दगीबाहेक। यदि मैले कमजोर मानिसहरूको भलाइका लागि त्यो जीवन त्याग गर्नुपरेको भए पनि मलाई कुनै समस्या थिएन।

कोटीहोममा हामीले बाँच्नका लागि सङ्घर्ष गरिरहँदा समय क्रमसँगै देशबाट निष्कासित हजारौँ भुटानी नागरिक हामीसम्म आइपुगे। त्यसपछि पहिलेको त्यो एउटा गोठ भुटानी शरणार्थी शिविरमा परिवर्तन भयो। जहाँ हजारौँ शरणार्थीहरूलाई धेरै स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय मानवीय एजेन्सीहरूले आफ्नो कल्याणकारी परियोजनाहरू सञ्चालन गर्न थाले। अन्य धेरै चुनौतीका कारण हाम्रो शिविर स्थापना गर्ने कार्य लगभग असम्भव थियो। तै पनि सौभाग्यवश, स्थानीयको समर्थन र हाम्रो दयनीय अवस्था एवं दृढ सङ्कल्पले हामीलाई त्यहाँ रहन सहयोग ग¥यो। हामीले सन् १९९१ को प्रारम्भमा माइधर भुटानी शरणार्थी शिविर सफलतापूर्वक स्थापना गर्न सकेकाले पछि आएर संयुक्त राष्ट्र सङ्घीय शरणार्थी निकायको सहयोगले सात वटा शिविरसम्म पुगेको थियो।

सिडिओ रेग्मीले हामीलाई नेपाल आउन र भुटानी शरणार्थी शिविर स्थापना गर्न किन रोक्न खोजे भन्ने कुरा अहिले पनि रहस्यमै छ। यद्यपि भविष्यमा राम्रो दिनको आशाका साथ जीवन र मृत्युको दोसाँधमा पनि एकताबद्ध रहने असाधारण साहस र अठोटका लागि म ती ९१ जनालाई सधैँ सलाम गर्छु। कोटीहोम, सुरुङ्गा र छिमेकका स्थानीय नागरिक, कमल मैनाली र अन्य नेतृत्व जसले हामीलाई अटल र पूर्ण हृदयले समर्थन गर्नुभयो, उहाँहरूप्रति म कृतज्ञ छु। उहाँहरूको चाहनाले नै हामीहरूको जित सुनिश्चित भएको थियो।

(यो सामग्री हामीले अङ्ग्रेजीमा छापिएको भुटनिज लिटरेचर डटकमबाट लिएका हौँ। लेखक भुटानी राजबन्दी रिहाका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक हुन।)

हेडलाइन सच्याइएको*

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading