रेडक्रसको नवीकरणका लागि हारगुहार, संस्थापक दासलाई सम्मान

रेडक्रसको नवीकरणका लागि हारगुहार, संस्थापक दासलाई सम्मान

काठमाडौँ : नेपाल रेडक्रस सोसाइटी स्थापना भएको ६१ वर्ष भएको छ। स्थापना दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले संस्थापक सदस्य शताब्दी पुरुष डा. शंकरलाल दासलाई सम्मान गरेको छ।

सिराहामा १९८१ मा जन्मिएका रेडक्रसका संस्थापक दासलाई रेडक्रस केन्द्रीय समितिका अध्यक्ष प्रा.सुदर्शन नेपाल, काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, रेडक्रस काठमाडौँका सभापति श्यामकाजी डोटेल लगायतले स्थापना दिवसका अवसरमा भएको कार्यक्रममा सम्मान गरे।

डा. दासका दुई छोरा र दुई छोरी छन्। उनकी श्रीमतीको भने निधन भइसकेको कार्यक्रममा जानकारी दिइएको छ। उनी राष्ट्रिय मानव अधिकार आयोगको सदस्य समेत भएका थिए। आफूलाई सम्मान गरेको दासले रेडक्रस काठमाडौँ जिल्ला शाखालाई धन्यवाद दिए।

कार्यक्रममा केन्द्रीय अध्यक्ष नेपालले डा. दासको महत्त्वपूर्ण भूमिकालाई सधैँ स्मरण गर्ने बताए। उनले रेडक्रसमा लगनशीलता र इमानदारितापूर्वक कम गर्ने प्रतिबद्धता जनाए। ‘रेडक्रसले धेरै आरोह अवरोध पार गर्दै आयो, कर्तव्य पालना गर्न तयार छु,’अध्यक्ष नेपालले भने,‘लगनशीलता र इमानदारिता पूर्वक काम गर्नेछु।’

उनले रेडक्रसको नवीकरणका लागि हारगुहार गरिरहेको बताए। ‘अर्जुनदृष्टि भनेको निर्वाचन थियो, त्यो सम्पन्न भएको छ,अब यसको वार्षिक नवीकरणको प्रक्रियामा छौ,’उनले भने,‘त्यसका लागि हारगुहार गरिरहेका छौ, रिजल्ट आएको छैन।’
रेडक्रसको नवीकरण पछि विधान संशोधनको प्रक्रियामा जाने उनले बताए। ‘हिजो कोमामा थियो। भेन्टिलेटरमा थियो,’उनले भने,‘सरकार, आईएफआरसीले पनि सहयोग गरेका कारण निर्वाचन गर्न सफल भएका छौ।’ उनले कुरा मानवताको गर्ने तर, अरूलाई होच्याउने काम गर्न नहुने बताए। रेडक्रसमा ६ वर्षदेखिको विवाद निर्वाचनको माध्यबाट अन्त्य गरेको उनले बताए।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले डा. दासलाई महानगरले पनि सम्मान गर्ने बताए। पछिल्लो समय रेडक्रसमा सकारात्मक भन्दा नकारात्मक कुरा आइरहेको भन्दै प्रवक्ता मानन्धरले सचेत हुनुपर्ने बताए। विवाद नआउने गरी काम गर्न उनले सुझाव पनि दिए। ‘व्यक्तिका कारणले विवादमा पार्नु हुँदैन,’उनले भने,‘व्यक्तिका कारण विवाद आए बसिरहनु हुँदैन।’

उनले महानगरको नीति, योजना बनाउने काममा सहयोग हुने बताए। उनले रेडक्रस केन्द्रीय समितिमा काठमाडौँ शाखाबाट पनि प्रतिनिधित्व गराउन सुझाव दिए।

रेडक्रसमा नयाँ नेतृत्व, अध्यक्षमा सुदर्शन नेपाल

रेडक्रसका कार्यवाहक महामन्त्री मनोजकुमार थापाले डा. दासको महत्त्वपूर्ण भूमिकालाई रेडक्रसले सधैँ सम्मान गर्ने बताए। रेडक्रसमा कुरा मानवताको गरिरहे पनि आरोप प्रत्यारोप चलिरहेको सुनाए। उनले आरोप प्रत्यारोपमा नलागी समाधानको बाटोमा जान आग्रह गरे। उनले सबैको साझा संस्थाका रूपमा रेडक्रस अगाडि बढ्ने बताए।

रेडक्रसका कोषाध्यक्ष वीरबहादुर बस्नेतले डा. दासले रेडक्रसमा खेलेको भूमिका र योगदानको सम्मान गर्ने बताए। उनले रेडक्रसमा चुनाव सम्पन्न भएर वैधानिकता दिन जिल्ला प्रशासन कार्यालयमा वैधानिकता दिन पहल भइरहेको बताए। उनले ट्र्याक भन्दा बाहिर जान नदिन सुझावको खाँचो परिरहने सुनाए।

रेडक्रस काठमाडौँ जिल्लाका सभापति श्यामकाजी डोटेलले रेडक्रस स्थापना गर्न सहयोग गर्ने संस्थापक सदस्य डा. दासको भूमिकालाई असन्तुष्टि जनाउने साथीहरूले पनि सम्मान गर्नुपर्ने बताए। ‘रेडक्रस स्थापना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ,असन्तुष्टि जनाउने साथीहरूले पनि सम्मान गर्नुपर्नेछ,’डोटेलले भने,‘अझै पनि रेडक्रसलाई धमिल्याउन खोजेका छन्। म उनीहरूलाई रिङमा आउन अनुरोध गर्छु।’ उनले झिनामसिना कुरामा अल्झन नहुने भन्दै राम्रो काम गरेर अगाडि बढ्नु पर्ने बताए।

बागमती प्रदेशका उपमहासचिव राजेन्द्र बानिया रेडक्रसको झन्डा फहराउने दासलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउँदै जिउँदो पुरुषको आत्मामा ठेस नपुग्ने गरी काम गर्नु पर्ने बताए।
काठमाडौँ जिल्ला शाखाले डेंगु रोग नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.